अमेरिकी सीएनएन टीभीले वर्र्षेनी सामाजिक कार्य गर्नेहरुमध्ये उत्कृष्ठ समाजसेवा गर्नेलाई 'सीएनएन हिरो' छान्दै आएको छ। माइती नेपालकी अनुराधा कोइराला, अर्ली चाइल्डहुड डेभेलपमेन्ट सेन्टर तथा बटरफ्लाई होमकी पुष्पा बस्नेत सीएनएन हिरो बनिसकेका छन्। सन २०१५ का लागि नेपालमा सामाजिक कार्य गर्दै आएकी अमेरिकी नागरिक म्यागी डोइन सीएनएन हिरोका लागि मनोनयन सूचीमा परिसकेकी छिन्। कोपिला भ्याली मध्यपश्चिमको सुर्खेतमा टुहुरा तथा सडक बालबालिकालाई आवाससहित शिक्षा प्रदान गरेर आत्मनिर्भर बनाउने संस्था हो। १० वर्षदेखि यही संस्थामा काम गरिरहेकी छिन् म्यागी डोइन।
को हुन् म्यागी डोइन?
अमेरिकाको न्यूजर्सीबाट डिप्लोमा पास गरेपछि विश्वभ्रमणमा निस्किएकी युवती थिइन्। उनी फिजीपछि भारत आइन र त्यहाँ नेपाली शरणार्थी देखेर भावविभोर भएर उद्धारकार्य गर्न थालिन्। त्यही काम गर्दागर्दै एक नेपाली युवतीसँग उनको भेट भयो। ती युवती आफ्ना परिवार भेट्न चाहन्थिन्। उनीसँगै सुर्खेत पुगिन्। सुर्खेत पुग्नु उनको जीवनमा सामाजिक सेवामा लाग्ने प्रेरणाको ढोका खुल्यो। उनले जनयुद्धकालीन द्वन्द्वबाट टुहुरा बनेका बालबालिका देखिन्। ती बालबालिका सडकमा सुत्थे, ढुंगा कुटेर पेट पाल्थे, कति त मगन्तेसमेत थिए। मेगीका अनुसार यो सब देखेर मभित्र पीडाबोध भयो र म आफूलाई यिनको उद्धारमा लाग्छु भन्ने् परिवर्तन ल्यायो। सन २००६ मा कोलिका भ्याली चिल्ड्रेन होम खोलिन्। स्थानीयको सहकार्यमा जमिन पनि किनिन्। त्यही होममा ८ महिनादेखि १६ वर्षसम्मका ५० जनाले अहिले आश्रय पाएका छन्। तिनको लालनपालन, शिक्षादीक्षामा म्यागीको योगदान निरन्तर जारी रहेको छ। ५ वर्षअघि उनले ब्लिनो फाउण्डेशन स्थापना गरिन्। जसले कोपिला भ्याली स्कूल पनि खोलेको छ। त्यो स्कूलमा ३ सय ५० बालबालिका पढिरहेका छन्। त्यहाँ शिक्षा कसरी दिने भन्ने छुट्टै प्रकारको वातारण छ। कोपिला भ्याली स्कूलबाट सुर्खेतका विपन्नबर्ग र द्वन्द्वपीडितका आफन्तजनमात्र होइन, स्थानीय समुदाय समेत खुश छ। एउटा अमेरिकी नागरिक भएर पनि नेपालका बालबालिकाप्रति यसरी आफूलाई समर्पित गरेको प्रभावले सीएनएन हिरोको प्रतिस्पर्धामा पर्न म्यागी सफल भएकी छिन्। उनको जीवनको धेरै समय बालबालिकाको सेवामै बित्ने गरेको छ। म्यागीको यो कार्यमा अमेरिकी दूतावासले कुनै सहयोग गरेको रेकर्ड छैन।