पहिले तरुनी बेच्थे, अहिले तरुना, तरुनी, बालबालिका सबैथरि 'मान्छे बेच्ने दलाल मार्केट' बनेको छ नेपाल। विदेशीका दलालका कमिशन एजेन्ट बनेर नेपालीहरु नेपालीकै ज्यान बेचिरहेका छन्। राम्रो काम, मीठो खाना, मनग्ये पैसा कमाइन्छ भन्ने लालच देखाएर दलाल मार्केटमा 'मान्छे बेच्ने धन्दा' फस्टाउँदै गएको छ। के छ विदेशमा युवा युवतीको हालचाल? तिनीहरु अन्यायमा त परेका छैनन्? तिनको स्थानीय संरक्षकका रुपमा राजदूतहरुले सही काम गरेका छन् कि छैनन्? सरकारले कुनै निगरानी गरिरहेको देखिदैन। सरकारको काम वैदेशिक रोजगारीमा गएकाहरुले पठाएको रेमिटान्सको हिसाव गर्ने, कमिशन बटुल्ने र रेमिटान्सकै भरमा आर्थिक प्रगतिको चार्ट बनाउनेमा सिमित देखिन्छ।
नेपाली पहिले नेपालमै ठगिन्छन्। मेनपावरदेखि श्रमसम्म, स्वास्थ्यपरीक्षणदेखि हवाई टिकटसम्म जताततै युवाहरु ठगिएका हुन्छन्। जब दलालले नेपालबाट उडाउँछ, शोषणको पराकाष्ठाको यात्रा सुरु हुन्छ। कतिपय श्रम स्वीकृति लिएर र कतिपय दलालको विश्वासमा परेर उड्छन् र अधिकांशलाई वीचबाटैमा लगेर अलपत्र पारिदिन्छन्। युवतीहरु श्रम, मानसिक यातनामात्र होइन, शारीरिक शोषणमा पनि पर्छन्। बैदेशिक रोजगारीका नाममा बन्दी जीवन बिताउने १० हजारभन्दा बढी छन् भन्ने रिपोर्ट आइरहेको छ। कतिपय झूठा मुद्दामा जेलमा कोचिएका छन्, कतिपय कानुनी फन्दामा फसेका छन्। कतिले मृत्युदण्ड पाइसके, कति मुत्युदण्ड कुरिरहेका छन्। भीसाका म्याद सकिएकालाई मलेसियामा नाङ्गै पारेर घुँडा टेकाएर हिडाएको दृश्य सार्वजनिक भएको छ। यसअघि कतारमा नेपालीलाई दासको व्यवहार गरिएको रिपोर्ट एम्नेष्टीले नै प्रकाशमा ल्यायो। दुबईदेखि नाइजेरियासम्म नेपाली युवतीहरुलाई डान्सबारमा नाङ्गै नचाउने गरिन्छ, अहिले विश्व बजारमा नेपाली यौनबजार खुलेको समाचार आइरहेकै छन्। नेपाली युवतीहरुको पासपोर्ट कब्जा गरेर तिनलाई यौनबजारमा बिक्री गर्ने अनेक घटना भइरहेका छन्। घरेलु कामदार पनि अधिकांश यौन शोषणमा परिरहेकै छन्। युरोप, अमेरिकाको सपना देखाएर अफ्रिकी मुलुकमा पुर्याउने मानव तस्कर जालोले नेपालको राजनीतिक र शासकहरुसम्म पकड बनाएको खबर आइरहेकै छन्। सजिलो छैन, वैदेशिक रोजगार? तर, गरिखान दिइएन भनेर प्रत्येकजसो घरका कोही न कोही विदेश पलायन भइरहेकै छन्।
विदेश नजानु नालायक हुनुजस्तो भइसक्यो समाजमा। हुतिहारा हुनुभन्दा विदेश जानु बेश भन्ने मानसिकता विकास भइसक्यो। यहीँ गरिखान सकिन्छ, केही गरौं भन्ने सन्देश दिन राजनीतिक बर्ग असक्षम भएको छ। अहिले पनि आमहड्तालजस्तो अतिवादी अराजक घटना भइरहेकै छन्। सरकार कहाँ छ? राजनीतिक दलहरु किन मौन छन्? के तिनले यो आरोप स्वीकार गरेका हुन्? हुन् भने तिनीहरु राष्ट्रघाती हुन्। अस्वीकार गरेका हुन् भने मान्छे बेच्ने धन्दा मार्केटलाई बन्द गराउन हिम्मत नगर्नु पनि राष्ट्रघात नै हो।
अहिले नयाँ खबर आएको छ। काठमाडौंबाट दिल्ली, थाइलेण्ड, कम्बोडिया, भियतनाम, दुबई, ब्राजिल, बोलिभिया, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, किारागुवा, होन्डुरस, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका छिराइदिने लोभमा दलालले लगेका ६ सय ७० युवायुवती पक्राउ परेका छन्। यसबाहेक केन्या, तान्जानिया, नाइजेरियामा झण्डै २ सय नेपाली युवतीपक्राउ परेका छन्। आश्चर्यपूर्ण 'तरुनी बेच्ने' धन्दा प्रकाशमा आएको छ। चीन, कोरिया, अमेरिकालगायतका नागरिकहरु नेपाल आइरहेका छन्। उनीहरु तरुनीसँग विवाह गरेर लाने अनि उतै छाडिदिने धन्दा चलाइरहेका छन्। यसमा अनेक म्यारिज ब्यूरोहरुले दलालको भूमिका निभाइरहेका छन्। पहिले लागूऔषधको तस्करी हुन्थ्यो, अव माफियाहरु युवतीलाई विवाह गराएर लैजाने तस्करीमा पल्केका छन्। विदेश जान हुरुक्कै हुने मानसिकता यति भयावह बनिसकेको छ कि विश्व वैंकले २० वर्षपछि नेपाल बुढाबुढीको देशमात्र हुनेछ भन्ने भविष्यवाणी गरिसक्यो। तैपनि नयाँ नेपाल बनाउने राजनीतिक शासक बर्गमा कुनै चेत खुलेको छैन। राजनीतिक संरक्षण पाएकै कारण मान्छे विक्री गर्ने तस्करको सेटिङमा सरकारी सञ्जाल नै फस्न पुगेको छ। मान्छे बेच्ने धन्दा फस्टाउनु भनेको नेपालमा कानुनव्यवस्था बिक्री भइसक्यो, राज्यसञ्जाल भ्रष्टाचारमा लिप्त छ भन्ने प्रमाण हो।
मानव बिक्री गर्नेलाई कडा सजायको व्यवस्था छैन। पक्राउ परिहाले राजनीतिक बर्गले बचाइदिने र बिचौलियामा सोझालाई फसाएर उम्किन सकिने भएकाले पनि वैदेशिक रोजगारीका नाममा 'नेपाल मान्छे बिक्री गर्ने' भैंसी बजार बनेको हो। मान्छे तस्करी गर्ने? मान्छे बेच्ने? धन्दाबाट नेपालले कसरी उन्मुक्ति पाउने? यस सम्बन्धमा कोही त बोल? केही त गर?