पूर्वराजा ट्वीटमार्फत आफ्ना विचारहरु राख्न थाल्नुभएको छ । केही दिनका चार ट्वीटले नेपाली जनमानसको मन छुन सफल भएको छ । पूर्वराजाले भनेका छन्– १. दैनिक जिविका चलाउन नसकेर शहर छाडी आफ्नो घर आगँन पुग्न लागेको निरिह जन लसकरलाई सरकारले यथाशीघ्र उचित व्यवस्थापन गर्न असफल भएको देखिन्छ । संकट र संवेदनाको क्षणमा प्रहरी प्रशासनको सहयोगी भावमा पनि कमी आउँदैछ । शासकवर्गले यस क्षणलाई गम्भिरता पूर्वक नलिनु जनमतको अनादर गर्नु सरह हो ।
२. स्वास्थ्य संकटको यस विकट घडीमा अग्रपंक्तिमा रहेर हरदम नागरिकको सेवामा जुटेका विशेषज्ञ डाक्टरहरु वा अन्य सहयोगी स्वास्थ्यकर्मीको मनोबल उच्च राख्ने कार्य राज्यबाट हुनु अति आवश्यक छ ।
३. देशमा अकस्मात कोरोना संक्रमितको संख्या बढ्नाले सबैलाई चिन्तामा पारेको छ । संकटको यस घडीमा राज्यका सबै संयन्त्रहरुले चनाखो भई आफ्नो क्षेत्रमा सक्दो सावधानी र संयमता अपनाउनु पर्ने देखिन्छ । आफ्नो गाउँघरका लागि निस्केका नागरिकको उचित व्यवस्थापन हुन सकेन भने स्थिति झन् भयावह बन्न सक्छ ।
४. राजनैतिक दलद्वारा प्रश्रय प्रदान गरिएका आम मजदूर वर्गका हक र हितका लागि देशैभर संचालनमा रहेका संगठनहरु यस प्रकारको संकटको घडीमा आफ्ना हात बाँधेर बस्नु बिडम्बना मात्र नभई मजदूर वर्गको अपमान पनि हो ।


