काठमाडौं । चितवन निकुञ्जमा होटल राख्न दिने कि नदिने भन्ने बहस हुँदा होटलकै कारण बन्यजन्तुको बिनास भइरहेको भन्ने सुझाव आए पनि सत्तामा बस्नेहरुले लेनदेन र सेटिङका आधारमा होटल राख्न दिने निर्णय गरेपछि वन्यजन्तुको व्यापक चोरीनिकासी भइरहेको थियो ।
सेनाले गस्ती बढाएपछि र सुरक्षा निकाय सक्रिय भएपछि चोरीनिकासीमा कमी आए पनि ९ महिनामा ४१ गैंडाको मृत्यु, यो राष्ट्रिय क्षति हो । कल्पना पनि गर्न सकिन्न, दुर्लभ एक सिंगे गैंडाको यति ठूलो बिनास, यस्तो अवस्था आइसक्दा पनि सरकारले गैंडा संरक्षणमा किन लापरवाही गरियो भनेर सोधखोज, अनुसन्धान गरेको छैन, के उपायले पर्यटन पनि बचोस्, वन्यजन्तुको संरक्षण पनि हुनसक्छ भन्ने विज्ञहरुसँग छलफल गरेको देखिन्न ।
पछिल्लो पल्ट पोथी गैंडा होटल टाइगर लेण्डको सेफ्टी टेंकीमा खसेर मरेछ । वर्षदिन अघि अर्को गैंडा पनि होटलको सेफ्टी टेंकीमा खसेको थियो, त्यसलाई भने बचाइएको थियो । गैंडा होटल परिसरमा आएपछि किन त्यसको निगरानी गरिएन ? गैंडाका लागि धराप थापेजसरी निकुञ्ज क्षेत्रमा गोवरग्यास र सेफ्टी टेंकी थुप्रै छन् । निकुञ्ज क्षेत्रमा होटल खोल्न दिने सम्झौतामा यस्ता धरापबारे, वन्यजन्तुको संरक्षणका
सम्बन्धमा के कके व्यवस्था गरिएको छ र किन दुर्लभ गैंडाले यसरी अकालमा मृत्यु बरण गर्न परिरहेको छ ? नेपालको राष्ट्रियता र व्यक्तित्वको गरिमा बढाउन समेत ठूलो योगदान रहेको गैंडा ९ महिनामा ४१ को संख्यामा मर्नु वन्यजन्तुका विषयमा आपातकाल नै हो । यसबारे संसद, सरकार र वन्यजन्तुविदहरु बोल्न जरुरी छ ।
यो समय दोष अन्यत्र पन्छाएर उम्कने राजनीतिक दाउपेच चलिरहेको छ । यस्ता दाउपेच वन्यजन्तुको संरक्षणमा महामारी नै हो । यसकारण निकुञ्ज क्षेत्रमा खोलिएको होटलहरु र वन्य जन्तुको संरक्षणमा के गर्नुपर्छ, छिटो निर्णय हुन जरुरी छ र गैंडाको यो बिनासलीलामा को को जिम्मेवार छन्, तिनीहरुलाई लोकसामु खुलस्त पार्न जरुरी छ । जिम्मेवारमाथि कडा कारवाही गरिएन भने यो बिनासलीला अरु बढ्दै जानेछ ।