सार्क सम्मेलनका लागि सडक किनारामा सजाइएका गमलाहरु खैनीदान' बनेका छन्। खैनी खाने र खैनीका खोल फाल्ने खैनीदान बनेको छन् गमलाहरु, न महानगर देख्छ, न सरकारले नै कुनै ख्याल राखेको छ। प्रत्येक दिन नेपाल सरकार सडकभरि दगुर्छ, गमलाका फूलहरु सुकेका, विरुवा मर्दै गएका र गमलाहरुमा खैनीफाल्ने खैनीदान र चुरोटका ठुटाफाल्ने एस्ट्रे बनेको पनि देख्छ तर त्यसप्रति कुनै चासो र चिन्ता प्रकट गर्दैन। मानौं, यी गमलाहरु ट्र्यासबक्स हुन्।
सार्क सम्मेलनताका सडकका दायाँबायाँ हरियाली थियो। सार्कपछि प्रधानमन्त्रीको निर्देशनमा केही दिन महानगरले पानी पनि हाल्यो। सफाइमा पनि ध्यान दियो। समय गयो, सबै गयो। सार्क गयो फूल र विरुवा सुके। सय पर्नेलाई हजार, हजार पर्नेलाई ९ हजारसम्मका गमला, फूल र विरुवाले सजाइएका थिए। अहिले ती सबै मार्नका लागि सडकमा राखिएकोजस्तो लाग्छ। कमिशन खाएर देखाइएको देखावटी विकास भनेको यही हो। लोकतान्त्रिक विकासको यो कस्तो नजारा हो?
महानगरले ६ महिनामा ६ प्रतिशत बजेट खर्च गर्न सकेनछ। किन? सोध्ने कसले? कर्मचारीले चलाएको महानगरमा जनप्रतिनिधि छैनन्। जनताप्रति जिम्मेवार हुनुपर्दैन कर्मचारीले। कर्मचारी जिम्मेवार हुने तालुकवाला कार्यालयका हाकिमप्रति हो। हाकिमले भनेजस्तो गरिदिएपछि कर्मचारीतन्त्र जिन्दावाद। यस्तै जिन्दावाद भइरहेको छ काठमाडौं महानगरभित्र। गतवर्ष मनग्गे भ्रष्टाचार भयो, यसपटक ६ महिनामा ६ प्रतिशत खर्च भएको छैन। बिस्तारै अर्को आर्थिक वर्षको निकट पुगेपछि रातारात बजेट निकासा हुन्छन् र फेरि कमिशनको मारामार चल्छ। महानगर अर्थात महाभ्रष्टाचार सुरु हुन्छ। यही हो महानगरको कला। महानगरभित्रका सबै सार्वजनिक थलोको सुरक्षा र सार्वजनिक निर्माणहरुको रक्षा महानगरले गर्ने हो। नेपाल सरकारले निर्देशन दिइसकेपछि नियमित रुपमा सडकका बत्ती, सडकका निर्माण र सडकका बोटबिरुवाको हेरचाह गर्ने महानगरले नै हो। जबसम्म कमिशन आउँदैन, महानगर त्यतातिर ध्यानै दिदैन। किन? किनभने अराजक भीडले सडकका गमला फुटाउँछन्, बोट मर्छ, फूल झार्छन् तव सरकारले फेरि योजना बनाउन भन्छ र महानगर त्यही बेला भ्रष्टाचार गर्छ। अहिले देखिएको बोटबिरुवाको बिजोगकथाभित्र त्यही उद्देश्य निहित छ।
धारामा पानी नआउने, शौचालयबिहीन, फोहरको कन्टेनर, सडकको बिजोग हालत भनेकै महानगर हो। महानगर अव्यवस्थित छ, महानगरलाई व्यवस्थित र जिम्मेवार बनाउने कुनै प्रयास भइरहेको छैन। रोपिएका र सिंगारिएका बोटविरुवा, फूल, गमलाको सुरक्षा गर्न नसक्ने कस्तो महानगर हो यो? कतिपय खर्च बिगहाउसले लिएका होलान्, व्यवस्थापन त महानगरले गर्नुपर्ने हो नि।