काठमाडौं । गत शुक्रवार, चैत २१ गते राष्ट्रपति विद्या भण्डारीले नेपाल टीभी र रेडियोबाट संवोधनमा ओली सरकारको तारिफ गर्दै भन्नु भएको छ– भावनामा बगेर होइन, बरू रोगको गम्भीरता मनन् गर्दै रोकथाम, नियन्त्रण र उपचारमा सरकारले चालेका कदमलाई साथ दिन म सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा हार्दिक आह्वान गर्छु । लकडाउनपछिको स्थितिमा नागरिकदेखि उपकरणको खरिदसम्म प्रधानमन्त्रीमाथि थुप्रै प्रश्नहरु उठेका छन् । प्रधानमन्त्रीले दिने जवाफ राष्ट्रपतिले दिएपछि आलोचक र विज्ञहरुसमेत मुख हुँदाहुँदै नाकले पानी खाने भन्ने टिप्पणी भएको छ ।
यसवीचमा हाहाकार र त्रासदीमा बाँचेका, सीमामा अलपत्र परेका, महाकालीका हामफालेर घर छिरेका, राहत र सामान्य उपचारसमेत नपाएका, परीक्षणमा ढिलाइ गरिएका नगारिकका सम्बन्धमा राष्ट्रपतिको चासो नभए पनि अमेरिका र युरोपमा रहेका नेपालीबारे चासो राख्नुभएको थियो ।
अन्य मुलुकहरुमा राष्ट्राध्यक्ष र सरकार प्रमुखहरु दिनदिनैजसो नागरिकसँग सम्पर्क र सम्बन्धमा देखिन्छन् । नेपालका प्रधानमन्त्री बिरामी छन्, राष्ट्रपति सरकारको तारिफ गर्नुहुन्छ, जनताको बेहाल देख्नुहुन्न । यसलाई भनिन्छ काशी काश्मिर अजव नेपाल । सरकारको प्रतिरक्षा राष्ट्रपतिले गर्नु आफैमा आश्चर्य पनि हो । कि राष्ट्रपति कार्यकारी हुन खोजेको संकेत हो ? वकिलहरुले प्रश्न उठाएका छन् । नेकपाका उपबुज्रुक सभासदहरु मोडलले बोलेका छन्, राष्ट्रपतिले बोल्नु हुन्न भनेर राष्ट्रपतिलाई मोडलको स्तरमा झार्छन् ।
यद्यपि संकटका बेलामा राष्ट्रपतिले बोल्नु नहुने होइन, तर राष्ट्राध्यक्षले जनताको कुरा गर्नुभएन, सरकारको वीचबचाउ गर्नुभयो ।


