काठमाडौं । साना, गरीव र प्रभावहीन व्यक्तिको मृत्यु किरा फट्याङ्ग्रा, पदासीन, प्रभावशाली, धनाध्ये र ठूला पार्टीका व्यक्तिको मृत्यु अपूरणीय क्षति भन्ने पुरानो प्रचलनमा अझै नयाँपन आएन । यहीकारणहो, ६ जना प्रभावशाली र शक्तिशालीका साथमा सुरक्ष्ाँकर्मी जमदार अर्जुन घिमिरेको मृत्युलाई कसैले वास्ता गरेनन्, मानौं उनको मृत्यु केही होइन, अरुको मृत्यु क्षति हो ।
एक जमाना थियो, भारतमा इन्दिरा गान्धी भन्दा शक्तिशाली को थियो होला र ? छोरा सञ्जय गान्धीको प्लेन दुर्घटनामा मृत्यु भयो । आमा हुन्, मातृत्वको असह्य पीडा आफूले आफैलाई सम्झाएर उनी पाइलटकापरिवारजनको घरमै गएर समवेदना प्रकट गर्न र शान्त्वना दिन पुगिन् ।
नेपालमा यति ठूलो हेलिकोप्टर दुर्घटना भयो, त्यो दुर्घटनापछि प्रधानमन्त्री र राष्ट्रपति शवमा फूलमाला चढाउन गए, तिनका परिवारजनलाई भेटेर शान्त्वना दिन कोही पुगेन । जब प्रभावशाली, पदासीन र धनाध्येको घरमा केही पुगेनन् भने सुरक्षाकर्मी अर्जुन घिमिरेको घरमा पुग्ने को, कसले वास्ता गर्ने ? धन्न प्रधानसेनापतिले आफ्ना सुरक्षाकर्मीको घरमा पुगेर धर्म निर्वाह गरे ।
शून्य भेदभावरहित दिवसकै दिन सुरक्षाकर्मीमाथि राज्यविभेद भएको छ ।
राष्ट्रपतिको संवेदनहीन दृश्य
शुक्रवार, फागुन १७ गते । राष्ट्रपतिको सवारी सहज पार्नका लागि ट्राफिकले हेलिकोप्टर दुर्घटनाका शव बोकेका गाडीलाई रोकेको दृश्य संवेदनहीनताको पराकाष्ठा थियो । पहिले पहिले एम्बुलेन्स, स्कुलबस, यात्रीसमेत रोकेर सवारी चलाउने ट्राफिकले यसपटक पाँच शव बोकेका गाडीलाई रोकेर राष्ट्रपतिको सवारी चलाए । तिनै राष्ट्रपति तिनै शवलाई श्रद्धाञ्जलीका फूल चढाउन पुगको दृश्य पनि देखियो । राष्ट्रपति यो देशको सवोच्च पद, राष्ट्राध्यक्ष, उनले सामान्य संवेदनापूर्ण व्यवहार पनि नगर्ने हो भने, समाज कता जाला ? लोकराजनीति र राष्ट्राध्यक्ष यतिबिघ्न निष्ठुरी हुनमिल्छ ?