Advertisement Banner
Advertisement Banner

१८ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

खुमलटारमा ग्याङअफ फोर

२६ सोमबार , फाल्गुण २०७६६ बर्ष अगाडि

काठमाडौं । प्रचण्डको डिजाइनअनुसार वामदेव गौतमलाई सरकारले मनोनित गर्ने, संविधान संशोधन गर्न लगाएर वामदेव गौतमलाई प्रधानमन्त्री हुने बाटो खोलिदिने भन्ने योजनाअनुसार प्रधानमन्त्रीलाई पार्टी र सचिवालय बैठकमा अल्पमतमा पारियो ।
तर, ओली प्रचण्डसँग शीर झुकाउने खालका नेता देखिएनन्, उनी सतीसाल भएर उभिए, अर्थमन्त्री युवराज खतिवडालाई नागरिकका हैसियतमा अर्थमन्त्री बनाए, वामदेवलाई मनोनित गर्ने सिफारिस गरेनन् । ओलीका विरुद्ध अविश्वासको प्रस्तावसम्म ल्याउने मूडमा पुगेका नेताहरु पछाडि हट्न बाध्य भए । प्रचण्ड सुकुटेहुँदै चितवनतिर लागेका छन् ।
योजनाअनुसार कार्यक्रम अगाडि बढेको भए झलनाथ खनाल राष्ट्रपति, माधवकुमार नेपाल प्रधानमन्त्री, प्रचण्ड पार्टी अध्यक्ष र माधवपछि वामदेव गौतम प्रधानमन्त्री हुनेथिए, सबै योजना फेल भयो । केपी ओली स्वास्थ्यको यति गम्भीर मोडमा पुगेर पनि पार्टीको लगाम छोड्न तैयार भएनन् । एमाले माओवादीमा होइन, माओवादी एमालेमा मिसिएको हो भन्ने सन्देश दिन सफल भए ।
केपी ओलीको स्वास्थ्य खराव, त्यसमाथि मिर्गौलाको प्रत्यारोपण, अव उनी आराम गर्छन्, गराउनुपर्छ भन्ने सोच राखेर टिचिङ अस्पतालमा प्रधानमन्त्री मिर्गौला प्रत्यारोपण गर्दै थिए, खुमलटारमा भावी सरकारको तानाबाना बुनिदैथियो । खबर आयो, प्रत्यारोपण सफल भयो, स्वास्थ्य ठिक छ । फेरि खबर आयो, छिटै डिस्चार्ज हुनेछ । हतार हतार खुमलटारमा बसेको प्रचण्ड, वामदेव गौतम, झलनाथ खनाल, माधवकुमार नेपालको बैठक निष्कर्ष बिहीन रुपमा एकदोस्रालाई हेराहेर गरेर सकियो ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधार हुँदैछ । यही हप्ता अस्पतालबाट निवास फर्कनेछन् र सुतेरै अथवा सामान्य हिडडुल गरेरै प्रधानमन्त्रीका काम गर्नेछन् । यो अवस्थामा कुनै पनि नेताले संवेदनहीन रुपमा ओलीको नूर गिराउने कुनै कडा कुरा गर्नेछैनन् । यही लाभ लिएर ओली नेकपाको राजनीतिमा पुनः बलियो हस्तीका रुपमा स्थापित हुनेछन् । उनले जसरी राष्ट्रका नाममा संवोधन गरेर अस्पताल गएका थिए, फर्कन्छु भन्ने विश्वास लिएर गएका थिए, फर्केपछि उनले देश र जनताका लागि, पार्टीको हित चिताएर ठूला ठूला निर्णय गर्न अव हच्कने छैनन् किनकि ओलीको यो दोस्रोपल्टको जन्म हो । १४ वर्ष जेल बसेर उनले जसरी राजनीतिक उचाइमा पुगे, अव त्यो उचाइलाई आफू राजनेता हुँ भनेर देखाउने अवसर पाएका छन् । सबै राजनीतिक शक्तिहरुलाई सँगेलेर एकतावद्ध पारेर ओली अघि बढे भने उनी राजनेतामात्र बन्नेछैनन्, देशमा विदेशी हस्तक्षेप र कोरोनाको आक्रमणलाई पनि निस्तेज पार्न सफल हुनेछन् । जुन सत्ताको लालच शीर्ष नेताहरुमा देखियो, त्यो पग्लिनेछ ।
केपी ओलीले पाएको ५ वर्षे शासनाधिकारको आधा समय खेर गए पनि बाँकी आधा समयको सदुपयोग गर्नका लागि ओलीले आफ्नो मन्त्रिमण्डल र सचिवहरुमा ठूलै फेरबदल पनि गर्न सक्नेछन् । अनि संवैधानिक निकायहरुमा पनि परिवर्तन गर्नसक्नेछन् । आउने २ महिनामा ओलीले खुमलटारे षडयन्त्रहरुलाई चिर्दै आफू बलबती बन्ने काम गर्नेछन् र राष्ट्रकालागि आफूले दिनसक्ने योगदान के हो, त्यसको निक्र्यौल निकालेर सपना पूरा गर्नतिर लाग्नेछन् । मान्छे अमर छैन, पाएको मौकामा केही गर्नसके अमर हुने हो । यो खुमलटारेहरुलाई भन्दा ओलीलाई बढी थाहा छ ।