काठमाडौं । देश बिखण्डन गर्नेलाई स्वागत, विचार बिद्रोह गर्नेलाई प्रतिवन्ध । के हो यो ? लोकतन्त्रमा विचारको विद्रोह पनि गर्न नपाउने ?
विप्लव देशवादी हुन्, देशवादीमाथि प्रतिवन्ध लगाउने मात्र होइन, सशस्त्रलाई गोली हान्ने आदेश दिएर ओली सरकारले अराजकताको आगोमा घीउ थपेको छ । प्रधानमन्त्रीको दुई तिहाइको दम्भले रक्तपात निम्त्याएको छ ।
राष्ट्रबिखण्डनवादीसँग सम्झौता गर्ने, स्वागत गर्ने, उनलाई प्रचण्डको हाराहारीमा लगेर थिङ्क टेंक भन्ने प्रधानमन्त्री ओलीले विप्लव माओवादी जो नेपाली हुँ भन्छ, त्यो नेपालीसँग एकपटक वार्ता समेत नगरी उसलाई प्रतिवन्ध लगाउने अपराध गर्न पुगे ।
व्यापक जनदबाबपछि करबलले भनेझैं हतियार बिसाएर वार्ता गर्न आउ भनेका छन् । यो शैली पनि वार्ताको वातावरण बनाउने खालको छैन ।
हिजो प्रचण्डले बिद्रोह गरे, त्यसअघि स्वयम् केपी ओलीले झापा विद्रोह गरेकै हुन् । उनीहरु नेपालविरोधी होइनन्, नेपालीले साथ दिए आज सत्तामा छन् । विप्लव पनि नेपाली हुन्, उनले कहिल्यै बिखण्डनको कुरा गरेनन्, नेपालभित्रै जनताको सुन्दर भविष्य कोर्ने विचारको युद्ध लडिरहेका छन् । न्यायको आवाज उठाइरहेका छन् । अनि किन विप्लवलाई अराष्ट्रिय तत्वमाथि गर्ने दुर्व्यवहार गरेको ? यो देशमा ओली सरकार शान्ति, सुशासन र समृद्धिका लागि आएको हो, रक्तपात गर्न आएको होइन । रक्तपात उद्देश्य थिएन भने राजनीतिमाथि प्रतिवन्ध लगाउने र घुँडामुनी गोली हान्ने आदेश दिनु गलत हो । गल्तीमाथि गल्ती गरेर सुशासन र समृद्धि आउन सक्दैन ।
यति नै बेला प्रचण्ड, ओलीले मार्ने खबर आयो भनेर हल्ला फिजाएका छन् । विप्लवले मार्ने फरमान जारी गरेको कसैले सुनेको छैन । प्रचण्ड र ओलीले कसरी सुने ? यस्तो हल्ला फिजाउनु भनेको अराजकता फैलाउनु हो, देशमा शान्ति छैन, हिंसा छ भनेर राज्यपक्ष नै प्रचार गरिरहेको छ ।
तमाम स्वाधीन, देशभक्त, आमसर्वसाधारणहरुको सुझाव छ– एकपटक राज्यभित्रका विद्रोहीसँग वार्ता किन नगर्ने ? वार्ताका लागि वार्ता होइन, परिणाममुखी वार्ता किन नगर्ने ? रातारात सीके राउत जेलबाट छुट्छन् र राति नै सहमति गरेर भोलिपल्ट सम्झौताको नाटक मञ्चन हुन्छ । त्यसपछि मधेश पुगेर सीके राउत एसियाको अलग देश भन्ने व्यानरमुनी फूलमाला लगाउँछन् ।
विप्लव नेपाल र नेपालीको स्वाधीनताका लागि, सर्वहारावादीको जीवन सुधार्नका लागि अन्तिम विद्रोह गर्न युवाहरु गुहार्छन्, प्रधानमन्त्री ओलीको सातो जान्छ, प्रचण्ड असिन पसिन हुन्छन् र प्रतिवन्ध लगाउँछन् । विप्लव माओवादीका नेता, कार्यकर्ताको धरपकड सुरु गरेका छन् । गणतान्त्रिक सरकारले जिवन्तलाई राजकाजको मुद्दा लगाउने प्रपञ्च गरेको छ । विप्लव माओवादीलाई अपराधी प्रमाणित गर्न खोजिदैछ, यथार्थमा विप्लव माओवादी राजनीतिक हो, जे भइरहेको छ, त्यो शान्तिविरोधी छ ।