राजा महेन्द्रको शासनकालमा भारतले नेपालमाथि डरलाग्दो हस्तक्षेप गरेर सैनिक मार्च गर्नसक्ने अवस्था देखिएपछि चाउएनलाईले भनेका थिए– नेपालसँग रगतको सम्बन्ध छ, यदि कुनै विदेशीले नेपालमाथि हमला गर्छ भने त्यो चीनमाथि गरेको हमला सम्झिइने छ । चीन सधैं सर्वाभौमसत्ता सम्पन्न नेपालको पक्षमा उभिने छ । ठीक त्यही शैलीमा तर कूटनीतिक भाषामा राष्ट्रपति सी चिनफिङले नेपालमा आइपर्ने कुनै पनि विदेशी खतराको मुकाविला गर्ने ढाल बनेर गएका छन् ।
काठमार्डौं । चीनका राष्ट्रपति सी चिनफिङको असोज २५ र २६ गतेको नेपाल भ्रमण सम्पन्न भएको छ । यो भ्रमणको एउटै ठूलो उपलव्धि भनेको नेपालको आर्थिक प्रगतिका लागि चीन सघाउन तैयार भएको छ र राष्ट्रपति सीले भनेका छन्– नेपालले भूपरिबेष्ठित भएर बस्नु पर्दैन, भूजडित देश बनाउन हामी मद्दत गर्छौं ।
सीको सम्मानमा आयोजित रात्रिभोजमा राष्ट्रपति सीले नेपालका लागि यति ठूलो उपहार दिएका छन् ।
हुन त चीनले पहिले पहिले धेरै उद्योगहरु खोलिदिएको थियो, हामीले ती उद्योगहरु कौडीका भाउमा बेच्यौं, यहाँसम्म कि एयरपोर्टबाट कालिमाटीस्थित होटल सोल्टी जाँदा राष्ट्रपति सीले चीनले बनाइदिएको ट्रलीबसका डिब्बा, पोल, असरल्ल तारहरु हेरेका थिए । चीनले नेपालीको चरित्र बुझेका छन् र उनले कुनै उद्योग खोलिदिनुभन्दा पनि नेपालमाथि कुनै नाकावन्दी नहोस्, जनताले दुःख भोग्नु नपरोस भनेर भूजडित देशको दर्जामा नेपाललाई निकास दिने घोषणा गरेर ठूलै गुण लगाएका छन् । नेपालीले उनलाई धन्यवाद दिएका छन् । हुन त चीनले ५६ अर्व नगद अनुदान दिने घोषणा पनि गरेको छ, यो घोषणा आउनासाथ समाजमा प्रतिक्रिया आयो, खूब खानेभए नेताहरुले । भ्रष्टाचार गर्न सजिलो हुनेभो ।
यसबाट थाहा हुन्छ, नेपाली नेताहरुप्रति जनतामा कुन प्रकारको नैरास्यता र अविश्वास छ । नेता भन्ने वित्तिकै भ्रष्टाचारको लेवल लाग्छ ।
चीनले रेलमार्गको अध्ययन, सुरुङमार्गदेखि कृषिसम्मका अनेक विषयमा सघाउने वचन दिएको छ । चीनले वचन दिएपछि पूरा गर्छ, यो चीनको विश्वसनीयता कायम छ । बरु नेपालले नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने र नेपालको एकचीन नीतिप्रति कायम छ भन्ने वचन व्यवहारमा पूरा गर्ला कि नगर्ला, त्यसको यकिन गर्न गाह्रो छ । किनकि जुन देश समुद्रसँग जोडिएकै छैन, त्यो देशका परराष्ट्रमन्त्री अमेरिका पुगेर इण्डो प्यासिफिक रणनीतिको नेपाल साझेदार बनेर आउँछन् ।
राष्ट्रपति सीले यसरी वचन दिएका छन्– हामी चीन–नेपाल सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन सुरु गर्नेछौं। अरनिको राजमार्गको सञ्चालनलाई सुनिश्चित बनाइ त्यसलाई विभिन्न चरणमा स्तरोन्नति गर्नेछौं । केरुङदेखि काठमाण्डूसम्मको सुरुङ मार्गको परियोजनालाई अगाडि बढाउन हामी सक्रिय हुनेछौँ । बढीभन्दा बढी नाकाहरू खोली हिमाल वारपार बहुआयामिक सञ्जालको निर्माण गर्नेछौँ र नेपालको भूपरिवेष्टित देशबाट भू–जडित देश बन्ने सपना साकार तुल्याउन मद्दत गर्नेछौं ।
राष्ट्रपति सीले नेपाल र चीनबीच कुनै समस्या नभएको र मित्रता मात्र कायम रहेको विशिष्टताको कुरा पनि गरे । नेपालसँग मिलेर मैत्रीपूर्ण रणनीतिक साझेदारी स्थापना गर्ने निर्णय गरेको जानकारी पनि दिएका छन् । यसको व्याख्या बिस्तारै आउला ।
सीले स्पष्ट पारेका छन्– वर्तमान अवस्थामा आत्मरक्षावाद, एकलवाद र प्रभुत्ववाद धेरै व्याप्त छ, हामीले बहुलवाद र आर्थिक भूमण्डलीकरणलाई समर्थन गर्नुपर्छ । जलवायु परिवर्तनप्रति नेपाली पक्षको विशेष चासोलाई चिनियाँ पक्षले राम्ररी बुझेको छ । जलवायु परिवर्तन सम्बन्धी वार्ताहरूमा नेपाली पक्षको उपयुक्त माँगलाई हामी पनि समर्थन गर्दछौँ ।
यतिमात्र होइन राष्ट्रपति सीले नेपाल र चीनका वीच साझा खाका बनाउन सकेकोमा सन्तोष प्रकट गर्दै दुबै मुलुकको संयुक्त प्रयासबाट नेपाल र चीनले द्वीपक्षीय भविष्य तय गर्न आह्वान समेत गरेका छन् ।
चीनका राष्ट्रपतिले नेपालको भ्रमण गर्नु, नेपालको सुरक्षित भविष्यका लागि कूटनीतिक तवरले चिन्ता प्रकट गर्नु र नेपालको साहस र हिम्मत बढाउन जुन मद्दत गरेर गएका छन्, त्यो अतुलनीय छ ।
अव नेपाल एक्लो रहेन, आकारले सानो भए पनि चीनले रणनीतिक साझेदार स्वीकार गरेको छ, यसको लाभ नेपालले उठाउन सक्नुपर्छ ।
बाचा गरेका प्रतिवद्धताहरु पूरा गरिएनन् र राष्ट्रपति सीको सन्देशको पालना हुन सकेन भने यसबाट नेपाललाई नै घाटा हुनेछ । जुन जोखिममा नेपाल छ, त्यसबाट सकुशल अवतरण गरिदिने साथ चीनले दिदादिदै अन्य विदेशीको बुई चढेर चीनको विश्वासमा घात गरियो भने अन्ततोगत्वा आफैमाथि घात हुनेछ ।


