Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

किरा अर्थात यार्सागुम्बा, जडीबुटी टिप्ने मौसम

१३ सोमबार , जेठ २०७६७ बर्ष अगाडि

किरा अर्थात यार्सागुम्बा टिप्ने मौसम सुरु भयो । हिमाल भेगका गाउँका गाउँ यार्सागुम्बा खोज्न पहाड चढिरहेका छन् । बालबालिका समेत बोकेर र स्कूले उमेरका केटाकेटीसमेत यार्सा खोज्न हिडेका छन् ।
यार्सागुम्बा भनेको हिमाली भेकमा पाइने ढुसी र झुसिल्किरा एकै ठाउँमा जोडिएर रहेको बस्तु हो । यसमा ढुसी र झुसिल्किरा परस्परमा आश्रति भएका हुन्छन् । यार्सागुम्बाको जीवनचक्रका सम्बन्धमा बनस्पतिविदहरूका अनुसार यो ६ महिना किरा र ६ महिना बनस्पति भएर रहन्छ । त्यसरी हेर्दा बनस्पति जिवित रहे प्राणी मर्ने र प्राणी जिवित रहे बनस्पति मर्ने अचम्म देखिन्छ ।
यार्साका बीऊहरू उम्रेपछि यिनका जराहरू झुसिल्किराको शरीरमा फैलन्छन्, त्यस समयसम्म झुसिल्किरा हिडडुल गरिरहेकै हुन्छ । यसरी यो बनस्पतिको जराहरूले झुसिल्किरालाई पुरै ढाक्दै गएपछि झुसिल्किरा जमिनभित्र गएर मर्छ । झुसिल्किरा जमिनमा मरिसके पछि यार्सा बनस्पतिले आफ्नो आहारा त्यही झुसिल्किराको शरीरबाट लिन्छ र यार्सा विकसित हुन्छ अर्थात माटो माथि जिवित रहन्छ, माटो मुनी मर्छ । माटो माथिको बनस्पति माटोमुनिको प्राणीको टाउकोबाट पलाएको हुन्छ यसको रङकालो हुन्छ, जसको टुप्पोमा सानासाना प्वालहरू हुन्छन । ती प्वाल भित्र लामा लामा थैला हुन्छन् र प्रत्येक थैलामा मसिना मसिना लामा लामा बीऊ हुन्छन् । यार्सागुम्बा यही हो ।
यार्सागुम्बा हिमाली भेगमा बर्षभरि पाउन सकिन्छ । विभिन्न बनस्पति सम्बन्धि पुस्तकमा यार्सागुम्बाका १०० भन्दा बढी प्रजाति रहेको उल्लेख
 छ । तीमध्ये जापानमा ३० वटा, ब्रिटेनमा १२ वटा, भारतमा ७ वटा चीनमा २१ वटा प्रजातिका पाइन्छ । नेपालको सन्दर्भमा अध्ययनै भएको छैन । यसको माँग हेर्दा माथिल्लो गुणस्तरीय यार्सा नेपालमा मात्र पाइन्छ ।
कोर्डिसेप्स साइनेन्सिस जातका यार्सागुम्बा नेपालका ताप्लेजुङ, संखुवासभा, दार्चुला, बझाङ, बाजुरा, जुम्ला, हुम्ला, मुगु, डोल्पा, मनाङ, सिन्धुपाल्चोक, रसुवा, दोलखा जिल्लाहरूमा पाइन्छ । अन्य जातिका यार्सा त अन्यत्र पनि पाइन्छ ।
हिमाली भेगमा लामाहरू यार्सागुम्बा धर्मात्मा मानिसहरूले मात्र भेटाउँछन् भन्छन् र कतिपय लेकबाट औषधि बेच्न आएका मानिसहरूले यासार्गुम्बा भनेर झुक्याएर औषधि बेच्ने गरेको पनि पाइन्छ तर वास्तवमा यार्सागुम्बा च्याउ जस्तै भेटिने बस्तु हो तर के कुरा चाही सत्य हो भने पहिला एउटा भेट्न चाँही निकै समस्या पर्छ । एउटा भेटिए पछि अरु सजिलै पाउन सकिन्छ किनभने अरु यार्सागुम्बाहरू आपसमा वरपर रहन्छन् ।
नेपालमा यार्सागुम्बाको अस्तित्व पौराणिक कालदेखि नै छ तर यसलाई अन्तर्राष्ट्रियकरण गर्ने श्रेय सन् १९५२ मा ब्रिटिस म्युजियम लण्डनको तर्फबाट बनस्पति संकलन गर्न आएका पोलुनिन साइकल र विलियमलाई जान्छ । उनलाई धन्यवाद दिनुपर्छ ।
यार्सागुम्बाको बहुप्रयोग हुनथालेको छ । यो ओखती पनि हो मूलत । अहिले विश्वमा कामवासना उत्पादन गर्ने जडी ओखतीका रुपमा यार्सालाई लिन थालिएको छ । नेपालको यो बहुमूल्य बनौषधिको सदुपयोग गर्न सके हिमाली भेगका जनताको आर्थिक स्तर उकास्न सकिन्छ ।
यार्सा टिपेका गाउँलेलाई दुःख दिने लुट्ने, तस्करहरुले सताउने र स्थानीय सरकार र सुरक्षाकर्मीले पनि अप्ठेरो पार्ने गरेका छन्, यसतिर हेर्न जरुरी छ ।