अमेरिका उत्तर कोरियालाई उडाइदिन्छु भन्थ्यो, उत्तर कोरिया अमेरिकालाई । जी फोरको बैठकमा भाग लिन जापान पुगेका अमेरिकी राष्ट्रपति दक्षिण कोरियाको सोल पुगे र आइतवार एक्कासी दुई कोरियाको सीमा पानमानजोममा पुगेर यसरी हात मिलाए । दुबैले परमाणु वार्ता अघि बढाउन सहमति जनाए । यो हो कुटनीति भनेको ।
ट्रम्पको स्वागत गर्दै किम जोङ उनले तपाईलाई फेरि भेट्न पाउँदा खुशी लागेको छ भने । ट्रम्पले यो भेटलाई गजबको क्षण भनेका छन् । १९५३ पछि कोरियाको धर्तीमा टेक्ने ट्रम्प पहिलो अमेरिकी शासक हुन् । ट्रम्पले किम जोङ उनलाई अमेरिका भ्रमणको निम्तो पनि दिएका छन् ।
उनले अमेरिकी राष्ट्रपतिसँगको भेट राम्रो सम्बन्धको सूचक बताए ।
सिंगापुर, भियतनामपछि उत्तरकोरियाकै भूमिमा तेश्रो वार्ता भयो र वार्ता अर्थपूर्ण मानिएको छ । यो भ्रमणका लागि ट्रम्पले चिठी लेखेका थिए, उनले गजबको पत्र भन्ने प्रतिक्रिया सार्वजनिक भएको थियो । कोरिया प्रायिद्विपको आणविक अस्त्र विहीन बनाउने र उत्तर कोरियामा थि लागेको प्रतिवन्ध फुकुवा भएपछि यो सम्बन्ध अरु प्रगाड हुनसक्छ ।
हिजोका शत्रु आज मित्र बनेका छन् र एकदोस्राप्रति गौरव गर्छन् । यसको श्रेय दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनलाई जान्छ ।
ट्रम्प र उनको बुद्धिमत्तापूर्ण भेटवार्ता अझ सुखद बनोस् भन्ने चाहना विश्वभरि फैलिएको छ । शान्ति र प्रगतिको सूचक यो भेट हुनसक्छ ।
नेपालका सन्दर्भमा हिजोका मित्र ओली र विप्लव अर्थात नेकपाको नेतृत्वको सरकार र नेकपा विप्लव आमने सामने छन् । सरकार विप्लवको पार्टीलाई प्रतिवन्ध लगाएको मात्र छैन, उनका नेता कार्यकर्तालाई पक्राउ गर्दै थुन्ने, यातना दिने, मुद्दा चलाउनेबाट अझ अघि बढेर हातखुट्टा भाँचेर गोली हानी हत्या गर्ने र दोहोरो भिडन्तमा मारिएको बयान दिनेसम्मका आततायी हर्कतमा उत्रिएको छ । कुमार पाडैलको हत्यामा राष्ट्रिय मानवाधिकार आयोगले समेत संशय गरेर छानबिन थालेको छ, इन्काउण्टर संस्कृतिप्रति देशैभरि ओली सरकारविरुद्ध घृणाका स्वर सुनिन थालेको छ ।
यी दुबै कम्युनिष्ट हुन् वा नहुन्, सवाल वार्ता र सहमतिको हो । अहंकार देखाएर राजनीतिक दुश्मनी साध्ने र आफूलाई अब्बल देखाउने यही तरिका हो भने नेकपाको शासन र प्रचण्ड ओली नेतृत्वको नेकपाप्रति जनविश्वास घट्दै जानेछ । विप्लवले भ्रष्टाचारविरुद्ध उठाएको आवाज र उसका क्रियाकलापमा कतै पनि आतंक देखिन्न । हो कतै कतै चन्दा उठायो होला, यत्तिकैमा विप्लवलाई आतंककारी भनेर वार्ता नै नगर्नु सरकारको असफलता हो ।
यथार्थमा यो संघीय लोकतन्त्र ओली शासनको भ्रष्टाचारले असफल भएको छ नै,प्रतिद्वन्द्वी बन्ला भनेर राजनीतिलाई जंगल बनाएर शेर हुन खोज्नु पद्धतिकै असफलता भइरहेको छ । संघीयता धान्न नसकिने भो भन्ने अभिव्यक्ति धेरैले दिइरहेका छन्, संविधान जनताले अपनत्व ग्रहण गरेकै छैनन् । चुनाव हुनु र जित्नुमात्र लोकतन्त्र होइन । सुरक्षा निकायको घेराबन्दीमा लोकतन्त्र, संविधान दिवस मनाइनु भनेको उपहास हो ।
यही उपहासलाई ओली सरकार लोकतन्त्र सफल छ भनिरहेको छ ।
एकातिर राजसंस्थावादी, अर्कोतिर विप्लव, वैद्यलगायतका शक्तिहरु र स्वतन्त्र बुद्धिजीवीहरुसमेत सरकारका कामकारवाहीलाई राष्ट्रघात भनिरहेका छन्, सरकार बुद्धि बंगारो छामेर सबैको सहभागिताको सवलीकरणमा लाग ।


