पाराकम्पनका झट्का रोकिएका छैनन्। आफन्त र श्रीसम्पत्ति गुमाएका, आफ्नो बास धराप बनेको टुलुटुलु हेरेर बस्न बाध्य आमनागरिक लाई सरकारले राहतका, उद्धारका र पुनर्स्थापना, पुनःनिर्माणका नाममा झन ठूला ठूला झट्का दिन थालेको छ। उद्धार गर्न हतियारसहित आएका विदेशीले देशको सार्वभौमिकतामाथि र्नै झट्का दिइरहेका छन्। प्रधानसेनापति गौरवशमशेर जबराले त्यस्तो केही छैन, हामी संवेदनशील छों भने पनि आँखाले जे देखिएको छ, ती सबै न नागरिक स्वाधीनताका लागि, न देशको सार्वभौमिकताका लागि पाच्यकर भएका छन्। शायद त्यसैले हतारमा सरकारले विदेशी सेनालाई फिर्ता पठाउने निर्णय गर्न लागेको छ।
भूकम्प गयो, भूकम्पले गरिखाने आमनागरिक सोत्राम भए। तिनको घरवास भताभुङ्ग भएर ढल्यो। रुखमुनी, खुला चउरमा बस्न बाध्य भए नागरिकहरु। मातृभूमिमा कम्पन हुँदा माताहरु यसरी रुन, चिच्याउन थाले कि साना साना बालकहरुसमेत यसरी आमाको आँसु पुछ्न अघि सरेका छन्। यति साना बालकको मन त यसरी चिरिन्छ भने संवेदनशील मान्छेको मन नपग्लिने कुरै भएन। सबैको चासो राहतमा छ, सबैको चासो भूकम्पपीडितलाई सेवा दिने विषयमा छ। नेपालीलाई परेको यो विपदको चिन्ता विश्वव्यापी भइसकेको छ। जसले जे सक्छ, त्यसको जोहो भइरहेको छ। तर नेपाल सरकार संवेदनशील बन्न सकेन। नेपाली सभासद, संसद र राजनीतिक बर्ग, नागरिक समाज र अधिकारकर्मीमा हुनुपर्नेजति मानवीयता देखिएन। सबै आत्मप्रचारमा जुटेका छन्। सबैलाई केही गरेजस्तो गरेर धेरै प्रचार चाहिएको छ। आमाहरु यसरी रोइरहेका छन्, बाँचेर पनि मरिरहेका छन्, मर्नेहरु पुरिएर कुहिन थालेका छन् तर सरकार र संसद एक भएर समान राहत वितरणमा सहमति गर्न सकेनन्। १२ गते गएको महाभूकम्पमा विश्वले चिन्ता जनायो, जनप्रतिनिधिले आफ्नो कर्तव्य निर्वाह गरेनन्, पीडित जनतासम्म पुगेनन्, तिनीहरुको मनोबल बढाएनन्।
किन अन्यौलमा पर्यो सरकार? किन तमासे बने संसद र सभासद? जनसेवा गर्न संसद अधिवेशन कुरिरहन पर्दैन। सभासद र सरकार एकै थलोमा बसेर विज्ञहरुको सुझावका साथ राहत, उद्धारमा खटिनुपर्थ्यो। अव त राहतमा पनि पक्षपात भएका खबर आउनथाले। राजनीतिक नेताहरु तानातान र हानाहानमा उत्रिन थाले। राजनीति गैरजिम्मेवार भएपछि प्रशासनमा भ्रष्टाचार बढ्ने नै भयो। अहिले नै यो हालत छ, दानदातव्यको कुन हदसम्मको भ्रष्टाचार होला? नागरिकमा संशय देखिन्छ। जनता छन् र राजनीति छ। जनता छन् र लोकतन्त्र भन्न पाएका छन्। जनता बाँचे भने, जनताभित्र विश्वास कायम रह्यो भने नेता रहने हुन्। त्यसकारण यतिबेला तँ तँ, म म गर्ने होइन, छिटोभन्दा छिटो राहत र उद्धारमा जुट्नुपर्छ र अल्पकालीन तथा दीर्घकालीन पुनर्स्थापना र पुननिर्माणका ठोस योजना तैयार गर्नुपर्छ। अति गर्यौ नेताहरु, अव त मनभित्र मानवीयता जगाएर भूकम्पपीडितसम्म जाने कष्ट गर।