Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

प्रधानमन्त्रीको स्वास्थ्य रहस्यमय

०२ सोमबार , भाद्र २०७६७ बर्ष अगाडि

काठमाडौं । प्रधानमन्त्री केपी ओली भोलि फेरि सिंगापुर जाने भएको कुरा नेकपाका नेताहरु नै बताउन थालेका छन् । नेपालमा उपचार सम्भव नभएपछि डाक्टरसहित साउन १८ गते सिंगापुर गएर २७ गते स्वदेश फर्केका प्रधानमन्त्री भदौ ४ गते पुनः सिंगापुर जानुको कारण जनताले थाहा पाउनु पर्ने कि नपर्ने ? यसरी गुपचुपमा विदेश भ्रमण गरिरहनुले अनेकथरि आशंका बढ्छ, जसले दुई तिहाइको सरकारको विश्वसनीयतामा प्रश्न खडा हुन्छ ।
१८ गते सिंगापुर जाँदा पूर्वराजा थाइलेण्डतिर, प्रचण्ड दुवईतिर, प्रधानमन्त्री सिंगापुरतिर र कांग्रेसका महासचिव सशांक कोइराला पनि उतै लागेपछि राजनीतिमा केही न केही खिचडी पाक्दै गरेका अनेक आशंकाहरु उठेका थिए । नेपाल फर्केपछि अस्ती आइतवार संसदमा बोल्दै प्रम ओलीले प्रतिगमनको सपना नदेख्न र अर्को चुनावसम्म सत्ताका आकांक्षीले धैर्य गर्न भनेपछि आशंका किनारा लागेको हो ।
सिंगापुरबाट फर्केको ९ दिनमै प्रधानमन्त्री पुनः सिंगापुर जानुपर्ने एउटै कारण हो, उनको स्वास्थ्य अवस्था । प्रधानमन्त्रीको स्वास्थ्यका बारेमा जनताले थाहा पाउनैपर्छ र सरकारले स्पष्ट पार्नैपर्छ । के प्रधानमन्त्रीको स्वास्थ्य सोचेभन्दा बढी गम्भीर छ ? नेपालमा ठूला ठूला उपचार सम्भव भइसकेको स्थितिमा प्रधानमन्त्रीले विदेशमै जानुको कारण पनि गम्भीर नै हुनुपर्छ । हाम्रा स्रोतका अनुसार सिंगापुरका डाक्टरहरुले दिएको औषधिले राम्रो काम नगरेको र थप संक्रमण देखिएकाले प्रम ओली भोलि सिंगापुर जाने कार्यक्रम तय भएकोे बताइन्छ ।
केपी ओलीले आफ्नै नातेदारमहिलाको मिर्गौला २० वर्ष अघि फेरेका थिए । फेरेको मिर्गौलाले २० वर्षपछि ाएर साबुत काम गनै नसकेपछि उनी पुनःप्लान्ट गर्ने कि यसैलाई स्वस्थ बनाउने भन्ने उपचारका लागि सिंगापुर गएका थिए र डाक्टरहरुले औषधि परिवर्तन गरिदिएका थिए । परिवर्तित औषधिको साइड इफेक्ट देखिन थालेपछि प्रम ओली पुनः सिंगापुर उपचारका लागि जान लागेको बताइन्छ ।
भदौ ५ गते सिंगापुरमा प्रम ओलीको स्वास्थ्यको बिस्तृत जाँच हुने तालिका छ । स्रोतका अनुसार भारतका विदेशमन्त्री एस जयशंकर ४ गते नेपाल भ्रमणमा आउने र उनीसँग भेटवार्ता गरेपछि रातिको उडानबाट प्रधानमन्त्री सिंगापुर उड्नेछन् ।
कार्यकारी प्रधानमन्त्री अस्वस्थ हुनु देशका लागि गम्भीर विषय हो । स्वस्थ राष्ट्रका लागि स्वस्थ सरकारको नेतृत्व अपरिहार्य मानिन्छ । त्यसै पनि सरकारका १८ महिने कार्यकालमा लोकप्रिय एउटा पनि काम हुनसकेको छैन । नेकपाको साख ह्रासोन्मुख हुँदै गएको छ । तत्काल राम्रो काम निर्णय गरेर सुशासन दिने प्रयत्न नगर्ने हो भने जनतामा बढेको नैराश्यताले उग्ररुप लिनसक्ने देखिन्छ । संसदमा अर्को चुनावसम्म पद नछाड्ने संकेत गरेका प्रधानमन्त्री यसरी १५–१५ दिनमा उपचारका लागि विदेश जान बाध्य हुनुले समृद्ध नेपाल र सुखी नेपालीको सपना कसरी कार्यान्वयन हुनसक्ला ? अर्को परिवर्तनको हावा चलेकै मान्ने त ?