बुद्धि र विवेक प्रयोग गर्न निर्देश
काठमाडौं । कोरोनाबारे हल्ला बढी भयो, गलत सूचना प्रवाह बढी भयो । यी सबै बढी हल्ला र गलत सूचना प्रवाहलाई ध्यानमा राखेर नेपाली सेनाले भनेको छ– कोरोनाबारे आधिकारिक सूचनामा मात्र विश्वास गर्नुहोला ।
कोरोना (कोभिड–१९) रोकथामका लागि नियन्त्रणमा खटिएका सैनिक अधिकृत तथा जवानहरूलाई सम्बोधन गर्दै थापाले कोरोना भाइरसबारे आधिकारिक सूचनामा मात्र विश्वास गर्न सकलदर्जालाई निर्देशन दिएका हुन् । सो अवसरमा प्रधानसेनापतिले नागरिकको सेवामा समर्पित हुँदा आफ्नो सुख सुविस्ता भुलेर सर्वोच्च सेवाभाव देखाउन आदेश दिएका छन् । थापाले भनेका छन्– सरकारले गरेको लकडाउन महामारी फैलिनबाट रोक्न राष्ट्रकै लागि अवसर र चुनौति दुवै हो । बहादुरी होइन, बुद्धि र विवेकको प्रयोग गर्नुस् । संकेटको घडीमा संयम र धैर्यता देखाउन पनि उनले भनेका छन् । कठिन समय केही समयका लागि मात्रै हो, सदैव ख्याल राख्नुस्, सबै नागरिकप्रति सदैव सहयोगको भावना राख्नुस् । सैनिक सेवाको मर्यादा र धर्म आफूले राम्ररी बुझेर सहकर्मीहरुलाई पनि बुझाउनुस् । बोली र व्यवहारले मात्र पनि अरुको सोचमा परिवर्तन ल्याउन सकिन्छ । वहाँले सकल दर्जालाई आ–आफ्नो दैनिकीमा परिवर्तन गर्न र अभिप्रेरित गर्न पनि भन्नुभएको छ ।
प्रधानसेनापतिले दिएको निर्देशन छ– विसञ्चो भए घर वा व्यारेकमा बस्नु, आवश्यक भए परीक्षण गराउन र शारीरिक दूरी कायम हुने गरी आइसोलेसनमा राख्नु । आफ्नो राष्ट्रको सेनाको उपस्थितिले मात्रै पनि कतिपय नागरिक आश्वस्त हुन्छन्, विरामीले पनि निको भएको अनुभव गर्छन्, नेपाली नागरिकप्रति सधैँ सदाचार, भद्र व्यवहार र मानवीयता प्रदर्शन गर्नु । संकटको घडीमा आफ्नो परिवार, समुदाय र राष्ट्रलाई जोगाउन पहिले आफू जोगिन जरुरी छ ।
यसैवीच कोरोनाको विषयमा सूचना दिन सेनाले मोवाइल एप बनाएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड १९) भाइरसबारे जानकारी लिन र सही सूचना दिन सेनाले मोबाइल एप बनाएको हो ।
चैत १५ गते विज्ञप्ति सार्वजनिक गरेर नेपाली सेनाले आम सर्वसाधारणबाट कोरोनाबारे सूचना प्राप्त गरी आकस्मिक सेवा प्रवाह गर्ने उद्देश्यले एप बनाएको उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ– भविष्यमा महामारीका रुपमा फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै रोगको रोकथाम, प्रतिकार र नियन्त्रण गर्ने कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने सन्दर्भमा ‘क्राउड सोर्सिङ’को अवधारणा अनुरुप सर्वसाधारणबाट सूचना प्राप्त गरी आकस्मिक सेवा प्रवाह गर्ने उद्देश्यले नेपाली सेनाले ‘कोभिड–१९ रेस्पोन्स एप–नेपाल’ नामक मोबाइल एप तयार गरी प्रयोगमा ल्याएको छ ।
यो एपमार्फत् सर्वसाधारणले परिवार, छिमेकी र साथीभाइमा कोरोना लक्षण देखिए विवरण पठाउन सक्नेछन् । सेनाले संकटमा आधिकारीक सूचनाका निम्ति यो एप महत्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ ।


