काठमाडौं । नुसरत जहाँ रफी, १९ वर्षकी युवती । गत अप्रिल महिनामा राजधानी ढाकाबाट १६० किलोमिटर परको सानो सहरमा उनको सामुहिक बलात्कार गरियो र पछि मटितेल खन्याएर आगो लगाएर हत्या गरेको आरोपमा अदालतले उनकै हेडमाष्टरसहित १६ जनालाई बलात्कारी ठहर गरी फाँसीको सजाय सुनाएको छ । महिलावादीहरुले फैसलाको स्वागत गरेका छन् ।
नुसरतको सामुहिक बलात्कार भएको घटनाले सिंगो बंगलादेश र विदेशमा समेत निकै चासोको विषय बनेको थियो । यसपछि महिला, ससाना विद्यार्थी र अधिकारकर्मीहरुले बंगलादेशमा व्यापक विरोध प्रदर्शन गरेका थिए । बंगलादेशको इतिहासमै यो मुद्दा सर्वाधिक छिटो अनुसन्धान र छानबिनपछि अदालतले समेत प्राथमिकतामा राखेर सुनवाई ग¥यो र फाँसीको फैसला दियो । फैसलाले बंगलादेशको न्यायिक इतिहासमै हत्यामा कसैले उन्मुक्ति पाउँदैन भन्ने नजीर स्थापित गरेको छ ।
कानुनविदहरु भन्छन्– फाँसीका सजाय पाउनेहरुले अपिल गर्नेछन् । तर, यो बलात्कार र हत्याकाण्डमा आमनागरिक र बुद्धिजीवी सजायका भागिदारका पक्षमा कोही पनि छैनन् । शक्तिशाली व्यक्तिहरु र केही नुसरतका साथीहरुसमेत मौन रहेकाले यो घटनालाई साजिसका रुपमा पनि उछाल्ने प्रयत्न भएका छन् । तर, फाँसीको सजाय पाउनेमा स्थानीय सत्तारुढ दल अवामी लिगका नेताहरुसमेत परेका छन् । बंगलादेशमा प्रधानमन्त्री शेख हसिना वाजेद महिला छिन्, र आफ्नै पार्टी अवामी लिगका स्थानीय नेता पर्दा उनले कुनै प्रतिक्रिया दिएकी छैनन् ।
नुसरतलाई लामो समयदेखि सेक्सुअल हेरेसमेन्ट गर्ने कार्य भइरहेको थियो र उनले प्रहरीलाई खबर पनि गरेकी थिइन् । प्रहरीले बेवास्ता गरेपछि उनले आत्महत्या गर्ने सोच बनाएकी थिइन् । यही क्रममा उनको बलात्कार भयो र हत्या गरियो । नुसरतका परिवारले अदालतको फैसलाले न्याय भएको र तमाम युवतीहरुलाई राहत मिलेको बताएका छन् । यी बलात्कारीहरुलाई झुण्ड्याइने बंगलादेशका पत्रिकाहरुले लेखेका छन् । आँसु, आक्रोश र न्यायका लागि लड्ने प्रवृत्तिले बंगलादेशको अदालतलाई छिटो र स्वच्छ फैसला गर्न प्रोत्साहित गरेको छ । बलात्कारीले मारेर आत्महत्याको केश बनाउन खोज्दा हत्या गरेको प्रमाणित हुनपुगेको थियो ।
नुसरतलाई आगो लागेको थाहा पाएपछि बचाउने प्रयास भएको थियो, उनको शरीर ८० प्रतिशत जलिसकेकाले ४ दिनपछि उनको मृत्यु भएको थियो ।
बारा, पर्सामा यस्ता सेक्सुअल हेरेसमेन्टका घटना हुनेगरेका छन् । एक महिलाको आगो लगाएर मार्ने प्रयत्नमा उपचार हुँदा अकालमा मर्न बाध्य भइन भने अहिले पनि मुस्कान उपचार गराइरहेकी छिन् । १५ वर्षकी उनलाई एसिड आक्रमण भएको थियो, तमाम नेपाली र बलिउड स्टार अमिताभ बच्चनले समेत उनको सुस्वास्थ्यको कामना गरेका छन् । राजधानीमै सुई घोच्ने, एसिड आक्रमणका घटना भएका हुन् । निर्मला पन्तको बलात्कारपछि हत्या भयो, सरकारले यसको अनुसन्धान गर्न र पीडकलाई सजाय दिन नै खोजेन भन्ने जनआरोप छ । नेपालका सन्दर्भमा सेक्सुअल हेरेसमेन्टको सबैभन्दा ठूलो मुद्दा पूर्वसभामुख कृष्णबहादुर महरा–रोसनी शाही प्रकरण हो, जुन मुद्दा अदालतमा पुगेको छ ।
नेपालमा अदालतले कडा फैसला नगर्दा भ्रष्टाचार र अनैतिकता बढेका छन्, बलात्कार काण्डदेखि महिला हिंसाका अनेक वारदातहरु घटेका छैनन् । जसलाई कडा सजाय दिनुपर्ने हो, अदालत चुकेको गुनासो छ आमनागरिकको । न्यायाधीशहरु राजनीतिक भागबण्डा, सिफारिस र प्रभावमा नियुक्ती हुने र मुद्दामा राजनीतिक दबाब पर्नाले गम्भीर प्रकृतिका मुद्दाहरुमा पनि अपराधी उम्कन सफल हुँदा कानुनप्रति जनविश्वास ह्रासोन्मुख हुनपुगेको हो ।
नेपालमा पनि बलात्कारी र हत्यारालाई जन्मकैदको फैसला हुनुपर्ने हो । नेपालमा महिला हिंसामा, बलात्कार र हत्यामा महिलावादीहरु, मानवाधिकारवादीहरुको आवाज साह्रै कमजोर भएर गएको विश्लेषण भइरहेको अवस्था छ । जनदबाब नपुगेरै हो, बलात्कार र हत्या र असामाजिक अपराध बढेको ।


