काठमाडौं । दुईवर्षदेखि ओलीको अपमान सहदै आएका प्रचण्ड आखिर एकपल्ट फेरि द्रोणाचार्य बन्न सफल हुँदैछन् । उनले पार्टी एकीकरण गर्दा माओवादी एमालेमा बिलय भयो भनेर निकै आलोचित पनि भएका थिए । लामो मौनता, आक्रोश र संयमतापछि अन्ततः द्रोणाचार्य बनेर चक्रव्यूह तैयार गर्न सफलतामात्र हासिल गरेनन्, केपी ओलीजस्ता राजनीतिका महारथीलाई अभिमन्यु बनाएर त्यो चक्रव्यूहमा फसाउन पनि सफल भए ।
कम्युनिष्ट महाभारतमा प्रचण्ड द्रोणाचार्य बन्न सफल भएका छन् । यो कुरुक्षेत्रका महारथीहरु माधवकुमार नेपाल, झलनाथ खनाल, पार्टी महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र भीम रावलजस्ता देशका लागि अग्रपंक्तिका अब्बल व्यक्तिलाई केपी ओलीका विरुद्धमा उभ्याउन सफलता पनि प्रचण्डले हासिल गरेका छन् ।
पछिल्ला दुई विधेयकमा ओलीको अधिनायकत्व र निरंकूशताका कारण ती विधेयक फिर्ता लिन लगाउन बाध्य पारेका कारण द्रोणाचार्यलाई नेपाली कांग्रेस, मधेशी दलहरुलगायतका सबै प्रतिपक्षीहरुको समेत नैतिक समर्थन पाउन सफलता हासिल गरेका छन् ।
पछिल्ला राजनीतिक विकास क्रमले चक्रव्यूहबाट निस्कनका लागि प्रधानमन्त्री केपी ओली एण्ड कम्पनीका सामु लोभ लालच देखाउने, पावर सेयरिङ गर्ने, सहमतिमा चल्न तैयार छु भन्ने बाहेक नैतिक साहस गुमाउन पुगेका छन् । यसकारण हरेक दिन खुमलटार र भैंसीपाटीमा बैठकहरु भइरहेका छन्, अलग बैठक माधवकुमार नेपालले कोटेश्वरमा पनि गरिरहेका छन् ।
महाशक्तिशालीबाट बिचरा बनेका प्रधानमन्त्रीले आइतवार राष्ट्रपतिलाई भेटेर अगाडिको रणनीतिका बारेमा छलफल गरेको समाचार छ । स्मरणीय छ, जनतालाई अनावश्यक दुःख दिएर र आफ्ना लागि बढीभन्दा बढी महारानीको सोखसयल राष्ट्रिय ढुकुटीबाट लिएकोमात्र होइन, सरकारले गर्ने नियुक्तीहरुमा अंशबण्डा खोजेर कार्यकारीकै हैसियतमा समेत देखिएकाले राष्ट्रपति विद्या भण्डारीको पद पनि धरापमा परेको छ । ओलीको पतनको जति वातावरण बन्दै गएको छ, त्यति नै राष्ट्रपतिको पद ढल्ने कम्पन पनि सुरु भइरहेको छ । ओली खेमा आत्तिएको र प्रचण्ड खेमामा ओलीलाई ढाल्ने वातावरण बनेकोमा खुशीयाली छाएको छ, यी कसैले पनि जनताले किन नेकपालाई जिताए, नेकपाले देश र जनताका लागि गर्नुपर्ने के रहेछ ? भन्ने हेक्का भने राखेको देखिदैन ।
००७ सालदेखिको अस्थिरताको एउटा श्रृंखला फेरि दोहोरिने भयो ।
मुखमुखै जवाफ दिन माहिर केपी ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन आएको अनौपचारिक आग्रहको प्रतिरक्षा गर्दै अन्तिम समयसम्म लड्ने र राजीनामा नदिने धमास दिएका छन् । नैतिक रुपमा समप्त भइसकेका ओली बिरामी बाघको जुँगा ओखल्ने काखीमुनीका शत्रुहरुलाई अझै पनि बाघले घाँस खाँदैन भन्ने अडान देखाइरहेका छन् ।
भनिन्छ, केन्द्रीय समिति, सचिवालय र स्थायी समिति सबैतिर ओली अल्पमतमा परिसकेका छन् । स्थायी समितिको बैठक बोलाउन लिखित माँग भइसकेको छ । स्थायी समितिको बैठक बोलाउनासाथ त्यही बैठकले राजीनामा दिन निर्देश गर्ने प्रचार प्रचण्ड गुटबाट आइरहेको छ । दुई तिहाइको सरकार गुटबाजीको महाभारतमा कसरी फस्दो रहेछ भन्ने तमासा देखिदैछ ।
देश कोरोनाको कहरमा छ । महामारीले बाँच्ने कि मर्ने भन्ने सवाल उठिरहेको छ । घरसम्म पुग्नका लागि श्रमिक बर्ग १५ दिनसम्म हिडेर घर गइरहेका छन् । भोक, प्यास, रोग, शोकले ग्रसित भएको र कोरोनाको महामारीको त्रासले त्रसित भुइँमान्छेलाई साधन, स्रोत हुँदा हुँदै पनि सरकारले घर घरसम्म पु¥याउन सकेन । अदालत र मानवाधिकार आयोगले सम्झाउँदा पनि सरकारले टेरेन । कोरोना कोषमा अरवौं च्यापेर बसेको सरकार ८० करोडको राहत बाँडेको भन्छ, सिमान्तकृत र श्रमजीवी रुँदै माँगेर खाने स्थितिमा पुगेका छन् । रोगले होइन, भोकले मरिरहेका छन् । राहतमा समेत भेदभाव गर्ने सरकारले कोरोनाको नाममा भ्रष्टाचार त ग¥यो ग¥यो, कोरोना कोषको दुरुपयोग गर्ने खतरा पनि छ ।
नेकपाभित्र चलिरहेको यो महाभारत कोठाबाट सडकमा आइसकेको छ र अव वारपारको अन्तिम युद्धमा रुपान्तरण हुनेवाला छ । केपी ओलीको कार्यकालमा पूर्णविराम लाग्छ कि प्रचण्ड, माधव खेमाले ओलीको नयाँ जोल्ट सहनु पर्ने हो, त्यो एकाध दिनमै नतिजा आउनेवाला छ ।


