काठमाडौं । नेपाललाई पश्चिमाले रणनीतिक मैदान बनाउन थालेपछि चीन र भारतको नेपालनीतिमा परिवर्तनका पर्दाहरु बिस्तारै उघ्रिन थालेका छन् ।
नेपालको हिम्मत बढेमात्र चीन र भारतका लागि नेपालले सुरक्षा कवचका रुपमा काम गर्नसक्ने निष्कर्षमा पुगेर अरु विषयमा बिबाद भए पनि नेपालनीतिमा चीन र भारतले एकविचार राख्न थालेका हुनसक्छन् ।
चीनका राष्ट्रपति यसैवर्ष नेपाल आउने होमवर्क सुरु भइसकेको छ । भारतका प्रधानमन्त्रीको भ्रमणका लागि भदौ ४ गते मन्त्रीस्तरीय बैठकको आवरणमा विदेशमन्त्री डा.एस जयशंकर विशेष सन्देशका साथ आउँदैछन् ।
यसअघि मोदीका निकट सहयोगी तथा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल हिन्दुराष्ट्र हुनुपर्छ भनेर हिन्दुहरुलाई पोषण प्रदान गरिसकेका छन् भने त्यसपछि मोदकिा अन्य विशेष सहयोगीहरु सुव्रमण्यम स्वामी, विजय चौथाइवालसमेत नेपाल आएर हिन्दुराष्ट्रको लागि प्रोत्साहित गरिरहेको अवस्था छ ।
यद्यपि नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने तर हिन्दुराष्ट्रका लागि हुने क्रियाकलापमा स्वागत गर्ने जनाउ दिएका छन् । भारतीय प्रधानमन्त्रीको दोस्रो कार्यकाल सुरु हुनासाथ नेपालमा निरन्तर भारतीय नेताहरु आइरहेका छन् र नेपाल हिन्दुारष्ट्र हुनुपर्ने विषयमा बोलिरहेका छन् । यसरी भाजपाका नेताहरुले बोलीभित्र मोदीको योजना बुझ्न सकिन्छ ।
यसैवीच रअका प्रमुख सामन्त गोयल, उपप्रमुख, निर्देशक र पूर्व नेपालचिफसमेत नेपाल आएर प्रधानमन्त्री, अर्का नेकपा अध्यक्ष प्रचण्ड, महासचिव विष्णु पौडेल, सल्लाहकार विष्णु रिमाल, अर्का सल्लाहकार राजन भट्टराईसँग समेत विशेष वार्ता गरेर फर्किएका छन् । यसरी टिम नै नेपाल आएर वार्ता गर्नुपर्ने कारण के हुनसक्छ ? यो अति रहस्यमय वार्ताको कारण नेपालमा अर्को परिवर्तनको साइत जुर्दैछ भन्ने बुझ्न सकिन्छ ।
यसरी भेटवार्ता हुनु र जनयुद्धकालमा प्रचण्ड भारतमै बसेर नेपालमा बम पड्काउनुको साइनो पनि जोडिएको देखिन्छ । ओली र प्रचण्ड, नेकपाका अध्यक्षद्वयमाथि भारतको ठूलै लगानी छ, सम्बन्ध पनि पुरानै देखिन्छ । यसकारण भारतीय योजनामा यिनको दायाँवायाँ चलमलाउन सक्ने शक्ति कमजोर भएकाले पनि भारतले चाहेको अर्को परिवर्तनको साइत जुर्दैछ कि ?


