हुम्लामा ७ मरे, खोई नैतिकता ?
अत्यधिक चिसोका कारण फैलिएको रुघाखोकी र जरोले हुम्ला, डोल्पा र आसपासका जिल्लामा दर्जनबढी लोक मरिरहेका छन् । खुला चौरमा असरल्ल परेका छन् लडिरहेका छन् बिरामीहरु । लोकतन्त्रका मालिकहरुलाई मतलव नै छैन । स्वास्थ्यकर्मी, औषधि किन पुगेन, पुगेको औषधि किन बितरण भएन, डाक्टर कता छन्, के गर्दैछन् ? सरकार मौन छ । लोकतन्त्रमा हुनैपर्ने नैतिकता र जवाफदेहीता हो, हुनुपर्ने गुण नभएपछि लोकतन्त्रमा अमानवीय र अराष्ट्रिय चरित्र देखिन थाल्यो । हुम्ला चीनको तिब्बतसँग जोडिएको जिल्ला हो, यहाँ पनि कोरोना भाइरस पस्नसक्छ ।
काठमाडौं । भाइरस पदाधिकारीले उत्पादन गरेको अथवा फैलाएको होइन । भाइरस के कारणले जन्म्यो र फैलियो, चीनमा र बाँकी विश्वभरि नै अनुसन्धान भइरहेको छ । तर, कोरोना भाइरस फैलिएपछि चीनको बुहान सहरका सम्बन्धित पदाधिकारीले नैतिकताका देखाएर राजीनामा दिएका छन् ।
यो हो नैतिकता र जवाफदेहीता । कम्युनिष्ट देशमा लोकप्रतिको त्यो जिम्मेवारी, कम्युनिष्ट्र हँु भन्ने नेपालको शासनमा गैरजिम्मेवारीको पराकाष्ठा ।
नेपालमा कोरोना भाइरस भित्रियो । गत शुक्रवार चीनमा अध्ययन गरेर फर्केर्का एक विद्यार्थी नेपाल आउँदा भित्रिएको भनिएको छ । यो कोरोना भाइरसको महामारी विश्वभरि नै सल्कदै र फैलदै गएको छ । चीनबाट घर फर्किएका ती विद्यार्थीलाई निको भो, तर पर्यटक आइरहेका छन्, भाइरस पनि भित्रिरहेको छ । महामारी फैलिनसक्छ, यो सतर्कताको बेला हो ।
चीनमा ४ करोड बस्ने सहर नै नाकावन्दी गरेर सरकारले स्वास्थ्य जाँचको प्रवन्ध मिलाएको छ । कोरोना भाइरसको ओखतीको व्यापक अनुसन्धान पनि गरिरहेको छ । जनताको स्वास्थ्यभन्दा ठूलो केही हुन्न भन्ने जिम्मेवारी बोध गरेरै चीन भाइरसको रोकथाममा जुटेको हो ।
नेपाल सरकारले सुरुमा सबै परीक्षण हङकङ पठाएर गरेको थियो, अवको एक हप्तामा नेपालमै परीक्षण गर्ने व्यवस्था मिलाउन लागेको सूचना दिएको छ । नेपालमा कोरोना भाइरसको महामारी फैलियो भने यो भूकम्पभन्दा खतरनाक हुनसक्छ ।
त्यसैले आपातकाल घोषणा गर्नुपर्छ । सबै अस्पताल, स्वास्थ्य केन्द्रहरुमा ओखती, डाक्टर अपटुडेट राख्न अबेर भइसकेको छ । स्वास्थ्यकर्मी बिदा बसेका भए बोलाउनुपर्छ, विदेश गएका भए फर्काउनुपर्छ र भाइरस भयाबह हुनुपूर्व नै राष्ट्रियस्तरमा तैयारी गर्नुपर्छ । नेपालको वर्तमान आवश्यकता भनेको कोरोना भाइरसको रोकथाम हो ।
नेपालको लागि भ्रमणवर्ष पनि हो यो । भ्रमण वर्षलाई कसरी सफल पार्ने, यो विचार गर्न जरुरी छ । कोरोना भाइरसले नेपाल भ्रमण वर्ष असफल पारिदिन पनि सक्छ । ध्यान दिउँ ।
दुर्गम त्यसै पनि बिकट छ हरेक ृदृष्टिबाट । स्वास्थ्योपचारको प्रवन्धमा दुर्गमलाई पनि सुगमको व्यवस्थापनमा ल्याउनुपर्छ । डाक्टर र औषधि, सेवा र सुविधा राजधानीमा थुपार्ने होइन, यो स्थिति भनेको जनसेवा गर्ने बेला हो । चेतना फैलाउने काममा सांसददेखि स्कूलतहका विद्यार्थीसम्मलाई परिचालन गर्न जरुरी छ । घरघरमा चेतना पुगेन भने पछि पछुताएर के अर्थ ?
यो समय मानवीय संकट बन्न पुगेको भाइरसबाट बच्ने र बचाउने समय हो । कोरोना भाइरसबाट बच्न विश्वव्यापी सतर्कता देखिन्छ । त्यो सबै हेर्दा यो भाइरसबाट बच्न के के सतर्कता अपनाउनुपर्छ भन्ने चेतनासम्म फैलाउन सकेको छैन सरकारले । माष्क लगाउन, रुघाखोकीबाट बच्ने तरिका, हात मिलाउँदासमेत सर्छ भन्ने जानकारी बढीभन्दा बढी प्रशारण गर्न आवश्यक छ । भाइरसको महामारीले ५ दर्जन व्यक्तिको ज्यान नलिदै चीनका राष्ट्रपति सी जिन्पिङले कोरोनाभाइरस तीव्र गतिमा फैलिरहेको चेतावनी दिए, देश गम्भीर परिस्थितिमा रहेको बताए । चीनका स्वास्थ्यमन्त्री शियाओवेले भाइरसको फैलिने क्षमता बढेको पाइएको बताए । यसको लगत्तै ६ दिनमा हजारौंलाई उपचार गर्न सकिने अस्पताल बनाएर चीनले अर्को लोकहितकारी काम गरेको छ । उता बेलायतका अनुसन्धानकर्मीले यो भाइरस नियन्त्रण गर्न नसकिने खतरा देखाएका छन् ।


