दुई तिहाइको सरकारले मेडिकल माफियामा लागेका नेकपाका दलालहरुलाई खुशी पारेपछि अव शिक्षा माफियामा लागेकाहरुलाई कसरी लुट्न दिइरहेको रहेछ भन्ने खुलासा भएको छ ।
खासगरी नर्सिङ पढ्न अष्ट्रेलिया पुगेका १२ सय विद्यार्थीको भविष्य यतिबेला अन्धकार छ । नेपालका शैक्षिक दलालहरुले २० लाखसम्म अशूल गरेर यी विद्यार्थीहरुलाई अष्ट्रेलिया पढ्न पठाएका रहेछन् । यतिबेला यिनको भण्डाफोर भयो, जतिबेला अष्ट्रेलिया सरकारले दर्ता खारेज भएर डिप्लोमा नर्सिङ कोर्स बन्द भएको एआइबिटीको रहस्य खोलिदियो । यतिमात्र होइन, यो खुलासा भएपछि यी दलालहरुले विद्यार्थी र तिनका अभिभावकहरुलाई समेत धम्क्याएर पत्रकारहरुमार्फत यी सबै कुरा किन बाहिर ल्याएको भनेर ज्यान मार्नेसम्मको धम्की दिएको खबर पनि सार्वजनिक भइसकेको छ ।
यति हुँदा पनि यी कन्सल्टेन्सी नामका दलालहरुमाथि सरकारले कुनै छानबिन नै गरेको छैन । नेकपाका लागि चन्दा दियो भन्दैमा नागरिकमाथि परेको अन्यायविरुद्ध सरकार उभिन सक्देन भने यो सरकार दलालको सरकार हो त ? १२ सय विद्यार्थीहरुले अव हामी के गर्ने भनेर रोइकराइ गरिरहेका समाचारहरु सार्वजनिक भइरहदा सरकारको निन्द्रा खुलेको छ र हेल्प डेस्कसमेत स्थापना गरेको खबर छ ।
यता काठमाडौंस्थित अष्ट्रेलियन दूतावासले के सहयोग गर्न सकिन्छ, त्यो गर्न तैयार रहेको जनाउ दिएको छ भने ती विद्यार्थीलाई अन्य मान्यताप्राप्त विश्वविद्यालयमा सार्दा थप खर्च गर्नुपर्ने समस्या पनि छ ।
पीडित विद्यार्थी अहिले पनि भनिरहेका छन्, हाम्रो लगानी र भविष्य अन्धकार नहोस्, नधम्क्याइयोस् । यसरी धम्क्याउने कन्सल्टेन्सीहरुलाई सरकारले कारवाहीको दायरामा नल्याउनु अर्को अराजकता हो । अष्टे«लिया पढ्न पुगेका छोरी, छोराहरुको अभिभावकहरु धम्की आएपछि पाखाको माछाजसरी छट्पटाएका छन् । विद्यार्थीहरु घरमा थ्रेट जान थालेकाले डर लागिरहेको र सुरक्षामा कसले ध्यान दिने, तिनको राहतका लागि समेत सरकार मौन छ । वैदेशिक रोजगारीमा युवा बेच्ने सरकार अव शिक्षाका नाममा पनि युवायुवतीलाई बेच्न थालेको छ ।
अष्ट्रेलियामा शिक्षाका लागि गएका अन्य विद्यार्थीको पनि समस्या छ । भरपर्दो युनिभर्सिटी कलेज भनेर एआइबिटी अर्थात इजाजत खारेज भएको निजी इन्स्टिच्यूट रहेछ । अल्फाबिटादेखि मर्सी, कंगारु, एक्सपर्टसम्मले व्यवसायिक भनेर विद्यार्थीलाई ठगेको रहेछ । साउथ एसिया डट कम यसै भन्छ । हाल अभरमा परेका १२ सय विद्यार्थीबाट २ अर्व ४० करोडभन्दा बढी लुट्ने कन्सल्टेन्सी र तिनका मतियारहरुबारे यथार्थ छानबिन रिपोर्ट सार्वजनिक हुनुपर्छ र यही समय हो, कन्सल्टेन्सीका नाममा लुट्नेहरुलाई गलत काम गर्न रोक लगाउने र तिनलाई कडा कानुनको लक्ष्मण रेखामा बाँध्ने । अहिले पनि पार्टीका समर्थक भनेर यिनलाई छुट दिइयो र जनताका छोराछोरीलाई जति सक्छौं लुट कान्छा लुट भन्ने शैली अपनाउन दिने हो भने यो सरकार मेडिकल माफियापछि शिक्षा माफियाको घनचक्करमा प¥यो भन्दा हुन्छ ।
त्यसो त यो सरकारले सिण्डिेकट हटाएको फूर्ति लगायो, यातायात सिण्डिकेट चलिरहेको छ र शिक्षा, स्वास्थ्यमा पनि नेकपा सिण्डिकेट हावी भएको अर्को प्रमाण हो यो ।
यो सरकारको नीति समाजवादी नभएर माफियावादी रहेछ । जनता मरे मरुन्, ठगिए ठगियुन, लुट्नेहरुलाई मौका दिइरहने, संरक्षण गर्ने नीतिले नेकपा अव ओह्रालो यात्रामा लाग्यो । जनताको नबोल्ने, सहिरहने आचरणका कारण नै दलालहरुको रजगज बढेर गएको छ । जनतालाई थाहा छ भ्रष्टाचारमात्र छ देशमा । सबै छाडी पुच्छरमा हात भनेझैं भ्रष्टाचारमा चुर्लुम्मै डुबेको सरकार सुशासनका कुरा गरिरहेछ र जनता तिनै नेतालाई माला पहि¥याएर ताली बजाइरहेछन्, अनि कसरी सुशासन देख्न सकिन्छ ?