Advertisement Banner
Advertisement Banner

१८ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

कोरोनासगको महायुद्धमा सेनाले मोर्चा कस्यो

२४ सोमबार , चैत्र २०७६६ बर्ष अगाडि

काठमाडौं । सेना सरकारकै अंग हो भन्ने धेरैले सम्झन चाहदैनन् । सत्य के हो भने जुनसुकै राष्ट्रिय आपत विपतामा र घोर विवाद भएका विषयमा सेनालाई जिम्मेवारी दिएपछि सेनाले पूरा गर्ने गरेको छ । हत्केलामा ज्यान राखेर सेनाले उद्यम गरेको छ, राजमार्ग बनाएको छ, बाढीपहिरो पीडितको उद्धारमा खटिएको छ, भूकम्पमा सेनाले आफ्नो कार्यकौशल देखाइसकेको छ । शान्तिसेनादेखि राष्ट्रिय गौरव बढाउने कुनै पनि जिम्मेवारी पाउनासाथ निर्वाह गर्ने र आनाकानी नगर्ने निकाय भनेकै नेपाली सेना हो ।
तर, सेनालाई जसरी पनि राजनीतिकरण गर्नुपर्छ, भ्रष्टाचारमा मुछ्नुपर्छ, अनियमिततामा बिटुल्याउनु पर्छ भन्ने एकथरि तत्वहरु हिजो पनि थिए, आज पनि प्रयत्न गरिनै रहेका छन् । सरकारले निर्णय गरेर मेडिकल सामग्रीको आपूर्ति र कोरोनासँग लड्न के आदेश दिएको थियो, सेनालाई बदनाम गर्न खोजेको, कमिशनको बिबादलाई छायाँमा पार्न खोजेको आदि आदि आरोप लगाइरहेका छन् । इमानदार सरकारी डाक्टरहरुले पनि जोखिम मोलेर जनसेवा गरिरहेका छन् । तर वर्षको डेढ अर्वको भन्सार छुटमा सामान ल्याउने निजी अस्पतालहरुले उपचारसेवा किन दिइरहेका छैनन् ? 
यो आपातकाल हो । आपातकालमा सेनाले जहिले पनि पाएको जिम्मेवारी पूरा गरेको छ । कोरोनासँग आज जो कस्सिएर लडिरहेको छ भने सेना हो ।
स्मरणरहोस्, नाकावन्दीमा कुनै क्षेत्र कामयाव भयो भने सैनिक कूटनीति । अहिले पनि नेपाली सेनाले जिम्मेवारी पाएपछि उच्चस्तरमा सैनिक डिप्लोमेसी सुरु भइसकेको छ र जतिसक्दा चाँडो मेडिकल सामग्री आपूर्ति गरेर कोरोनाविरुद्ध मेडिकल क्षेत्रलाई सशक्त पार्नेछ भन्ने विश्वास जागेको छ । यसकारण त राजनीतिक ङारङार ङुरङुरसँग बेवास्ता गरेर बिना पीपीईमा समेत ६ सयभन्दा बढी सैनिक स्वास्थ्यकर्मी फिल्डमा खटिएका छन् । जनताको नमक खाएको सेना जनतालाई बचाउने एकमात्र उद्देश्यमा देखिन्छ ।
यसैवीच सत्तारुढ दलभित्र सेनालाई सामान खरिद गर्न दिएको भनेर गम्भीर राजनीतिक परिणामको आशंका गरिरहेका छन् । सत्तारुढभित्र प्रधानमन्त्री फेर्नेसम्मको कसरत सुरु भएको बताइन्छ । जेसुकै होस्, सेनाका सामु कोरोनालाई रोक्नुछ, जनतालार्इँ सुरक्षित पार्नुछ र देशलाई महामारीबाट कमभन्दा कम क्षतिमा सुरक्षित निकाल्नुछ ।
जी टु जी, अर्थात सैनिक डिप्लोमेसीमा यही तरिकाले सामान आपूर्ति गर्न गराउन नेपाली सेना सक्षम छ । संसारको के कुरा अमेरिकालाई समेत चीनले सेवा दिइरहेको सन्दर्भमा नेपालका लागि सहज चीन नै छ र सैनिक डिप्लोमेसीले सामान आपूर्ति सम्भव छ, अझ चीन नेपाल सम्बन्ध सुधारमा लागेका व्यक्तिहरु चीन सरकारले उधारोमा सामान दिन तैयार रहेको जनाउ दिइरहेका छन् । चीन सरकार तैयार छ भने यसमा कमिशन र भ्रष्टाचारको गुञ्जाइस शुन्य हुनेछ । यसकारण पनि सरकारले नेपाली सेनालाई जिम्मेवारी दिनु उचित छ 
कोभिड १९ सँग लड्ने सरकारका सामु योभन्दा अर्को बिकल्प छैन ।
कोरोनाजस्तो महामारीमा पनि भ्रष्टाचार गर्ने र आपसी बादबिबादमा लाग्ने राजनीतिक क्षेत्र कति अनुत्तरदायी छ । यथार्थमा जस्तोसुकै काममा पनि सेनालाई विकल्पहीन रुपमा उतार्नु पर्ने बाध्यताको जिम्मेवार राजनीतिक बर्ग नै हुन् । तिनले कर्मचारीलाई भ्रष्ट बनाएकाले बिना कमिशन कर्मचारीबर्ग पाइलै नसार्ने भइसकेका छन् । यही दुर्गुणका कारण नागरिक शासन र प्रशासन दुबै क्षतविक्षत हुनपुगेका हुन्, यसलाई बिस्तारै नसच्याउने हो भने भावी दिनमा नागरिकले सैनिक शासनको विकल्प नदेख्न पनि सक्छन् । यो स्थिति जन्मनु राजनीतिक दुर्भाग्य हो ।
विश्व स्वास्थ्य संगठनले नेपालमा महामारी अरु फैलिनसक्ने भनिसकेको छ । खुला सीमाबाट फर्केका नेपालीमा कोरोना देखिएपछि महामारी दोश्रो चरणमा प्रवेश ग¥यो भनिदैछ । यसकारण पनि मेडिकल सामग्रीको आपूर्ति छिटोभन्दा छिटो हुनुपर्नेछ । सैनिक सम्बन्धको प्रभाव कोरोनाविरुद्ध लड्ने राष्ट्रिय साहसमा कामयाव हुने विश्वास गर्न सकिन्छ ।
यतिबेला राजनीतिक र आम नागरिकले नेपाली सेनालाई साथ दिनुपर्छ, नैतिक र भौतिक समर्थन र सहयोग दिनुपर्छ । जस्तोसुकै विपद र देश निर्माणमा योगदान गर्दै आएको मात्र होइन, लोकतन्त्रसमेत आत्मसात गरेर संविधानअनुसार चलेको नेपाली सेनामाथि शंका गर्नु वा सेनाको मान मर्दन गर्नु अनुचित हुनेछ ।
नेपाली सेना छ र हामी नेपाली भएर बाँचेका छौं । नेपाली सेनाका सकल दर्जाले भनिरहेका छन्– पाएको जिम्मेवारी पूरा गर्र्छौ । फेरि किन शंका गर्ने ?