काठमाडौं । प्रधानमन्त्रीलाई कुनै संस्थाले किन डाक्टरको उपाधि दिन्छ ? उनले डाक्टरको उपाधि प्राप्त गरेपछि देशका रोगहरुको निदान हुन्छन् कि हु“दैनन् ? ३ पटक डाक्टर उपाधि लिइसकेका प्रम ओलीले एउटा उपाधि त नक्कली विश्वविद्यालयको लिएछन् । अहिले आएर कोरियाको युनिभर्सल पिस फाउण्डेशनको होली वाइनको महामारीपछि क्रिश्चियन कनेक्शन जोडिएको थप प्रमाण मिल्नेगरी दक्षिण कोरियाको निजी काङनाम विश्वविद्यालयको मानार्थ विद्यावारिधि उपाधि ग्रहण गरेका छन् । इसाइकरण बढाउने उद्देश्य बोकेको विश्वविद्यालयबाट डाक्टरको उपाधि लिनुले नेपालका कुनै पनि राजनीतिक राष्ट्रिय मुद्दाहरुको निदानमा सहयोग गर्दैन । सम्बन्ध सुदृढ हुने वकालत गरे पनि दक्षिण कोरिया र नेपालको सम्बन्ध त्यसै राम्रो छ । फेरि इसाइकरणको प्रभाव बढाउनेगरी प्रधानमन्त्रीले डाक्टर उपाधि लिइरहनुको के तुक देखिन्छ र ?
ग्रिनफोर्ड विश्वविद्यालयले ओलीसहित हरिबंश आचार्य र मदनकृष्णलाई पनि विद्यावारिधिको उपाधि दिएको थियो । यो नक्कली भन्ने हल्ला चल्नासाथ आचार्य र मदनकृष्णले फिर्ता गरे, तर ओलीले लिए, छानबिनसमेत गराएनन् ।
भारतको कृषि विश्वविद्यालय र युनिभर्सिटी फर पिसले डाक्टर उपाधि दियो । दोश्रो डाक्टर उपाधि कोष्टारिका पुगेर ग्रहण गरे । देशलाई के लाभ भयो ? देशवासीले ओली डाक्टर भएबाट के लाभ प्राप्त गरे, अत्तोपत्तो छैन । कम्युनिष्ट मास्ने अभियन्ताबाट चलेको विश्वविद्यालयको डाक्टर, अचम्म छ ।