काठमाडौं । नेकपा अर्थात दुई तिहाइको सरकारको नेतृत्वकर्ता पार्टी, यो पार्टीको नेपालबादमा शंका गर्ने पर्याप्त घटनाक्रम सार्वजनिक भइरहेका छन् । यद्यपि सुशासन दिन्छु, समृद्धि ल्याउँछु भनेर हरेक दिन कुर्लिन्छ यो सरकार । तर यो सरकारको अनुहार भ्रष्टाचारमात्र होइन, अव त राष्ट्रघाती कलंकले समेत कालाम्मे देखिन थालेको छ । मति सुध्रिने चालचुल देखिन्न ।
नाकाबन्दी बेलाको देशभक्त केपी ओली देख्न पाइयोस् भन्ने आम सर्वसाधारणको अपेक्षा थियो । केपी ओली र प्रचण्ड मिलेपछि त घातक निर्णयहरु पो हुनथाले, नेपाल बिखण्डनवादको, जनसंख्याको अतिक्रमणको चपेटामा पो प¥यो ।
एमाले र माओवादी मिलेपछि देश समृद्ध, जनता सुखी हुन्छन् भन्ने सपना चकनाचूर हुनथाल्यो । बलात्कारी र हत्यारा बढ्न थालो छन्, अपराधीको हल्लाबोल ज्यादै हुनथाल्यो । सर्वदलीय सर्वोच्च अदालत, नेपाल सरकारजस्तो पो अनुभव भइरहेको छ । अदालतमा विचाराधीन राष्ट्रघातीलाई छुटाइन्छ र भोलिपल्टै समानान्तर सरकारजस्तो दर्जामा देखाइन्छ र ऊ मधेश पुगेर एसियाको नयाँदेश भनेर प्रचारबाजी गराउँछ ।
यसअघि होली वाइन, इण्डो प्यासिफिकको सेन्टरमा नेपाललाई संलग्न गराउने दुर्घटना हुन्छ । अव मधेश मुद्दामा जनमत संग्रहको ढोका खोलेर ओली सरकारले संसदमै धोका दिने सिद्धिन्छ भन्नुपर्ने दिन आयो ।
योभन्दा पनि अहं सवाल संसदमा विचाराधीन रहेको नागरिकता बिधेयक बनेको छ । नेपाली महिलालाई बतासे बनाउने साजिस यही विधेयकमा उल्लेख छ । बाबुको परिचय खोल्नु नपर्ने, अंगीकृतलाई बंशजको नागरिकता दिने यो विधेयक खारेज हुनुपर्छ भनेर देशव्यापी आवाज उठेको छ । सरकार कानमा तेल हालेर गजधम्म बसिरहेको छ । नेपालमा विदेशी नागरिक भर्ने गम्भीर षडयन्त्रमा दुई तिहाइको सरकार अग्रसर भएको छ ।
राजधानीदेखि देशैभरि नागरिकता ऐन संशोधन विधेयक ल्याउने दलाल र आइएनजीओहरुको विरोध भइरहेको छ । बाबुको पहिचान बिनाका सन्तानलाई बंशजको नागरिकता किन दिनुपर्ने हो, सरकारले बताउन सकेको छैन । बाबु यही हो भन्न नसक्ने आमाले सन्तान किन जन्माउनु, यो नेपाली महिलाको बेइजत हो कि होइन ? विदेशीले नेपाली महिलालाई गर्भवती बनाएर छाडिदिएका बच्चाहरुलाई नागरिकता दिने प्रपञ्च पनि हुनसक्छ, बिहे गरेर विदेश गएकी महिलाका सन्तानलाई नेपाली बनाउने साजिस पनि हुनसक्छ । जेहोस्, सरकार देशमाथि गद्धारी गरिरहेको छ ।
नेपाली चेलीहरुलाई नगरबधुको दर्जामा उतार्ने नालायकहरु न देशको, न चेलीको सम्मान गर्न अघि सर्छन् । यो सरकार विदेशी इशारामा चल्ने रोबोटजस्तो पो देखियो । अझै समय छ, नेकपाले देश र जनताका लागि भक्तिपूर्ण निर्णय गरेर सच्चियोस् ।