काठमाडौं । प्रधानमन्त्री केपी ओली मिर्गौला प्रत्यारोपण गर्ने निधोमा पुगेका छन् । स्रोतका अनुसार केपी ओलीलाई मिर्गौला दिने व्यक्ति तैयार भयो, उनको मिर्गौला र रगत ग्रुप पनि मिल्यो । १२ वर्ष अघि फेरेको मिर्गाैलाले १० प्रतिशतमात्र काम गरेकाले पटक पटक डायलाइसिस गर्नुपर्ने समस्या बढ्दै गएको छ । प्रधानमन्त्री निवासमै डायलायसिस यन्त्र जडान गर्न ठूलो कुरा थिएन, तर त्यसबाट लामो समय काम गर्न नसक्ने भएपछि मिर्गौला फेर्ने निर्णयमा पुगेको बताइन्छ ।
यहीकारण पार्टीको कार्यकारी अधिकार प्रचण्डलाई र सरकारको कार्यभार रक्षामन्त्री ईश्वर पोखरेललाई दिने तैयारीमा प्रधानमन्त्री पुगेको चर्चाले नेकपाभित्र ठुलै हल्लीखल्ली छ । यतिमात्र होइन, सरकार पुनर्गठन गरेर मात्र ओली विदेश जाने भएकाले पनि सरकारमा टिक्न र मन्त्री बन्नेहरुको दौडधूप पनि हेर्न लायक तमासा बनेको छ ।
खासगरी प्रचण्डलाई अध्यक्ष, ईश्वर पोखरेललाई कार्यबाहक प्रधानमन्त्री, माधव नेपाल, भीम रावल, वामदेव गौतम र त्यत्तिकै प्रभावशाली अन्य नेताहरुलाई के ? यो प्रश्नले नेकपाभित्र ठूलै कम्पन पैदा गरिरहेको छ । बाहिर भने वा नभने पनि प्रधानमन्त्रीले घनश्याम भुसालजस्ता केही नेतालाई व्यवस्थापन गरेर जाने भए पनि अन्य नेताहरुमा असन्तुष्टि बढेको छ ।
यबिेलासम्म मिर्गाला फेर्न अमेरिका जाने कि सिंगापुर तय भइसकेको छैन । स्रोतका अनुसार ओलीलाई चीनले पनि मिर्गौला फेर्न सहयोग गर्ने सूचना दिएको छ तर ओलीको चाहना अत्याधुनिक चिकित्सा प्राणालीको विकास भएको अमेरिका नै जाने मूडमा छन् ।
नेपाली डाक्टरहरुले नेपालमै मिर्गौला प्रत्यारोपण हुनसक्ने जनाउ दिए पनि थप आपातकाल आयो भने त्यसको विकल्प नेपालमा नभएको भन्दै प्रविधिसम्मन्न मुलुक अमेरिका नै जाने भित्री तैयारी सुरु भएको छ ।
जानु अघि पार्टीको काम, संसदमा सभामुख, उपसभामुखको निर्वाचन, मन्त्रिपरिषदको पुनर्गठन गरेर जाने सुरमा छन् प्रधानमन्त्री ओली । यसपटक पनि देशका प्रधानमन्त्रीले देशभित्रको उपचार पद्धतिलाई अविश्वास गर्ने छाँटकाँट देखाएका छन् । आमनेपालीले नेपालमै उपचार गरेर बाँच्नुपर्नै, स्वस्थ हुनुपर्ने र देशका शासकले पदीय हैसियतको चरम दुरुपयोग गरेर विदेश नै जानुपर्ने अवस्था आयो भने यो सवाल नेपाली राजनीतिमा ठूलै मुद्दाका रुपमा स्थापित हुनेछ । जेहोस्, ओलीको स्वास्थयमा सुधार होस् ।


