'राष्ट्रिय संकटसँग जुध्न भिजनरी नेतृत्वमा राष्ट्रिय सरकार गठन गरौं'– संसदको रोष्टममा उभिएर बाबुराम भट्टराईको माग यही हो। भिजनरी नेतृत्व भनेको को हो? बाबुरामले प्रस्ताव गर्न सकेनन्। संसदभित्र भिनजरी नेतृत्व भएको भए आफैले पास गरेको संकल्प प्रस्तावलाई व्यवहारमा उतार्न छाडेर सत्ता परिवर्तनको माग किन गर्थे बाबुरामले र एमाओवादी र एमालेहरुले त्यही स्यालहुइयामा किन लाग्थे? राहत दिन अघि सरेका प्रचण्डको राग पनि यही हो। एमाओवादीको मुखैमा झुण्डिएको छ अव धेरै लोभ नगरौं, क्षमता भएको व्यक्तिलाई अवसर दिउँ। कुन क्षमताको कुरा हो? विपत्तिमा परेका जनतालाई आएको राहत लुट्ने क्षमता?
महाभूकम्पपीडितसम्म जान नसक्ने, तिनका लागि केही लान नसक्ने र तिनका नाममा सत्ता परिवर्तनको षडयन्त्र गर्ने क्षमता? प्रशासन आफै विभेदमा लाग्यो, सुशासन समाप्त भएको अवस्था छ, विदेशी चलखेल बढेर गएको छ, यी सबै तमासा हेर्ने क्षमता? 'बुढो गोरु र संसदका नेतामा के फरक छ?' तैपनि यिनीहरु भिजनरी नेतृत्वमा सरकार गठन गरौं भन्दैछन्। मुलुक महासंकटमा छ, संकट मोचनका लागि संकल्प प्रस्ताव गरेर नेतृत्व परिवर्तनमा लाग्ने यिनै नेता हुन् भिजनरी नेतृत्व भनेको? महाभूकम्पको महाविपत्ति झेल्न भिजनरी नेतृत्वको नयाँ सरकार चाहियो। के भनेको यो? भिजन हुनेले विपत्तिमा परेका जनताको मनोवल उठाउन र तिनको जीवनरक्षा गर्नका खातिर जुट्छ कि सत्ता परिवर्तनमा? स्वयं बाबुराम भन्छन्: जनताको पीडाको संवोधन गर्न सकिएन, हामीप्रति आशा र विश्वास टुटेको छ। सुशील सरकार त नालायक भयो भयो, त्यो सरकारलाई जिम्मेवार बनाउने कि सरकार नै फेर्ने? कालो मन लिएर धोती फेर्दैमा चोखो हुने बाबुरामको कला गज्जबै देखिन्छ। सरकार होइन नेताजीहरु, आफूभित्रको स्वार्थ परिवर्तन गर्नोस्। कति हाल्ने जनताको आँखामा छारो? सुशील कोइराला नालायक भए भन्दैमा बाबुराम भट्टराईको बेमौसमको बाजा कसरी लायक हुनसक्छ र?