Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

आइजीपी किन कालो निलो

१३ सोमबार , श्रावण २०७६७ बर्ष अगाडि

काठमाडौं । साउन १२ गते आइतवार आइजीपी सर्वेन्द्र खनालले लञ्चसहितको पत्रकार भेटघाटको व्यवस्था मिलाएका थिए ।
यो पत्रकार–प्रहरी भेटको एउटै उद्देश्य थियो ‘समुदाय–प्रहरी साझेदारी ः शान्तिपूर्ण एवं सुरक्ष्ँित समाजको लागि’ काम गरेको प्रगति देखाउनु ।
सुरुमा आइजीपी सर्वेन्द्र खनालले आफू आइजीपी बनेपछि गरेका कामहरुको फहेरिस्तको भिडियो र ब्रिफिङ २ घण्टा लगाएर सुनाए ।
नेपाल प्रहरी हाम्रो प्रहरी हो भन्ने भावना जगाउन स्कूलदेखि विश्वविद्यालयसम्म सहकार्य गरिरहेको, महिलाहिंसा, वालयौन दुराचार, तस्करी लगायतमा प्रहरीले कडिकडाउ नीति लिएको जानकारी पनि दिए । क्लामेट चेन्जदेखि साइबर क्राइमसम्ममा सचेत रहेको, अपहरण, आतंक, गुण्डागर्दीको सातो लिएकोमा आइजीपी खनाल प्रफुल्लित देखिए । प्रहरी र पत्रकार दुबैको काम समाजलाई स्वस्थ राख्नु हो साझेदारी हुनुपर्छ भने ।
चुरो कुरो नेपाल प्रहरी इतिहासमै अधिकतम सफल भएको दावी गर्दै आइजीपी खनालले समाजमा कानुन व्यवस्था कायम राखेको छ, राख्न नेपाल प्रहरी नचुक्ने प्रतिवद्धता व्यक्त गरे ।
विभिन्न मन्त्री, एडीवी, अन्य विदेशी निकायहरुले राम्रो काम गरेको भन्दै पुरस्कार पाएको, प्रमाणपत्र बुझेका क्लिपिङहरु पनि देखाए, पत्रकारहरुले निकै गम्मीर भएर आइजीपी सवेन्द्र खनालका कुराहरु सुने, हेरे ।
जब प्रश्नोत्तरको समय आयो, निकै आक्रामक प्रश्नहरु उठे, केही पत्रकारहरुले प्रहरीको वकालत गरेको पनि देखियो ।
प्रहरीले हप्ता उठाएको, ट्याफिक व्यवस्था गर्न नसकेको, अतिवादी चरित्र देखाएकोदेखि प्रहरीले सामाजिक सम्मान आर्जन गर्न नसकेका विषयहरुको पनि उठान भयो । र, एकाध ठाउँमा राम्रा प्रहरीको कामप्रति जनताले बाजा बजाएको आत्मरती प्रहरी दिमागबाट हट्नुपर्ने देखिन्छ । समष्टिमा प्रहरी ‘नेससरी इभिल’का रुपमा रहेको र प्रहरी समाजमा घुलमिल हुन नसकेकोमा पत्रकारले प्रश्न गरे ।
मुख्य कुरो नेपाल प्रहरीप्रति पत्रकारले नैतिक समर्थन गरेको र सत्य सेवा सुरक्षामा खरो उत्रनु पर्ने सुझाव जुन दिए र आइजीपीले त्यसलाई स्वीकार गरेको अभिव्यक्ति दिए, त्यो चाहिं यो पत्रकार सम्मेलनको उपलव्धि नै मान्नुपर्छ । पत्रकारका सुझावलाई अमल गर्ने हो भने नेपाल प्रहरी पुनः गुमेको साख आर्जन गर्न सक्नेछ । मूल कुरो निर्मला पन्तको बलात्कारपछि हत्या भएको वर्षदिन 
पुग्दा पनि किन नेपाल प्रहरी असफल भयो भन्नेमै केन्द्रित थियो । विश्वमै काविल र सक्षम, सवल नेपाल प्रहरी किन बोधो बन्दै गयो, अतिराजनीतिकरणले हो कि ? बलात्कार, हत्याजस्तो गम्भीर अपराधविरुद्ध काविलियत भएर पनि किन परालखुट्टे बनेको ? दबाब कि प्रभावले भन्ने प्रश्नमा आइजीपी कालोनिलो बनेको देखियो र उनले गोलमटोल पारामा अनुसन्धान भइरहेको र नेपाल प्रहरी गम्भीर छ भन्ने जवाफ दिए । उनले म जत्तिको दबाब र प्रभाव झेल्ने को छ ? म परालखुट्टे होइन, सत्य सेवा सुरक्षाप्रति अडिग छु भनेर ढाडमा हाड देखाउँदा पत्रकारहरु हाँसेका थिए । आइजीपी नबन्दासम्म साह्रै हँसिला, रसिला सर्वेन्द्र खनालको मुहारमा कान्ति हराएको देखियो । नेपाल प्रहरीलाई पुरानै सक्षम र सवल ‘हाम्रो प्रहरी’ बनाउन उनीभित्र इच्छाशक्ति जाग्ला ? यही प्रश्न लिएर पत्रकारहरु काममा फर्किए ।