Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

पार्टीमा राष्ट्रवाद, सत्तामा राष्ट्रघात

३० सोमबार , मंसिर २०७६७ बर्ष अगाडि

काठमाडौं । नेकपा स्थायी कमिटीको बैठक बस्यो, अध्यक्ष प्रचण्डले १६ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । यो प्रतिवेदनले भनेको छ– लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्र नेपालको हो, भारतीय नक्सामा पारिनु आपत्तिजनक छ । भारतले दावी गर्न मिल्दैन, नेपाललाई मान्य छैन ।
यत्ति भएपछि नेकपाभन्दा देशभक्त पार्टी अरु कुन हुनसक्छ ? देखिन्छ ?
तर सत्तामा अर्का अध्यक्ष केपी ओली छन्, प्रचण्डले यसरी राजनीतिक प्रस्ताव पेश गर्दा अनुपस्थित रहे । र, ओली नेतृत्वको नेपाल सरकारले भारतीय नक्साबारे मौनता साधिरहेको छ ।
कात्तिक दोस्रो हप्ता भारतले नेपालका भूभाग भारतको दावी गरेर नक्सा निकालेपछि प्रधानमन्त्रीले नक्सा छाप्न सकिन्छ, भूमि फिर्ता ल्याउने हो भनेर आश्वासन दिएका थिए, सामान्य नोट भारत सरकारलाई पठाइयो, भारत सरकारले वास्तै गरेन ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ताले पत्रकार सम्मेलन नै गरेर सचिव स्तरीय वार्ता कहिले हुन्छ भन्न सकिन्न भनिदियो । प्रधानमन्त्री ओलीले ३ पल्ट भारतीय प्रधानमन्त्री मोदीसँग फोनवार्ता गर्न खोजे, मोदीले उनको फोन नै रिसिभ गरेनन् । यसबाट थाहा हुन्छ– भारतीय नीति के रहेछ ? भारतीय नीतिमा कति खोट छ भन्ने ?
प्रधानमन्त्रीले दिनुपर्ने जवाफ भूमिसुधार मन्त्री पद्मा कुमारी अर्यालले दिएकी छिन् । उनकै शव्दमा– ‘उचित समयमा लिम्पियाधुरासहित नेपालको नक्सा सार्वजनिक हुन्छ ।’ आफ्नो देशको नक्सा यो हो भनेर देखाउन नसक्ने पनि भूमि व्यवस्था मन्त्री ? यो जवाफ उनले प्रतिनिधि सभाअन्तर्गत अन्तर्र्रािष्ट्रय सम्बन्ध समितिको बैठकमा दिएकी हुन्, सांसदहरुले नक्सा देखाउनोस् सम्म भन्न सकेनन् । उचित समय भारतले अनुमति दिएपछि आउँने हो कि ?
यद्यपि उनले १९६७ सालसम्म तिरो तिरेको र २०१५ सालमा मतदान गरेको प्रमाण सबैभन्दा बलियो भएको बताइन् । २०१८ को जनगणनामा समेत त्यस क्षेत्रका नागरिक समेटिएको प्रमाण सरकारसँग रहेको पनि बताइन् । उनले  सुगौली सन्धिदेखिको विवाद हो, नेपालले आफ्नो सामथ्र्यमा नक्सा प्रकाशित गर्ने स्थिति नहुँदाको फाइदा भारतले लिएको आरोप लगाइन । अव के गर्ने भन्ने विषयमा रणभुल्लमा पारिन् ।
मुखले जे भने पनि लिखित रुपमा नेपालले भारतीय राजनीतिक नक्साको खण्डन गरेर आफ्नो दावी गर्न सकेको स्थिति छैन । पछिल्लो लामो समय मौनता साधेर बस्नाले सरकारले त्वम् शरणम् गरेको संशय उठेको छ ।
नेपाली राजनीतिक बर्गमा भारत रिसायो भने सत्तामा जान सकिन्न भन्ने मानसिक समस्या छ । नेपाली जनतामा भर गर्न नसकेकाहरु भारतका सामु लम्पसारवादी बनेका छन् । यहीकारण हो, नेकपाका एउटा अध्यक्ष लिपुलेक,कालापानी नेपालको हो भनेर भ्रम छर्छन् पार्टिमार्फत । अर्का अध्यक्ष केपी ओली यसबारेमा केही पनि बोल्दैनन् । नेकपाका पार्टीमा राष्ट्रवाद, सत्तामा राष्ट्रघात नै देखिएको छ ।