काठमाडौं । मध्य र सुदूरपश्चिमतिर विप्लव माओवादीले खुलेआम स्थानीय सरकारसँग चन्दा उठाएर अर्को जनयुद्धको तैयारी अघि बढाएको छ । खतरनाक कुरो त के छ भने विप्लव माओवादीले लडाकु भर्ती गरेर तालिम दिन थालेको छ ।
राजधानीमा नै चन्दा आतंक गरिसकेको विप्लव माओवादीले पश्चिमाञ्चल र खासगरी पहाडी इलाकामा एकछत्र समानान्तर सरकार सञ्चालन गर्न थालिसकेको छ । विपलव माओवादीले फागुन १ गते घोषणा गरेको छ– अर्को माओवादी जन्मिसक्यो । विप्लव माओवादी सशक्त रुपमा अघि बढ्न थालेको अनुभूति राजधानीमा गर्न थालिएको छ ।
स्थानीय सरकारमाथि अर्को बजेटदेखि २ प्रतिशत आफुलाई छुट्याउन विप्लव समूहले परिपत्र गरिसकेको छ र त्यसको जानकारी केन्द्रको सरकारले पाइसकेको छ,रोक्ने ताकत देखाउन सकेको छैन ।
खासगरी कर्णाली प्रदेशमा विप्लव माओवादी छाइसकेको छ । कर्णाली प्रदेश विप्लव माओवादीको आधार इलाका बनिसक्यो भनिन्छ । प्रचण्ड माओवादीले क्रान्तिलाई तुहायो, सर्वहाराको लक्ष्य अव हामीले पूरा गर्नुपर्छ । विप्लव
विप्लव माओवादीका अनुसार आफ्नो क्रान्ति शान्तिपूर्ण नै भए पनि राज्यले दमन गरे हतियार उठाइन्छ । कुरा गर्दा यसरी शान्तिपूर्ण भने पनि कर्णाली प्रदेशमा विप्लव माओवादीका लडाकाहरु हतियार सहित घुम्ने गरेका छन् । यसैवीच नेपाली सेनाले पनि कहीँ कहीँ गस्ती गर्न थालेकाले अप्रिय घटना हुनसक्ने त्रासदी बिस्तारै फैलदै जान थालेको छ ।
यसैवीच प्रचण्डको अभिव्यक्ति पनि अर्थपूर्ण रुपमा विश्लेषण हुनथालेको छ । प्रचण्डले भनेका छन्– माओवादीलाई सिध्याइहालियो भन्ने कसैले ठानेको छ भने त्यो दुर्भाग्यपूर्ण हुनेछ । अर्को माओवादी जन्मिन्छ । झन् ठूलो लडाइ हुनसक्छ ।
२०५२ फागुन १ मा सुरु भएको माओवादी जनयुद्धको अर्को अध्याय सुरु हुनलागेकै हो त ? त्यसो त जनयुद्धकालीन संक्रमण व्यवस्थापन हुनै बाँकी छ । अर्को नरसंहार सुरु भयो भने देश अकल्पनीय द्वन्द्वमा फस्न सक्छ । सुरक्षा निकायहरु मधेसम बिखण्डनवादी र पहाडमा माओवादी जन्मिसकेको निष्कर्षमा छन् । पहिलो जनयुद्ध रोल्पा बेस थियो, अहिले कालिकोट बेस बनाएर विप्लव माओवादी उठ्न थालेको छ । माओवादी प्रभावमा दैलेख, सुर्खेत, जाजरकोट, सल्यान, प्युठान, रुकुम, रोल्प, कपिलवस्तु, बाँके, रुपन्देही हुँदै रेड करिडर फैलिन थालेको छ । पूर्वको ताप्लेजुङ, तेह्रथुम, भोजपुर, संखुवासभातिर पनि माओवादी फैलिएका छन् । एक माओवादी भन्छन्– परिआयो भने लड्न सक्ने क्षमता विकास गरिसकेका छौं ।
विप्लव माओवादीले देशभरिका स्कूल, कलेज, मालपोत, नापी कार्यँलयहरुमा व्यापक चन्दा आतंक मच्चाइरहेका छन् । चन्दा दिनकै लागि पनि कर्मचारीले भ्रष्टाचार गर्नुपरेको बताउने पनि छन् ।
शान्ति प्रकृयामा आउँदा अनमिनलाई नबुझाएको र प्रचण्डले खोलाले बगायो भनेका हतियार विप्लवको कव्जामा रहेको र विप्लव माओवादीले थप हतियारको बन्दोबस्त गरिसकेको अनुमान सुरक्षा अधिकारीहरुको छ ।
प्रचण्डसँग मिलेर नेकपा बनाएको एमाले पार्टी समेत विप्लवको रणनीतिमा फस्ने र देशले अर्को दुर्भाग्य भोग्नुपर्ने हो कि भन्ने खतरा बढेर गएको छ ।