काठमाडौं । संसद र सडक दुबैतिर देशभक्तिपूर्ण मुद्दाहरु उठाएर राष्ट्रियता जगाउने काममा लागेका सांसद भीम रावलले एमसीसी परियोजना ससदबाट पारित गर्ने कि नगर्ने भन्ने अन्तिम सुझाव दिने जिम्मा पाएका छन् ।
राजनीतिक रुपमा प्रभावहीन झलनाथ खनाल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका साथमा भीम रावललाई नेकपा केन्द्रीय समितिले कार्यदलमा राखेको छ र १० दिनभित्र एमसीसीका सम्बन्धमा अध्ययन गरेर रिपोर्ट लेख्नुपर्नेछ ।
नेकपाभित्रको भीमका रुपमा चिनिने भीम रावलको अग्नि परीक्षा हो यो ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली प्रधानमन्त्रीका लाइनमा छन् र एमसीसी पारित गर्न ढिलो भएको कांग्रेसी अडानका सारथी हुन् । झलनाथ खनालको नेकपाभित्र र नेकपा पार्टी स्तरमा पनि खासै प्रभाव देखिन्न, पूर्व प्रधानमन्त्री हुन् । भीम रावल पूर्व उपप्रधानमन्त्री र अहिलेका सबैभन्दा चर्चित व्यक्तित्व मानिन्छन् ।
एमसीसीका विषयमा नेकपाभित्र व्यापक बिरोध र समर्थनका आवाज उठिरहेका छन् । संसदका प्रमुख सचेतक देव गुरुङ, गृहमन्त्री रामवहादुर थापामात्र होइन, अन्य केही मन्त्री र सांसदहरु एमसीसीलाई पास भए नेकपाले राष्ट्रघात गरेको ठहरिने बताइरहेका छन् । भीम रावल यिनै आवाजको प्रतिनिधि पात्र हुन् ।
पास गर्ने र नगर्ने दुई खेमामा नेकपाको केन्द्रीय समिति बिभाजित भएपछि बाध्य भएर दुबै अध्यक्ष ओली र प्रचण्डले थप अध्ययन गर्न कमिटी गराएका हुन् तर आइतवार रातिको भोजन प्रधानमन्त्रीले निवासमै मोवाइल मेसेन्जरबाट प्रभावशाली नेताहरुलाई बोलाएर खुवाएपछि पास गर्ने वातावरण बनेको स्रोतले जानकारी दिएको छ । त्यसो त प्रधानमन्त्रीले अनावश्यक बखेडा झिकेको र एमसीसी संसदबाट पास हुन्छ भनिसकेका छन् । सञ्चारमन्त्री गोकुल वास्कोटा प्रधानमन्त्रीको हाँमा हाँ मिलाएर एमसीसी पास हुन्छ, विवाद छैन भनिरहेका छन् । अव हेर्नुछ, १० दिनमा झलनाथ खनाल, प्रदीप ज्ञवाली र भीम रावलको समितिले कस्तो अनुसन्धान रिपोर्ट दिने हो ? यो सर्वाधिक चासो बनेको छ ।


