लीला दाहाल, चितवन -
हिन्दु पौराणिक धर्मका विभिन्न चाडहरु मध्ये हरितालिका हिन्दु नारीहरुले मनाउने एउटा महत्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाईन्छ । दर खाने दिनबाट सुरु हुने यस दिनमा महिलाहरुले मीठा मीठा परिकारहरु बनाएर खाने गर्दछन् । सामान्यतया दर मध्ये रात १२ बजे खाने चलन छ । भोलिपल्ट दिनभर पानीसम्म पनि नखाई व्रत उपवास बस्नुपर्ने हुनाले र राती ढिला सम्म बसेर खाने गरिएको हो । पहिला दरमा घरमा बनाइएको अनतीको चामलको लट्टे, काक्राको अचार, सेलरोटी जस्ता परिकारहरु बनाएर खाने गरिन्थ्यो । आज भोलि महिना दिन अघि देखि नै बजारमा बनेका विभिन्न मिठाईहरु खाने गरिन्छ । दोश्रो दिन महिलाहरु नुहाईधुहाई गरी शिवजीको मन्दिरमा पूजा गरी निराहार व्रत उपवास बस्ने गर्दछन् । दिउँसो दिदीबहिनी भेला भई सुखदुःखको गीत गाउँछन् । बेलुकीपख गाउँ, घर छिमेकका महिलाहरु भेला भई शिवको आरधना गर्ने प्रचलन छ । यसै गरी व्रत बस्ने दिनको अतिरिक्त गणेश चतुर्थी र ऋषि पञ्चमी पनि तीज भित्र पर्दछन् । ऋषि पञ्चमीको दिन सप्तऋषिको पूजा गरी बौद्धिक सनातन हिन्दु धर्मावलम्बी नारीहरुले मनाउँछन् । विहान उठेर नारीहरु नजिकैको नदी, खोला, तालतलैया, पोखरीमा गई ३६५ दत्युनले दाँत माझी गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् । रजस्वलाको समयमा छुवाछुत लगायत कुनै त्रुटि भएको भए सप्तऋषिको पूजा गर्नाले मुक्ति पाइन्छ भन्ने विश्वास छ ।
भवित्तेश्वर पुराणमा भनिएको छ ः भगवान् इन्द्रले त्वष्टा ऋषिको छोरा वृत्तासुरलाई मारेपछि ब्रह्माजीले भगवान इन्द्रले गरेको पापलाई मोचन गर्न त्यो पापलाई चार ठाउँमा बाडिदिए । जस अनुसार पहिलो पापको कुल्ठो अग्रिको धुँवा मिश्रित ज्वालामा दोश्रो नदीहरुमा बग्ने फिज भएको वर्षातको जलमा, तेश्रो पहाड पर्वतमा भएका रुखमा उम्रने तथा सेपमा बसेको ढुंगाको काइको रुपमा तथा चौथो नारी जातीहरुको रजस्वलाको रुपमा यस कारण मासिक धर्मका समय लाग्ने पापहरुको निवृत्तिको लागि यो व्रत महिलाद्धारा गर्ने चलन बसेर आयो । यो पौराणिक कर्म हो, यसका उपद्रष्टा ऋषि सवरताना हुन् । उनैले दिएको सल्लाह र निर्देशन अनुसार यो व्रत बस्ने चलन चलेर गएको हो । मध्यान्ह कालको स्नान रेशमी कपडाको पहिरन, शाहाकारी भोजन विशेष गरी हलो कदालाले नजोती नखनेको जिनिशको भोजन ऋषि पत्नी अरुन्धन्ती सहित सप्तऋषिहरुको पूजा यस व्रतको विशेषता हो ।
सात घडा, सात ब्राह्मण जसलाई अन्त्यमा ऋषिहरुको सातै प्रतिभा प्रत्येकलाई पुग्ने गरी दान दिइन्छ । यदि सबै ऋषिहरुको आह्वान एउटै कलशमा गरिएको छ भने त्यो कलश एउटा ब्रह्माण्डलाई तथा अन्यलाई ऋषि प्रतिमा सहित ब्रस्तहरु दक्षिणका रुपमा दिनुपर्दछ । पारिवारिक सुख शान्ति, आरोग्यता, धनधन्य, असल सन्तान, वैरभ र विजयी प्राप्तिको लागि तथा महिला महिनावारीको समय, स्त्री र पुरुषद्धारा परिवारमा जानेर नजानेर हुन पुगेका त्रुटिहरु र गरिएका पाप कर्म निवारणको लागि नेपालमा यो व्रत नेपालमा गरिने चलन चलेको हो । शास्त्रले यो व्रत स्त्री र पुरुष दुवैले लिनुपर्ने बताएको भएता पनि नेपाली समाजमा चाहिँ महिलाले मात्र यो व्रत लिने गरेको देखिन्छ । यस दिन व्रतालुहरु कुनै पवित्र नदी नाला, तलाउ वा घरमा गंगाजल मिश्रित पानीले नुहाएर घरको कुनै सफा ठाउँमा गाईको गोबरले लिपेर तामाको पूर्ण कलश अष्टदलमा स्थापना गरी सप्तऋषिहरुको प्रतिमालाई पञ्चामृत स्नान गराएर सेता वस्त्र, सेता फूल, अक्षता दूध, दही, ध्यू, मह, चिनी नैवेद्य जनै आठवटा पान, सुपारी जस्ता सामाग्रीहरु तयार पारी गर्ने गरिन्छ । वरिष्ठ ऋषिकी पत्नी अरुन्धन्तीको पूजा गर्दा स्त्री वर्गले सौभाग्य सामग्रीहरु अर्पण गर्नुपर्दछ । ऋषि पञ्चमीको पूजा सामग्रीमा बेलपत्र नभई नहुने पूजा सामग्री हो । यस व्रतमा व्रतीले हलोले नजोतेको कोदालोले नखनेको साग, प्रयोग गर्नु भन्ने वचन रहेकाले नेपाली समाजमा पूजा सकिएपछि कर्कलाको साग, समाको भाग खाने चलन छ । यस व्रतमा साग, कन्दमुल, फलफूल बाहेक अरु कुरा खाइन्न । ब्रह्माचार्यमा रहनु यसको अनिवार्य नियम हो । पारिवारिक आनन्द, सौभाग्य बुद्धि अज्ञात पापबाट मुक्ति शारीरिक सौन्दर्य सद्विचारी छोराछोरीको प्राप्ति हुन्छ भन्ने कुरा धार्मिक विश्वास रहेको छ ।
यसरी तीज मनाउनमा धार्मिक पृष्ठभूमि पनि रहेको छ जस अनुसार पार्वतीलाई पर्वत राजाले भगवान विष्णुसित विहे गरिदिने कुरा गरे तर पार्वतीलाई यो कुरा मन परेन । उनीले भगवान् शिवलाई पतिको रुपमा पाउँ भनी घर छोडेर जंगलको एकान्त ठाउँमा तपस्या गरी बसे । छोरी हराए पछि पर्वत राजा भावविह्वल भनेर छोरी खोज्न निस्किए । छोरी कडा तपस्यामा बसेको देखेर राजाले किन यसो गरेको भनी सोधे । उनले आफ्नो मनबाट नै शिवलाई पति मानेको र अरुसित बिहे गर्न नसक्ने कुरा बताइन् । यो कुरा सुनेर पर्वत राजाले पार्वतीको विहे शिवजीसँग गरिदिएँ । उनले भाद्र शुक्ल पक्ष तृतीयाको दिन व्रत उपवास बसी शिवलाई पाएको हुनाले यस दिन अहिले पनि व्रत उपवास बसी पूजा गरेमा आफूले रोजेको पुरुषलाई पतिको रुपमा पाउने र विहे भइसकेहरुको पतिको आयु बढ्ने भनाइ रहेको छ ।
अहिले सामाजमा तीज पर्वको महत्वपूर्ण पक्षहरु छन् । हामीले व्रतउपवास बस्दा फाइदा पनि छ । यसले मानिसलाई शारीरिक रुपमा स्वस्थ र रोगमुक्त हुनु सहयोग पु¥याउँछ । बेला बेलामा उपवास बस्नुले शरीरको स्वास्थ्यमा सुधारगत परिवर्तन आउँछ । ध्यान मग्न भई बस्ने उपवासले मानसिक पवित्रता र स्वच्छता सिकाउँछ । यो एउटा वैज्ञानिक पाटो हो । अर्को महत्वपूर्ण पाटो मानसिक फाइदा हो । तमाम महिलाहरुमा पर्ने मनोवैज्ञानिक प्रभावमा ध्यानपूर्वक परिश्रम र धैर्यता हो । परिपार्वतीले जसरी ध्यान अनि धैर्य गरी लगनशील भई उद्देश्य प्रति लागेमा खोजेको कुरा प्राप्त अथवा उद्देश्य हाँसिल अवश्य हुन्छ भन्ने कुराको प्रमाणित हुन्छ । हरेक मानिसले गर्ने जुनसुकै काममा पनि यस्तो तपस्या त्याग र योगदानको जरुरी अवश्य छ । यही मार्ग नै सफलता प्राप्त गर्ने कडी हो । त्यस्तै धर्मको उद्देश्य आत्मअनुशासन नै हुनाले दैविक शक्तिको ध्यान र भक्ति गर्नाले आफूलाई अनुशासित बनाउन सहयोग गर्दछ । जुन अर्को सकारात्मक पक्ष हो । यसै गरी यसले अन्य पारिवारिक सामाजिक र साँस्कृतिक फाइदाहरु बोकेको हुन्छ । विहे गरेर टाढा टाढा भएका दिदीबहिनीहरुको माइत आएर आफ्ना आमा बुवा इष्टमित्र साथीसंगीसित भेट्नाले घर माइतको सम्बन्धलाई पुनःनविकरण गर्दै झन् गाढा सम्बन्ध बनाउँछ । वर्षभरिको आपसी रिक्तता मनमुटाबलाई समेत सफा गर्ने अवसर मिल्दछ । त्यसै गरी सरसफाई, नुहाईधुवाई गरी चोखा कपडाले राम्रै प्रभाव पार्दछ । सबै भेला भएर नाँचगान गर्नु र मीठो भोजन गर्नुले एकआपसमा सहयोग, सद्भाव समधुरता बढाउँछ । वर्षभरि मनमा दबिएका पीडा, मर्म, वेदना र दुःखका थुप्राहरु गीत संगीतको माध्यमबाट प्रस्तुत हुने हुँदा मानसिक शान्ति मात्र होइन सिर्जनशीलता र मौलिकताको पनि विकास हुन्छ ।


