काठमाडौं । रअका चिफसहितको टिमले नेपालको नाडी छामेर फर्कनासाथ नेपाली कांग्रेसका नेता प्रदीप गिरीले मौका पायो भने भारतले नेपाललाई हडप्छ भनेर संसदको समितिमै मुख फोरे ।
त्यसको लगत्तै भदौ ४ र ५ गने भारतका विदेशमन्त्री एस जयशंकर नेपाल आए र प्रधानमन्त्री केपी ओलीले मर्यादा नाघेर एक घण्टा गोप्य वार्ता गरे । किन ?
५ गते भारतीय विदेश मन्त्री फर्कनासाथ पाकिस्तानका विदेशमन्त्री कुरेसीले काश्मिर मामिलामा भारतको बिस्तारवादप्रति नेपालको प्रष्टताको माँग गरे । नेपाल सार्कको अध्यक्षको हैसियतले पनि नेपालले जवाफ दिनुपर्ने हो तर नेपालले काश्मिर मामिलामा नजिकबाट नियालीरहेको वचन दोहो¥याएको छ । नेपालमै मधेशवादी पार्टीहरुले समेत यो नजिकबाट नियालीरहेको भनेको के हो ? कहिलेसम्म नियाली रहने भनेर सरकारको जवाफ माँग गरेका छन् ।
यति नै बेला असोज ३ गते संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउने र त्यस दिवसको प्रमुख आतिथ्इका लागि प्रम ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्तो पठाएको खबर सार्वजनिक भएको छ ।
अमेरिकी र नेपाली सेनाको सैनिक अभ्यासदेखि इण्डो प्यासिफिक रणनीतिमा नेपाललाई गाँस्दै लगिएको सन्दर्भमा नेपाल अन्तर्राष्ट्रिय चक्रव्यूहमा फस्दै गएको छ र नेपालको विदेश नीति कमजोर साबित हुँदै गएको छ ।
यसैवीच चीनका विदेश मन्त्री वाङ यी यही भदौ २९ गते नेपाल भ्रमणमा आउने मिति तय भएको छ र उनको यो भ्रमणलाई नेपालको इतिहासमै महत्वपूर्ण ठानिएको छ ।
वाङ यीको भ्रमण भारत, अमेरिका, युरोपलगायतको नेपालमा रणनीतिक दबाब र प्रभाव बढ्न थालेकोमा त्यसलाई सन्तुलन गर्नमात्र महत्वपूर्ण छैन, चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण निश्चित गराउनका लागिसमेत महत्वपूण मानिएको छ ।
चीनका राष्ट्रपतिको नेपाल भ्रमण हुनु भनेको चीनको बिआरआई वान बेल्ट वान रोडको प्रचारमात्र होइन, नेपालमा चीनको पनि चासो छ भनेर भारत र अमेरिका तथा युरोपलाई जवाफ दिने र नेपालको सार्वभौमिकतामा नै चीनको सुरक्षा पनि गाँसिएको छ भनेर प्रष्ट पार्नु रहेको कूटनीतिक विज्ञहरु बताउन थालेका छन् । दक्षिण एसियामा नेपाल चीन, भारत, पाकिस्तान, अमेरिका, युरोपमात्र होइन, स्केण्डनेभियन मुलुकहरुको समेत दबाबमा पर्न थालेको छ, नेपालको परराष्ट्रको जिम्मा भने कोरा व्यक्तिको नेतृत्वमा छ ।
प्रधानमन्त्री ओलीको लामो स्वास्थ्योपचारले चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण पर सर्नसक्छ । पर वा वर जे सुकै भए पनि चिनियाा चासो नेपाल र बाँकी विश्वका लागि नेपालबाटै उजागर हुनेछ र नेपालले पञ्चशीलको आधारको कूटनीति परिपक्वता देखाउने राम्रो अवसर जुरेको छ । एक व्यक्तिको स्वास्थ्यसँग देशको स्वास्थ्य स्वस्थ र सार्वभौमिकता बलियो पार्ने अवसरलाई नेपालले उपयोग गर्नैपर्छ । यसका लागि विज्ञ, विशेषज्ञहरुको टोली बनाएर अहिलेदेखि नै होमवर्क गर्न जरुरी छ ।
नेपाल राष्ट्र जसले जसरी पनि खेलाउने फूटबल होइन, नेपालको अस्तित्व र सतित्व रक्षा र नेपालीत्वको सुरक्षाका लागि नेपाली माटोमा उभिने र जटिलता सहजीकरणको मौका छ ।


