काठमाडौं । नेकपाको केन्द्रीय समितिको बैठकमा टाँगिएको ब्यानर, ब्यानमा कुनै पनि विदेशी कम्युनिष्ट नेताको फोटो देखिएन ।
एकताका अन्तर्राष्ट्रिय कम्युनिष्ट नेताहरुको फोटोमुनी मदन भण्डारी र जीवराज आश्रितको फोटो हुनेगथ्र्यो । पछि पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको फोटो राखिने प्रचलन अघि सारियो । अहिले अन्तर्राष्ट्रिय कमरेडको मात्र होइन, मनमोहन अधिकारीजस्ता सबै विचारका आदरणीय व्यक्तिको फोटो पनि हटाएर पुष्पलाल र मदन भण्डारीको फोटोमुनी केपी ओली र पुष्पकमल दाहालको फोटो राखेर नेकपा भनेको ओली र प्रचण्ड नै हुन् भन्ने छाप दिइएको छ ।
एकीकरणको २० महिनापछि ओली र प्रचण्डले पार्टीलाई दिएको सबैभन्दा महत्वपूर्ण सन्देश यही हो ।
नेकपाको बैठकमा सबै सदस्यले दिवंगत पुष्पलाल र मदन भण्डारीको फोटोमा मौन आदर जनाए, ओली र प्रचण्डको फोटोमात्र, मनमोहन अधिकारीको फोटो किन राखिएन भनेरसम्म प्रश्न गरेको सुनिएन । यसरी नेकपाको दोस्रो केन्द्रीय समितिको बैठक सकियो ।
माघ १५–१९ को वैठकमा धेरै नेकपाका नेताहरुले असहज अनुभव गरे । सबैलाई मनमोहन अधिकारीको फोटो किन राखिएन भनेर कौतुहलता लाग्यो, केही नेताहरु भन्छन्– मनमोहन अधिकारीको उच्च नैतिकता वर्तमान अध्यक्षद्वयलाई बिझायो शायद ।
मनमोहन अधिकारी ती कम्युनिष्ट थिए, जसलाई कुनै दलका नेता कार्यकर्ताले आलोचना गर्दैनन् । तिनै मनमोहन अधिकारीको ९ महिने शासन कालमा जे रोपियो, त्यही फलको स्वाद वर्तमान नेतृत्वले लिइरहेको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, संसदमा झण्डै दुई तिहाई तिनै मनमोहनले हालेको जगको घर हो । मनमोहन अधिकारीले नै सुरु गरेका थिए सामाजिक सुधारको क्रम र लोककल्याणकारी राज्यको सोच । त्यस्ता नेतालाई नेकपाको शीरबाट पैतालामा मिल्काएर बिबादको सुरुआत गरेर आफ्नो वर्चस्व कायम गर्न पूर्वमाओवादीका अध्यक्ष प्रचण्ड सफल हुनपुगेका छन् । बिस्तारै वर्तमान सरकार भनेको ओली र भविष्यको नेकपा भनेको प्रचण्ड भन्ने मान्यता स्थापित गराउन थालेको त होइन भन्ने आशंका पनि जन्मिन थालेको छ ।
स्मरणीय के पनि छ भने गत वैशाख ९ गते पार्टी एकीकरण सभामा टाँगिएको व्यानरमा मनमोहन अधिकारीको फोटो थियो, त्यही फोटोका कारणले ठूलै बबाल हुनपुग्यो । त्यो बबाल पनि प्रचण्डपक्षले नै गरेको थियो । त्यहीबेला देखि मनमोहन अधिकारीको फोटो कुनै पनि कार्यक्रममा टाँगिने व्यानरमा नराख्ने ओली प्रचण्डको समझदारी भएको थियो । अहिले मनमोहन अधिकारी पार्टी कार्यक्रमबाटै आउन हुनपुगेका छन् ।
जन जनमा मनमोहन अधिकारी सादगी, स्वच्छता, उच्च विचारका लागि स्थापित नाम हो । ओली र प्रचण्डले आफूलाई नेपाली माओ र माक्र्स नै साबित गर्न साजिस गरे पनि मनमोहन अधिकारीको नाम मेटाउन सक्लान् ?
एमाले खेमाका बुद्धिजीवीहरु प्रचण्डलाई क्रमभंगता गर्ने र आफूलाई किङपिनका रुपमा उभ्याउने स्वभावका मान्छन् । त्यही अभिष्ठका लागि मनमोहनको फोटो आउट गर्न सफल भएका छन् । प्रश्न के छ भने केपी ओलीले यति कृतघ्नता कसरी देखाउन सके, उनी किन चुप बसे भन्ने हो ?


