Advertisement Banner
Advertisement Banner

१८ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

ओली सुशासकपछि दूरद्रष्टा

२७ सोमबार , माघ २०७६६ बर्ष अगाडि

काठमाडौं । जनताले झण्डै दुई तिहाइ मतले जिताएका नेकपाले सरकार बनायो, जनताले जे सुकै भनुन्, कोरियाली युनिभर्सल फाउण्डेशनले सुशासक भनेर एक लाख डलरको पुरस्कार दिएपछि अव यिनै प्रधानमन्त्री केपी ओलीलाई  ‘एसियाली दूरद्रष्टा नेता तथा राष्ट्र निर्माण’ अवार्ड प्राप्त भएको छ ।
यो अवार्ड नेपाली जनताले स्यावासीमा दिएको होइन, घतलाग्दो कुरा एशियाली व्यवस्थापन संस्थाहरुको संगठन आमोले गत शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सभापति राजिव कौलले प्रदान गरेका हुन् । यही संस्थाले आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल र भारतका बिरला कर्पोरेशनका अध्यक्ष डी कुमारलाई पनि व्यवसायिक नेतृत्व सम्मान दिएको छ ।
केपी ओली देशका प्रधानमन्त्री, ओलीले ठूला ठूला सपना देखाएका छन् । स्मल थिङ्स काउण्ट भन्ने भनाइको सम्मानसम्म राख्न सकेका छैनन् । साना साना काम गर्न नसक्ने र ठूला ठूला सपना देखाएर भ्रममा पार्ने शासकलाई देशभित्रबाट जयजयकार हुनुपर्ने हो, कोरोना भाइरसबाट प्रताडित भएर चीनमा बन्दीजस्तो जीवन बिताइरहेका विद्यार्थीको उद्धारमा समेत ढिलासुस्ती गर्ने र विद्यार्थीका परिवारजन रुवाबासी गर्दै राष्ट्रिय मानवाधिकार आयोग पुगेर गुहार लगाउनु पर्ने जस्तो शासन गर्ने शासक कसरी दूरद्रष्टा हुनसक्छ, आश्चर्यको विषय हो ।
राजनीतिज्ञ पहिले जवाफदेही हुनुपर्छ । इमान र नैतिकता उसको गहना हो, के नेकपाको शासन र प्रधानमन्त्री केपी ओली इमान कायम राखेको पार्टी र जवाफदेही शासक हुन् ? २ वर्षको शासनकालको दृश्य हेरौं, जति पनि कुशासनका भाइरसहरु छन्, सबै बालुवाटारभित्र छन्, सिंहदरवारभित्र छन्, शितल निवासभित्र छन् । शासनको केन्द्र नै नीतिगत र आर्थिक भ्रष्टाचारले भरिएको छ, त्यस्तो शासन गर्ने व्यक्ति एसियाली दूरद्रष्टा सम्मानको हकदार ? विश्लेषकहरु भन्छन्– यो गौरवको विषय हुनुपर्ने हो, आश्चर्यको विषयबस्तु बन्न पुगेको छ ।
नेकपाको शासन र ओली प्रधानमन्त्री हुन् भनेर गौरव गर्न पाउने कहिले ?