काठमाडौं । नागरिकता र नेपालका लागि नेपालीका अभियन्ता बरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी अहिलेको आवश्यकता राजसंस्था नै हो भन्ने निष्कर्षमा पुगेका छन् । उनकै शव्दमा– संविधानभित्र शाहबंशीय राजसंस्था अपरिहार्य छ । उनले भेटवार्ता र एक अन्तर्वार्तामा भनेका छन्– म नेपालको आवश्यकता देखेर राजसंस्थाको पक्षमा उभिएको हुँ । यसको विकल्प छैन ।
किन भन्ने जिज्ञासामा उनको भनाइ छ– राष्ट्रपतिको भूमिका निष्पक्ष भएन । दलले पत्याएको दलभित्रको व्यक्ति राष्ट्रपति छन् । यो अवस्था भनेको राष्ट्रिय मुद्दामा अडान राख्न नसक्ने राष्ट्रपतिको भूमिका हो । यस्तो प्रणालीले राष्ट्रिय मुद्दाहरुमा निकास दिन सक्दैन ।
म राजाबादी होइन भन्दै अधिवक्ता सुरेन्द्र भण्डारीले आफूलाई यसरी प्रष्ट पारेका छन्– राजावादी भनेको सविधानभन्दा माथि राजाको शासन हो । म त्यो प्रणालीको विरोधमा छु । संविधानभन्दा माथि, राजनीतिक शक्ति भएको राजा मान्दिन । संविधानभित्रको राजा मान्ने हो । एकताको प्रतीक भएर बस्छ, कुनै राजनीति गर्दैन । जस्तो जापानको राजतन्त्र । नेदरलेण्डको राजतन्त्र । हामीले खोजेको राजतन्त्र त्यस्तो हो । राष्ट्रिय एकता, स्वाधीनता र मूलभूत राष्ट्रिय मुद्दामा बाहेक उसको भूमिका कतै पनि कुनै रुपमा देखिदैन, हुँदैन ।
राजा, हामीले चाहेको नेपाल निर्माताको बंशज हो । यो स्थायी संरचना हुन्छ र त्यो स्थायी बंशीय परम्परा र नियमितता हुनुपर्छ । दलीय संरचनाले राष्ट्र कमजोर भयो । मुलुक बनाउनेले मुलुक जोगाउँछ, त्यो बंशज चाहिन्छ ।


