माधव नेपाल र वामदेव गौतमलाई अघि सारेर कांग्रेस, मधेशी दलहरुको समेत समर्थनमा ओलीलाई फालेर नयाँ सरकार गठन गर्न कस्सिएका प्रचण्ड अझै हार खाइसकेका छैनन् । यद्यपि झलनाथ खनाल र माधव नेपालले यो बेलामा सरकार परिवर्तन गरिहाल्न पूर्ण मञ्जुरी नदेखाए पनि प्रचण्डको निकट सम्पर्कमा रहिरहेका छन् । पार्टीको कार्यकारी अधिकार दिए पनि पार्टी र सरकारबाट आइसोलेसनमा परेका प्रचण्डको छटपटी निकै बढेको छ । उनले राखेको उच्च स्तरीय सर्वदलीय संयन्त्रको प्रस्ताव प्रधानमन्त्री ओलीले ठाडै अस्वीकार गरेको मात्र होइन, सरकारी सञ्चारमाध्यमलाई बोलाएर हाजिरी जवाफ शैलीमा सवाल जवाफ कार्यक्रम गरेर पनि ओलीले घुमाएर संयन्त्र गठन गर्न जरुरी छैन, गर्नैपर्ने हो भने गरौं न त गरौं, मेरै अध्यक्षतामा गरौं भनेर धम्क्याएका छन् ।
२०६३ सालपछि पहिलोपल्ट ओलीको चक्रव्यूहमा फसेका प्रचण्ड तावाबाट उफ्रेर भुङ्ग्रोमा परेको माछाजस्तो छटपटिन थालेको अनुभव गरिदैछ । राजनीतिमा बढ्दो तापक्रमले के होला, के नहोला ? संशय बढेको देखिदैछ ।
काठमाडौं । यता सरकार श्रमिक, किसान र उता सीमामा अड्केका, विदेशमा असरल्ल परेका नागरिक देखिरहेको छैन । तिनको उद्धार गर्ने, जाँच्ने, क्वारेन्टाइनमा राख्ने र उपचार गर्ने कुनै कर्तव्य पूरा गर्न सकिरहेको छैन । स्वदेशी राज्य सञ्जाल र विदेशमा रहेका राजदूतहरुसमेत कोरोना भाइरससँग आफै कसरी बाँच्ने भनेर लागिरहेका छन् । केही कूटनीतिज्ञहरु यही मौकामा कालोबजार गरेर धन कमाउने र मन्त्री–कर्मचारी कमिशनको गोलचक्करमा फसेका पनि देखिन्छन् ।
प्रधानमन्त्री म घूस खान्न, सम्पत्ति ट्रष्टलाई दिइसके भनेर पन्छिदैछन्, कुनै पनि भ्रष्टाचारी र गैरजिम्मेवारलाई कारवाही गर्न अग्रसर भएको देखिदैन ।
कोष टन्न छ, सडक र सीमाबाहिरबाट सरकार खोई ? भनेर भुइँमान्छे, विद्यार्थीसम्म खोजिरहेको बेलामा सरकार सडकको खम्बामा टाँसिएको देखेका छन्, टाँसिएको सरकार प्रभावकारी हुने कुरै भएन, सरकारकै बिजोग छ । एकातिर कोरोना भाइरसको आक्रमण, अर्कोतिर भोकप्यास र घरको पीर, बन्दाबन्दीमा ज्याला खोसिएका श्रमिक, किसानहरु स्वदेशमा नाङ्गा खुट्टाले हजारौं किलोमिटर सडक नापिरहेका छन् भने विदेशमा अलपत्र परेकाहरु दूतावासले समेत बेवास्ता गरेको भनिरहेका छन् । दुई तिहाइ दिने श्रमिक, किसानहरु यतिबेला सरकारको निन्दा गरिरहेका छन्, चुनाव फेरि आउला नि भनेर इख राखिरहेका छन्, नेकपा अर्थात सर्वहाराको पार्टी बोल्छ, न सरकार । भ्रष्टाचारमा देखिने सरकार लोककल्याणमा देखिएन ।
अचम्म त के पनि छ भने भुइँमान्छेहरुलाई आफ्नो राजनीतिक शक्ति बनाउने, तिनको बारेमा विचार गर्ने नागरिक समाज र बुद्धिजीवीहरुले समेत सरकारलाई प्रभावकारी रुपमा दबाब दिन सकेनन् । नयाँ युगको सुत्रपात गर्ने महानायक यिनै हुन् त ? कठै खम्बामान्छे, जनताको आवाज सुनिन्छ ।


