Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

सेनाको सान, देशको मान

०४ सोमबार , कार्तिक २०७६७ बर्ष अगाडि

काठमाडौं । नेपाली सेना सधैं अब्बल थियो र अब्बल रहने छ । नेपाली सेना व्यवसायिक सेना हो, राजनीतिक चस्का नलागेको सेनाले सधैं संवैधानिक रुपमा जे गर्छ, त्यो संगठन हुँदै देशका लागि हुन्छ । एकपटक फेरि नेपाली सेनाले सेनाको सान बढाएको छ, देशको मान राखेको छ । बधाई छ हाम्रो सेना, नेपाली सेनालाई ।
१०६ जना बेलायी फौजका र ३४ देशका सेनालाई नेपाली सेनाले पछि पार्दै एक्सरसाइज कब्रियन पेट्रोल २०१९ सैनिक अभ्यास प्रतियोगितामा नेपाली सेना चम्किदै अब्बल बन्यो, स्वर्ण पदक जित्यो  । नेपाली सेना सधैं झैं अगाडि भयो ।
युद्धकालीन विशेष परिस्थितिको कल्पना गरेर शत्रुपक्षको गतिविधिसमेत समेटेर गरिने यो विश्वस्तरीय सैन्य अभ्यास थियो, यो अभ्यासमा सैनिकभित्र शारीरिक सहिष्णुता, मानसिक तत्परता, पेशागत दक्षता र शूरवीरताको मूल्याङ्कन हुनेगर्छ । नेपाली सेनाको १० जनाको टोलीले ३४ देशका १४० सेनाको परीक्षामा नेपालको शान र मान राखेका हुन् ।
सैनिक स्रोतका अनुसार यो अभ्यास प्रतियोगितामा ५० पाउण्डको हतियारसहितका बन्दोबस्तीका सामान बोकेर दुई दिनभित्र ५० किलोमिटरको दूरी पार गर्नेमात्र होइन, लडाइँको लागि सतर्कतासहित नक्सा, कम्पासको भरमा शत्रुपक्षलाई ध्वस्त पार्दै अघि बढ्नुपर्ने, खबर संकलन गर्नुपर्ने, घाइते र मृत्यु हुने सैनिकको व्यवस्थापन गर्दै शत्रुले विछ्याएको बिस्फोटक, जैविक, रासायिनक, आणविक हतियार, धरापको प्रतिरोध गर्नुपर्ने दक्षताको परीक्षासमेत हुनेगर्छ ।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार प्रमुख सेनानी अशिम देव गुरुङको नेतृत्वमा गएको टोलीले यो सफलता हासिल गरेको हो । बेलायतमा हुने यो सैनिक तालिम विश्वमै साह्रै कडा र स्तरीय मानिन्छ । यस्तो तालीममा नेपाली सैनिकहरु जसले सहभागिा जनाए, सबैले सफलता हासिल गर्ने गरेका छन् ।
२०१४ देखि यस्ता तालिम प्रतियोगितामा नेपाली सेना भाग लिदै आएको छ । यसपटक फौज बाहिनी पशुपतिप्रसाद गण र गौरीबक्स गुल्मका सैनिकहरु यो तालीममा खटाइएको थियो । यो सफलताले नेपाली सेनाको व्यवसायिकतालाई अरु चमकदार बनाएको छ, विश्वमै गुणस्तरीय सेनाको स्तरमा पुगेको छ ।
स्तरीयता, काविलियत र दक्ष व्यवसायिक सेना जसले देशका विकास निर्माणदेखि दैवीप्रकोप उद्धारसम्म प्राप्त सबै जिम्मेवारीहरु पूरा गर्दै आएको छ । नमकको सोझो चिताउनु, र हत्केलामा ज्यान राखेर प्राप्त जिम्मेवारी पूरा गर्नु नेपाली सेनाको निरन्तर दायित्व बन्दै आएको छ । यसकारण नेपाली सेना जनताको सेनाको गौरव पनि हो ।
तर, यति व्यवसायिक सेनालाई जुनसुकै पार्टी सत्तामा गए पनि सीमा अतिक्रमण, सीमाबाट हुने आतंककारी, अराजक र अतिक्रमणकारी क्रियाकलाप रोक्न किन उपयोग गरिएन ? यो रहस्यमय प्रश्न वर्तमान कालखण्डका यक्ष प्रश्न हो ।
बिस्तारवादी, हस्तक्षेपकारी शक्तिका विरुद्ध सुरुङ युद्ध गर्छु भन्ने नेतृत्व सत्तामा छ, पटक पटक सत्तामा पुगेको छ । देशको सार्वभौमसत्ताको रक्षा र सुरक्षामा ठूलो चिन्ता गर्ने नेता र पार्टीहरु बेला बेलामा सत्तामा पुगेका छन्, संसदमा जनप्रतिनिधित्व गरिरहेका पनि छन् । तथापि यी सबै राजनीतिक शक्ति र व्यक्तिहरुले सेनाको प्रमुख काम सीमा सुरक्षा र जनसेवामध्ये जनसेवामा लगाए पनि राष्ट्रसेवा, सीमा सुरक्षामा सेनालाई किन नखटाएको होला ? के देशको सीमारक्षा गर्ने दायित्व सेनालाई दिंदा पार्टीहरुको राजनीतिक धरातल नै पहिरो जान्छ भनेर हो ?
हौइन भने, सेनालाई सीमा सुरक्षामा पनि खटाउनु सेनाकै सम्मान हुनेछ ।