काठमाडौं । नेपाली सेनाले सेनाका हिताधिकारी सैनिकका टुहुरा बालबालिकालाई १२ कक्षासम्म निशुल्क पढाउने निधो गरेको समाचार आयो । दाङ पुगेर प्रधानसेनापति पूर्णचन्द्र थापाले गरेको प्रशंसनीय कार्यको थालनी हो यो ।
बाबुआमाको मृत्यु भएर टुहुरा भएका बालबालिकालाई सेनाले गोद लिनु राम्रो हो । तर सेना नेपालको हो, नेपाली सेनाले तमाम नेपालीका टुहुरा सन्तानलाई गोद लिएर १२ कक्षासम्म निशुल्क पढाइदिने हो भने नेपाली सेनाको सबैभन्दा ठूलो काम हुनेछ, सेनाप्रतिको सम्मान झन बढ्नेछ ।
प्रधानसेनापति थापाले स्वरोजगार कार्यक्रम अन्तर्गत सैनिक श्रमती संघको पहलमा व्यवसायिक तालिम केन्द्र छाउनीबाट सुरु भएको सीपमुलक कार्यक्रम प्रितनातहसम्म यही वर्षबाट विस्तार गरिएको बताएका हुन् । अव नेपाली सेनाले सैनिक दिवसका अवसरमा राजधानीमा सुपथ मूल्य पसल पनि सञ्चालन गर्ने भएको छ । बजारमूल्य भन्दा १० देखि १९ प्रतिशतसम्म सस्तोमा सामान उपलब्ध गराउने योजना छ सेनाको । स्मरणीय छ, नेपाली सेनाले लमजुङको बेसिसहरमा स्थापना गरेको नेपाली सेना व्यवसायिक कृषि तथा पशुपालन तालिमकेन्द्रमा पिजेटिए र भिजेटिएका अतिरिक्त अन्य कम अवधिका तालिम सञ्चालन गर्न प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्रबाट सम्बन्धन प्राप्त गरिसकेको छ । सेनाले उद्यमशिलता कर्जा कार्यक्रम पनि सुरु गरेको छ । नेपाल इन्भेष्टमेण्ट बैंकको सहकार्यमा सेनाले भूतपूर्व सैनिक श्रीमती, एकल महिला तथा अविवाहित छोरीलाई बढीमा ५ वर्षका लागि ३ दशमलव ९८ प्रतिशत ब्याजदरमा १५ लाखसम्म ऋण लिन सहज भएको छ ।
नेपाली सेनाले कल्याणकारी कोष खडा गरेर भूपू सैनिक, तिनका परिवारजनको शिक्षा, स्वास्थ्य, गाँस बास र कपासको बन्दोबस्तमा सघाउँदै आएको छ । भूपू सैनिक श्रीमती संघले पनि कल्याणकारी कार्य गर्ने गरेको छ । नेपाली सेनाले वर्ष वर्षमा भूपू सैनिक सम्मेलन आयोजना गरेर स्वास्थ्य उपचार सेवा, सहभागीलाई दैनिक भ्रमणभत्ता, लघुवित्त कार्यक्रममा सहभागिता, उत्कृष्ट व्यवसायीलाई पुरस्कार तथा जेष्ठ सैनिक र एकलको सम्मान एवं अशक्तहरुलाई ह्विल चियर प्रदान गर्ने गरेको छ ।
अव नेपाली सेनाले टुहुरा बालबालिकाको हितका लागि निशुल्क शिक्षाको कार्यक्रम लिएर अघि बढिसकेको सन्दर्भमा किन सैनिकका मात्र, सबै नेपालीका टुहुराहरुलाई पढाउने व्यवस्था नेपालको राष्ट्रिय सेनाले नगर्ने ?
सेनाको रगतले सुत्केरी बाँचिन्
काठमाडौं । जुम्लाको गुठिचौर गाउँकी ४१ वर्षीय देवकी गिरी सुत्केरी हुन नसकी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति वार्डमा भर्ना भइन् । तुरुन्त शल्यक्रिया गरी बच्चा निकाल्नु पर्ने भयो, रगतको स्टक थिएन । गिरीका आफन्तले हारगुहार लगाए । सेनाको नन्दाबक्स गणमा पनि गुहारियो । थाहापाउनासाथ सिपाही निङ्दावा शेर्पा, सन्तोषकुमार तामाङ र नरबहादुर सलामी मगरले एक–एक पिन्ट रगत दिएर देवकी गिरी र उनको बच्चाको ज्यान जोगाएका छन् । यो हो नेपाली सेनाको सेवाभाव ।


