रवि लामिछानेमाथि मुद्दा दर्ता भएपछि एकजना महिलाले भनिन्– ‘रविदाइले धेरै महिलाको जीवन बचाउनुभएको छ । उहाँलाई नै सरकारले यस्तो गरेपछि अब भोलि मलाई केही भयो भने कसले बचाउँछ ?’
रविको समर्थनमा पोखरा, बुटवल, चितवनपछि काठमाडौंमा समेत ठूलो जुलुस निस्क्यो र नारा लगायो– अव हाम्रो प्रधानमन्त्री रवि लामिछाने । यो भीड बोलेको कि भरोसा ?
लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, संविधान, दुई तिहाइको प्रधानमन्त्री अथवा कुनै मन्त्रीका लागि यसरी जनमानस घरघरबाट सडकमा निस्केको छैन । फेरि एकाएक रवि लामिछानेमाथि यति ठूलो जनसमर्थन किन उर्लियो ?
सरकारको, संसदको, सांसदको र मन्त्रीहरुको व्यापक आलोचना गर्ने जनमानस एउटा सञ्चारकर्मी रविको पछाडि यसरी मर्न तैयार छौं भनेर किन प्रदर्शन गरिरहेका छन् ? के अव देशका शासक, प्रशासन, अदालत, प्रहरी भन्दा पनि टीभी पत्रकारमाथि यति ठूलो भरोसा गर्नु पर्ने कारण के के होलान् ? रवि लामिछाने एउटा सञ्चारकर्मीको समर्थनमा ऐ्तिहासिक प्रदर्शन देशैभरि, यो लोकप्रियताले सरकारलाई समेत प्रहसनको विषय बनाइदियो । घाम चर्केको होस् कि दर्केको झरी होस् । मानव सागर सडकभरि । राजनीति भ्रष्टाचार र अपराधिकरणमा रमाउन थालेपछि जनतामा जुन नैराश्यता छाएको थियो, सञ्चारकर्मीको कामले उसलाई जननेताको समर्थन प्राप्त हुनेरहेछ भन्ने अलौकिक दृश्य देखियो । पार्टीले पैसा र नारा लेखेर दिन्थे, खेताला जुलुसले त्यही नारा लगाउँथे, रविको मुद्दामा यो सब मिथ्या साबित भएको देखियो ।
चितवन, पोखरा, बुटवल, राजधानीमा जुन मानवसागर उर्लियो र सरकारविरुद्ध चर्को नारावाजी गरेको सुनियो, यसबाट प्रष्ट हुन्छ, सरकारप्रति जनताको भरोसा सकिएछ । निर्मला बलात्कार र हत्याकाण्डपछि अनेककाण्डहरु घटेका छन्, कुनै पनि राज्यले निष्पक्ष छानबिन नै गरेन, जनआवाज नै सुनेन । अव जनतामा राज्यले सत्यतथ्य छानबिन गर्छ भन्ने विश्वास सकिएको प्रमाण हो जनताको जुलस र सरकारविरुद्धको चर्को नारावाजी ।
शालिकराम पुडासैनीले आत्महत्या गरे कि उनको हत्या भयो ? भीडले निष्पक्षता रिपोर्टको माँग गरेको छ । हत्या कि आत्महत्याको टुङ्गो नै नलागी पूर्वाग्रही काम कारवाही देखिदा समाजका हरेक तह र तप्काले राज्यको भत्सर्ना गरे । रविले वैदेशिक रोजगारीमा अन्यायमा परेकालाई उद्धार गरे, अन्याय गर्नेलाई कारवाही गर्न सघाए । भ्रष्टाचारको खेदो खने । अख्तियार, प्रहरी, अदालत, राज्यले गर्नैपर्ने काम रविले गरेका उदाहरणले पनि रवि जनताका आँखाका नूर बनेका रहेछन् । जनता न्याय चाहन्छन् भन्ने यो सिख सरकारले सिक्न जरुरी छ । केही टीभी कार्यक्रम चलाउँदा रवि हिरो बन्न सक्छन् भने सिंगो मुलुक हाँक्ने नेकपाले न्यायपूर्ण काम गर्न सकेको भए कति हाई हाई हुने रहेछ । एउटा बेनिभोलेन्ट नेता अग्रसर हुने हो भने जनताको साथ पाउने र देशले काँचुली फेर्ने रहेछ भन्ने यो उदाहरण पनि हो । नयाँ नेपाल बनाउँछु भन्नेहरुले रविबाट सिकुन, जनताको प्रदर्शनबाट प्रेरणा लिउन् ।
रविका अँध्यारो पाटा होलान्, तर आज देशको माँग उज्याला काम हुन् ।


