के निहुँ पाउँ भनेर बगुलाभगत बनेर बसेका प्रचण्ड गुटलाई के खोज्छस् कानो आँखो तव भयो जब वैशाख ८ गते पार्टीमात्र होइन, मन्त्रीलाई समेत थाहै नदिई दल विभाजन र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरे, राष्ट्रपतिले तत्काल लालमोहर ठोकिदिइन् । देश र देशवासी कोरोनाको आपत विपत झेलिरहेका बेलामा नेकपाभित्र सत्ताको तानातान सुरु भयो । बिरोध ज्यादै बढेपछि प्रधानमन्त्रीले त्यो विधेयक १२ गते फिर्ता लिए तर नेकपाभित्रै ओलीलाई फाल्ने फाल्ने खेल सुरु भयो । ओलीको राजीनामा माँगियो, राजीनामा गराउने अनेक हथकण्डाहरु सुरु भए । ओली पनि के कम, सिंगौरी खेल्न मैदानमा उत्रिए । जो जति चम्किए पनि उम्लिएको यो मुद्दा छिमेकसम्म पुगेपछि जिम्लिएको छ ।
तत्कालका लागि ओलीको प्रधानमन्त्रीत्व बाँच्यो । वामदेव गौतम उपयुक्त समयमा चुनावमा होमिने छन् र जितेर प्रधानमन्त्री बन्नेछन् । केपी ओलीले आफ्ना उत्तराधिकारीका रुपमा उठाएका ईश्वर पोखरेल पछि परेका छन् र माधवकुमार नेपाललाई प्रधानमन्त्री, झलनाथ खनाललाई राष्ट्रपति र प्रचण्डका हातमा एकलौटी नेकपाको लगाम आउने सपना पनि सोम शर्माको सपना बन्नपुगेको छ ।
प्रचण्ड चक्रव्यूह तैयार भइसकेको थियो । प्रचण्ड गुट केपी ओली र राष्ट्रपति विद्या भण्डारीलाई समेत चक्रव्यूहमा पारेर अभिमन्यु बनाउने सबै रणनीति पनि बनिसकेको थियो । सकभर केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट बिदा दिन बाध्य पार्ने खेलअनुरुप नै सचिवालय बैठक र २० जनाको हस्ताक्षरसहित स्थायी समितिको बैठक बोलाउन माँग अर्थात युद्ध घोषणा भइसकेको थियो ।
यसैवीच चीन र नेपालका राष्ट्रपतिवीच वार्ता भयो । चीन र नेपालका सत्तारुढ पार्टीका माधव नेपाल स्तरमा पनि वार्ता भयो । चीनका राजदूत हाउ याङछीले पनि ओली, प्रचण्ड र माधवकुमार नेपाललाई भेटेर सन्चो बिसन्चो सोधिन् । त्यसपछि केपी ओलीले तुरुपको एक्का फ्याँके– कोरोनापछि वामदेव प्रधानमन्त्री । आत्मालोचनाका नाममा, पार्टी सल्लाहनुसार सरकार चलाउने नाममा एकाएक युद्धबिराम भयो । नेकपा झलमल्ल हुनपुग्यो । संसदीय दलसम्मको हस्ताक्षर अभियान रोकिएको छ । अव चर्चा वामदेवको सुरु भएको छ ।
प्रचण्ड हाँस्न सकेनन्, माधव नेपाल गम्भीर बन्नपुगे, झलनाथ झ्याउरीए भने वामदेव झरीपछिको आकाशजस्ता भएका छन् । माधव नेपाल प्रधानमन्त्री भनेर जो जो उफ्रेर हिँडेका थिए, ती सबै थच्चिन पुगेका छन् । मिर्गौला फेरेर मृत्यु जितेका केपी ओलीले पार्टीभित्रको षडयन्त्रलाई पनि जिते । केपी मरे हुन्थ्यो भनेर धूप बाल्नेहरुलाई सन्निपात हुनपुगेको देखिन्छ । एकपल्ट फेरि विदेशी सुदर्शन चक्रले राजनीतिलाई गहिरो बनाइदिएको छ, जानैलागेको पहिरो थामिदिएको छ ।
केपी ओलीको निर्णयले पूर्व माओवादीलाई नेतृत्व दिन नसकिने सन्देश पनि दिएको छ । अधिवेशनमा प्रचण्डले अध्यक्ष बन्न पाउनेछैनन् । यसको संकेत वैशाख १४ गतेको सर्वोच्च अदालतको २०७१ सालको गम्भीर फौजदारी मुद्दामा क्षमादान हुन नसक्ने फैसलालाई पुन फैसलाद्वारा सदर गर्नु पनि हो ।
तत्काललाई अदालत, अख्तियारदेखि बेपत्ता, मेलमिलाप आयोगसम्मका मुद्दाहरु थाँती रहेको भए पनि यी मुद्दाहरु कुनै पनि बेला उठ्न सक्ने र यी मुद्दाहरुले नेपाली राजनीतिमा अर्को भुइचालो ल्याउन सक्नेछ भन्छन् विश्लेषकहरु ।


