काठमाडौं । यी नेपालका रतन टाटाहरु हुन् । यीमात्र होइनन्, यस्ता दर्जनौं अर्वपतिहरु छन्, कतिपय त स्वीस वैंकमा पैसा थुपार्ने पनि छन्, तर यी पनि नेताजस्तै निस्किए, जसले मुठ्ठी खोलेनन् । बाँच्ने कि मर्ने ? मानव सभ्यता बचाउने कि समाप्त हुने हो ? भन्ने प्रश्न उठिरहेका बेलामा नेपालका यी धनाध्येहरुले कोरोनाविरुद्धको राष्ट्रिय संकटसँग सामना गर्न अग्रपंक्तिमा आएनन् । यिनीहरुले राष्ट्रको सम्मान खोज्ने, सुविधा लिने, तर राष्ट्रलाई परेका बेलामा सहयोग नगर्ने कारणले यिनीहरु यसपटकदेखि त्यो सम्मानबाट चुकेका छन् । यिनमा अलिकति पनि देशभक्ति छ, जनताप्रतिको सद्भाव छ, मानवीयता र मानवीय संवेदना बाँकी छ भने यिनीहरु राष्ट्रिय संकटका बेलामा भ्रष्टाचारको पोखरीमा डुबेको सरकारलाई उछिनेर देश र जनताका सामु उच्च मनोवल, सेवाभावका साथ अगाडि आउनुपर्छ । त्यो मौका नगुमाउनका लागि सचेत बर्गले, यी सबैलाई आग्रह गरिरहेकै छन् । सेवा गर्ने मौका किन गुमाउने ?
भारतमा रतन टाटाले २५ अर्व दान दिइसक्दा पनि फोटो खिचाएनन् । भारत सरकारले कोरोना विरुद्धको युद्धमा जनताका लागि खवौंखर्ब बजेट छुट्याएर सेवा दिइरहेको छ । सरकार प्राप्त कोरोना कोषको पैसा गनेर बसेको छ । जनता कन्तविजोगमा छन्, भोकभोकै र शोकशोकै रहेका छन् । देशको संकट र जनताको भोक, रोग र शोक कत्ति दुख्दैन यी नेपाली रतन टाटाहरुलाई ?
हो, विनोद चौधरी, शेष घलेहरु अगाडि आएका छन् । बल्ल एनआरएनए आयो । अरुले अलिकति चन्दा फालेर हाइसन्चो मानेका
छन् । कोरोना सामुहिक दुश्मन हो भन्ने नभुल्न जरुरी छ । अरु देशका प्राविधिक, धनपतिहरु देश र जनता बचाउन सम्पूर्ण सम्पत्ति दिन तैयार छु भनिरहदा नेपालका धनाध्येहरु माँग्नेलाई रोटी फालेजसरी पन्छिएका छन् । यो राष्ट्रिय धनपतिहरुको मतिभ्रष्टता र देशघाती सोच हो भन्छन् विश्लेषकहरु ।
विश्व विपतमा छ, नेपाल झन ठूलो विपत झेलिरहेको छ । नेपाली सीमावारी, सीमापारी रोइरहेका छन् । ज्यान हत्केलामा हालेर हिडिरहेका छन्, दौडिरहेका छन्, पौडिरहेका छन् । कुनै पनि बेला नेपालमा समाजमा फैलिनसक्छ कोरोना, रोक्न सकिएन भने यो महामारी बाढीले धनपतिहरुालाई मात्र छोड्दैन । यसकारण सामाजिक दायित्व, राष्ट्रिय कर्तव्यमा सबैले साथ दिनु जरुरी छ ।
खर्बपति विनोद चौधरी, ठूला बैंकका मालिका चन्द्र ढकाल, देवी प्रकाश भट्टचन, राजेन्द्र खेतान, सुरज वैद्य, मोतिलाल दुगड, विके श्रेष्ठ, गोल्छा समूह, केडिया, पशुपति मुरारका, उपेन्द्र महत्तो, जीवा लामिछाने र राष्ट्रको रातो पासपोर्ट धारीहरु कुन दुलोमा लुकेका छन् ।
कोरोनाको महामारीमा भ्रष्टाचार गर्ने र नैतिकहीनता देखाउने सर्वशक्तिमान प्रधानमन्त्री केपी ओलीको कुर्सी डगमगाउन थालेको छ । नैतिकहीन हुने छुट कसैलाई पनि छैन यो राष्ट्रिय विपदमा । यत्ति बुझे मान्छे हुन सकिन्छ । म मान्छे होइन भन्ने हो भने तिनीहरुसँग के को गुनासो ? यसै भन्छन् पर्यवेक्षकहरु । अव पनि नसोचे कहिले सोच्ने ? मान्छे बन्ने यो अवसरलाई सदुपयोग गरेर कोरोनालाई परास्त गर्न सबै एकसाथ हुनुपर्छ ।


