काठमाडौं । आलोचना गर्नेमाथि अरिंगाल ओइराएर चिल्न थालेको ओली सरकार मधेश अलग देश हुन्छ भनेर संविधानमा सही गर्ने दल बुर्लुक बुर्लुक उफ्रन थालेको छ, त्यस्तालाई छुट दिएर किन उत्साहित पारिरहेका छन् ?
राजपाका नेता महन्थ ठाकुरले जनकपुरबाट संविधान संशोधन नगरे मधेश अलग देश हुनसक्ने चेतावनी दिएका हुन् । ठाकुरले मधेशको हक अधिकारका लागि राज्यले बेवास्ता गर्दै आएकाले सरकार तत्काल सचेत र गम्भिर होस्, मधेशी, थारु, आदिवासी जनजातिका अधिकार खोसिएका छन् । अहिलेको संविधान हाम्रो होइन, यस्तै रहेमा हामी मधेशलाई अलग देश पनि बनाउन सक्छौँ । स्मरणीय छ, संविधानसभा रहेकै बेलामा यिनले एक मधेश एक प्रदेश नभए, एक नेपाल पनि रहनेछैन भनेका थिए । यिनीमाथि कसैले लगाम नलगाएकाले अझ हौसिएर यिनले नेपालमा बहुल राष्ट्रवाद भएको हल्लाखल्लासमेत मच्चाएका थिए ।
तैपनि राज्यले यिनलाई छुटैछुट दियो, मानौं बिखण्डनको बिगुल जति बजाए पनि हुन्छ बजाउ भनेर देश फोड्नका लागि प्रोत्साहन गरेको होस् ।
संविधानमा जनताको अवधारणा र मन्थन कार्यक्रम थियो, बक्ता थिए महन्थ ठाकुर । मुख्यमन्त्री लालबाबु राउतले वर्तमान संविधान मधेशी, उत्पीडित, महिला, दलित, मुस्लिमलगायतका हक र हित समावेश छैनन्, यसैले यो संविधान सर्वस्वीकार्य छैन भने । मन्त्री सहभागी कार्यकार्यक्रममा संविधान जलाइयो, यो संविधानलाई कालो भनियो र संविधानले दिएको रासन खाएर संविधानबिरुद्ध बान्ता गरियो । संविधान मान्ने, पदमा बस्ने अनि संविधानप्रति असन्तुष्टि पोख्ने, अनि संविधान अलोकप्रिय नभए के हुन्छ ? सत्तामा रहेका उपप्रधानमन्त्री उपेन्द्र यादव संविधान संशोधनको माँग गरिरहेका छन् भने राजपाले त सरकारलाई दिएको समर्थन फिर्ता लिइसक्यो । अव संविधान संशोधन नभए ठूलै मूल्य चुकाउनु पर्ने धम्की दिनथालेका छन् ।


