काठमाडौं । राणा शासनकालमा तिहारमा पञ्चक सुरु भएपछि जुवा फुक्थ्यो । गणतन्त्र कालमा भ्रष्टाचार सदावहार रुपमा फुकेको छ ।
भ्रष्टाचार फुकेकोको खुलासा गृहमन्त्री रामबहादुर थापाकै मुखबाट सार्वजनिक हुनपुगेको छ ।
गृहमन्त्रीले भनेका छन्– भ्रष्टाचारीलाई कारवाही गर्ने हो भने स्थानीय तह नै खाली हुन्छ । अर्थात् स्थानीय निकायमा भ्रष्टाचार व्याप्त छ, कारवाही गर्न सकिदैन ।
फागुन १८ गते पर्वत पुगेर गृहमन्त्रीले चिन्ता व्यक्त गरेका हुन् । अख्तियारबाट थाहा पाएको हुँ, सबैभन्दा बढी भ्रष्टाचार स्थानीय निकायमा नै भइहेको छ । अख्तियारले पनि भनेको छ– अख्तियारले भनेको छ, स्थानीय तहका भ्रष्टाचारीलाई कारबाही गर्ने हो भने तहहरू नै खाली हुने अवस्था छ ।
यो कस्तो अख्तियार हो, जसले भ्रष्टाचार देखिरहेको छ, नियमन र नियन्त्रण गर्दैन । यी कस्ता गृहमन्त्री हुन्, कानुन व्यवस्थाको जिम्मेवार लिन्छ, भ्रष्टाचार टुलुटुलु हेर्छन् ।
गृहमन्त्रीले हाँसेरै भनिदिए– स्थानीय तहका जनप्रतिनिधिलाई अख्तियारले घुससहित रंगेहात पक्राउ गर्नुले स्थानीय तहमा भइरहेको भ्रष्टाचारको विकराल अवस्था देखाएको छ । गृहमन्त्रीले जिब्रो नचपाई भनेका छन्– झन्डै दुईतिहाइ बहुमतको सरकार केन्द्रमा छ । अधिकांश स्थानीय तहमा नेकपाकै जनप्रतिनिधिको वर्चस्व रहेको छ । अनि भ्रष्टाचार बढिरहेको छ । नेकपाले नै भ्रष्टाचार रोक्नेगरी काम नगरे नतिजा नकारात्मक हुनेछ ।
स्थानीय तहमा नेकपाको बर्चस्व छ र भ्रष्टाचार व्याप्त छ भने नेकपाको समाजवाद भ्रष्टाचारमय भयो कि भएन ? नेकपाको सर्वहारावाद भ्रष्टाचारमा डुब्यो कि डुबेन । नेकपाका नेता, नेकपा नेतृत्वको सरकार आफ्ना नेता कार्यकर्ता भ्रष्टाचार गरिरहेको देख्छ, संवैधानिक निकाय भ्रष्टाचार देख्छ, र, कारवाही हुँदैन । समृद्ध नेपाल र सुखी नेपालीको सपना चकनाचूर भयो ।
पार्टीले गरेको क्रान्ति सफल हुन्छ । नेकपाभित्र गुटबाजी बढेको छ, गुटबाजीले गरेको क्रान्ति सफल हुनसक्दैन । रुस, चीन, युरोपलगायतका ठाउँमा भएका क्रान्तिहरू पार्टीले गरेका कारण सफल भएको हो । नेपालमा पनि यो परिवर्तन पार्टीक्रान्तिबाट सफल भएको बिर्सनु हुन्न । शीर्ष नेताहरु नै गुटबन्दी गरिरहेका छन् । पार्टी एकता गरेको २ वर्षमा पनि ३ महिनामा गर्ने काम गर्न सकिएन । यो गुटबाजी प्रवृत्ति कायमै छ । बढ्दै छ ।
महिलामाथिको विभेद, महिलालाई दिनुपर्ने जिम्मेवारी दिन सकिएको छैन । पार्टीभित्र महिला आवाज उठेको छ, हामी समाजवादका कुरा गरिरहेका छौं । सरकारले समाजवादी अर्थतन्त्र खोजिरहे पनि प्रतिगामी तत्वहरूका रूपमा दलकै नेता तथा कार्यकर्ता, तस्करहरू, भूमाफियालगायत सक्रिय रहेका छन् । नेकपाको शासनमा भ्रष्टाचार छ, लखनौं लूट छ ।


