काठमाडौं । केही वर्ष अघि बझाङ, बाजुराका जनताले खान नपाएर रुखपात जे पनि खानु परेको थियो । महामारीको चपेटमा धेरैले ज्यान गुमाए ।
यतिबेला राजधानीको पशुपतिक्षेत्र श्लेषमान्तक वनमा रहेको मृगस्थलीमा पालिएका मृगहरु अनेक रोगले ग्रस्त भएका छन् । उनीहरुका लागि खानाको व्यवस्था छैन । खान नपाएपछि जरा खोतल्ने, माटो, रुखका जरा, लोक्ता जे भेटिन्छ चपाउनै प¥यो । मृग नपाल्नु, पालेपछि पशुपति क्षेत्र विकास कोष, सरकारले तिनको व्यवस्थापन गर्नु । नसक्नेले यो बिजोग किन देखाउनु ?
पशुपतिनाथ सबैभन्दा धनी मन्दिर हो । पशुपति गुठीका जग्गाको आम्दानी हुरेलधुरेलमात्र भएको छैन, भूमाफियाले पनि लुटेका छन् । पशुपतिका दैनिक आम्दानी लाखौंको छ । मन्दिरको आम्दानीमा, सम्पत्तिमा व्यापक भ्रष्टाचार छ, व्यवस्थापन यति फितलो छ कि यहाँ पनि राजनीतिकरण भइरहेको छ । राजनीतिकरणकै कारण पशुपति क्षेत्र र यसको सम्पत्तिको संरक्षण हुनसकेको देखिदैन । समाचार अनुसार २०६१ सालमा ३० वटा मृग छाडिएको थियो । ९५ रोपनीमा फैलिएको क्षेत्रमा मृगहरु आहारा र पानीका लागि छटपटिइरहेको देखिन्छन्, यो बिजोगले धर्मप्रति आस्था राख्ने भनेर जागीर खाएकाहरुले जागीरे प्रवृत्तिमात्र देखाउने गरेका छन्, यिनमा विवेक र मानवीयता मर्दे गएको छ । पशुपति विकास कोषका पदाधिकारीहरुसमेत यो सब हेरेर बस्छन्, के गर्ने सोच र खाका, योजना र कार्यान्वयन केही गरिरहेका छैनन् । कस्तो अचम्म ? पशुपतिनाथको भण्डारमा धनको अभाव छेन, धनको सदुपयोग गर्ने मन पशुपतिका पदाधिकारीमा देखिएन ।
मृग पाल्दा पशुपतिक्षेत्रमा रौनक आउँछ । ती मृगका लागि चरनको व्यवस्था हुनपर्छ भन्ने कुरा किन सोचिएन । खान नपाएपछि मृगहरुले माटो खोस्रेर धुलो उडाइसक्दासमेत विवेकीहरुले यो सब नदेखेजस्तो गरे ।
भन्नलाई कर्मचारीहरु भन्छन्– चना, मकै, भटमास र खनिजतत्व दिनको ३ पटक दिने गरिएको छ । यही वनमा कष्णसार १८, चित्तल १०, रतुवा मृग २ छाडेर पालिएको थियो । यिनको संख्या बढ्यो । यिनलाई हेरचाह गर्न सकिएन, अव अन्यत्र पठाइदिदा मारेर खाइदिन्छन् । त्यसैले पाल्नेलाई दिने कि ? भन्ने कुरा पनि उनले गरे । हुन्छ, पाल्नेलाई दिन सकिन्छ । पाल्न पाइने कानुन पनि बनिसकेको छ । पशुपति विकास कोषले पाल्न सक्देन भने आह्वान गरेर दिदा हुन्छ तर पशुपति विकास कोष यसबारेमा कहिल्यै चर्चा नै गर्दैन ।
मृगहरु मर्न थालेका छन्, रोगले कि भोकले ? यसबारेमा सरकारले हेरोस् । मृगकै बेहाल छ भने मृगरुपी महादेवको के हालत होला मृगस्थलीमा ।