Advertisement Banner
Advertisement Banner

१८ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

निषेधको आयु समाप्त भएको घोषणा

०१ सोमबार , बैशाख २०७७६ बर्ष अगाडि

काठमाडौं । पूर्वराजाले कसैले कसैलाई निषेध गरेर जाने सोचको आयु समाप्त भएको घोषणा गर्नुभएको छ । नयाँवर्ष २०७७ को सन्देशमा ‘मौलिक सनातनिक सभ्यताको पुनर्जागरण नै वर्तमानको अनिवार्य चाहना र आवश्यकता’ हो भन्ने ठहर पनि शुभकामना सन्देशमा उल्लेख छ ।
सन्देशमा कोरोना भाइरसको विश्वब्यापी महामारीबाट यतिबेला देशका विभिन्न भू–भाग र विश्वका विभिन्न देशमा रहे–बसेका सबै नेपाली आक्रान्त, सन्त्रस्त र समस्याग्रस्त रहेका उल्लेख गर्दै विद्यमान सङ्कटबाट मुक्ति पाउन एवम् भविष्यमा उत्पन्न हुने अस्वाभाविक चूनौतीहरूको सामना गर्न नेपालीजनबीचको एकता अपरिहार्य हुन पुगेको धारणा सार्वजनिक गर्नुभएको छ ।
पूर्व श्री ५ ले मानव सभ्यताको अनपेक्षित चुनौतीहरूको सामना गरिरहनु परेको कष्टकर परिस्थितिका माझ नयाँ वर्षको आगमन भएको र यस अप्ठ्यारो अवस्थामा देश र आफूलाई सुरक्षित राख्न सबैले सजगता अपनाउनु पर्ने सुझाव दिनुभएको छ । सबैमा मंगलमय कामना व्यक्त गर्दै सन्देशमा नेपाली जनता खुशी र सुखी रहून् एवम् देशको शिर सधैं सगरमाथा झैँ उच्च रहोस् भन्ने नै हाम्रो अटल चाहना थियो, छ र रहनेछ भन्नुभएको छ ।
सन्देशमा भनिएको छ– आफूलाई गौण तुल्याएर देशको सर्वोच्चताको रक्षार्थ राष्ट्र र नेपाली जनताप्रति पर्न सक्ने विभिन्न समयका खतराहरू टार्न हामीले हरसम्भव प्रयास गरेको सर्र्विवदित नै छ । मानव स्वास्थ्यलाई एकै शताब्दीमा सबैभन्दा ठूलो खतरा सामना गर्नु परेको बेलामा नेपालीहरूले शान्त र सामूहिक रूपले राष्ट्रब्यापी रक्षाको पर्खाल कार्यान्वयन गरेका छन् । तर विद्यमान सङ्कटबाट मुक्ति पाउन र भविष्यमा उत्पन्न हुने अस्वाभाविक चूनौतीहरूको सामना गर्न हामीबीचको एकता अपरिहार्य हुन पुगेको छ । कसैले कसैलाई निषेध गरेर जाने सोचको आयु समाप्त भएको धरातलीय यथार्थलाई आत्म स्वीकार गर्दै राष्ट्रिय भाव  बाक्ी ७ पेजमा
र एकता प्रवलीकरणको मार्ग स्पष्ट गर्न अब पनि सकेनौँ भने इतिहासमा अर्को एउटा महाभूल हुने हामीले ठानेका छौँ ।
पुर्खाले अनादीकालदेखि अवलम्बन गर्दै आएको वैदिक सनातन दर्शन, धर्म, संस्कृति, परम्परा तथा जीवन पद्धति नै सर्वश्रेष्ठ र वैज्ञानिक भएको महसुस अहिले विश्व जगतले स्वीकार्दै रहेको छ ।
हाम्रा मौलिक सनातनिक सभ्यताको पुनर्जागरण वर्तमानको अनिवार्य चाहना र आवश्यकता बनिरहेको छ । यही जगमा उभिइ हाम्रो समाजको व्यवस्था, अर्थ व्यवस्था र शिक्षाको जगाधार बलियो तुल्याउन राष्ट्रिय प्रतिबद्धता हामीले लिनुपर्ने भइसकेको छ ।
मानवीय वा प्राकृतिक विपत्तिको अन्त्य गर्दै नूतन इतिहास रच्ने सफलता हामी सबै नेपालीलाई नयाँ वर्षमा प्राप्त होस् । श्री पशुपतिनाथले विश्व मानव जगतको कल्याण गरुन् । जय नेपाल !
पूर्वराजाको यो सन्देशले सत्ताधारी, राजनीतिक र कूटनीतिक क्षेत्रमा अनेक अर्थ लगाउन थालिएको छ ।