राजनीतिक बिबादको अन्त्य भयो, अव आर्थिक विकासम लाग्नुपर्छ । राजनीतिक दलहरुले दिएको नारा यही हो । सीमा राजनीतिक मुद्दा होइन ? सीमा राष्ट्रिय मुद्दा होइन ? सीमा छ र देश छ, सीमा छ र अन्तर्राष्ट्रिय सम्बन्धहरु छन् । सीमा छ र नेपालको विश्वमा मान, प्रतिष्ठिा र स्वतन्त्रताको सम्मान छ । फेरि सीमा सुरक्षित छ कि छैन भनेर किन छलफल हुन्न ?
राजनीतिक दलहरु भन्छन्–
अवको निकास, आर्थिक विकास ।
जबसम्म सीमा सुरक्षित हुन्न, जबसम्म राष्ट्रियता मजबुत हुन्न, तवसम्म आर्थिक विकास कसरी सम्भव छ । देश बलियो हुन राष्ट्रियता बलियो हुनुपर्छ, यसैको जगमा भएको र गरेरको विकासमात्र दिगो हुनसक्छ ।
विकास त फिजीमा पनि छ, सिक्किममा पनि भएको छ । भूटान त विकासको धेरै माथि छ, उसको परक्यापिटा आम्दानी युरोपको स्तरको भइसकेको छ । तर भूटान स्वतन्त्र त छ, भारतको सुरक्षा छातामुनीको स्वतन्त्रता । नेपाल कहिले पनि कसैको छातामुनी बसेको छैन, बस्न सक्दैन । नेपाल आफैमा जेठा मुलुक, सधैं स्वतन्त्र मुलुक, हामीले हाम्रो स्वतन्त्रताको मापन गरेका छौं ? किनभने हाम्रो सिमानामा त भारतले दशगजा नै मिचेर राजमार्ग बनाइसक्यो, हामीले यसबारेमा कहिले पनि बोलेनौं । आफ्नै सीमाबारे नबोल्ने कसरी विकास हुनसक्छ ? स्वाधीनता खतरामा प¥यो ।
चित्ताकर्षक नारा लगाएर मात्र के गर्नु ? लोकतन्त्र त चाहिन्छ, लोकतन्त्रभन्दा अर्कोतन्त्र नेपालमा अफाप भएकै हो । फेरि लोकतन्त्रले किन लोक, लोकआवाज र राष्ट्र जुरुक्क उठाउन सकिरहेको छैन । मूल प्रश्न यो हो र यो प्रश्नको जवाफदेहिता लिनैपर्छ ।
भारत सिमानामा अन्तर्राष्ट्रिय नियम मिचेर राजमार्ग बनाइरहेको छ, राजनीतिक नेतृत्वले त्यता हेर्दै हेर्दैन । हेर्नै चाहदैन किन ? पुराना त त्यसै पनि भारत रिसाउला कि भनेर पिछलग्गु बनेका छन्, नयााले आफूलाई जनताप्रति, देशप्रति जिम्मेवार देखाउनका लागि भए पनि संविधान र सीमा अतिक्रमणको वाच डग साबित गर्नुपर्ने थियो, नागरिक समाज र संचेतन बर्गले समेत नाराकै, पार्टीकै पछि लागेर आफूलाई सिध्याइरहेका छन् । जुन जोगी आए पनि कानै चिरिएका भनेजस्तो दुई तिहाइको सरकारको चालामाला पनि उस्तै ।
यसरी पनि देश बच्छ, देश बन्छ । सपना देखाउने, उग्र नारामा र भ्रममा देश विकास गर्न खोज्नेहरुले लोकतन्त्रको धुलो उडाइरहेका छन् । धुलो उडाएर प्रदूषणमात्र बढेको छ, देश अलिकति पनि अघि बढ्न सेको छैन । हो सत्तारुढ दलका कार्यकर्ताहरुले काम पाएका छन्, प्रतिपक्ष सत्तँपक्षजस्तो बनेको छ । अरुका मधुरो आवाज त्यसै पनि कमजोर बनेको देखिन्छ । देश यसैगरी मैनबत्ती पग्लेजसरी पग्लदै जाने हो भने नेपाली पहिचान र व्यक्तित्व अतिक्रमणले खान बेर छैन ।