भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गंगा सफाई गर्ने बिडा उठाएका छन् र स्वच्छ भारतका लागि भारतभरि सफाई अभियान चलाइरहेका छन्। भारतीय सैनिक मेजर रणवीर सिंहले खुलासा गरेका छन्– सगरमाथा सफा पार्ने मोदीको सपना छ, हामी जसरी पनि मोदीको सपना साकार पार्छौं। सगरमाथा नेपालको हो, सगरमाथा सफा गर्ने दायित्व पनि नेपालकै हो। नेपाललाई छिमेकी अथवा जो कसैले सहयोगी साथ र हात दिनसक्छन्। नेपालले मागेकै छैन, भारत दिन आतुर छ र सैनिक टोली नै सगरमाथा पठाउँछ भने यो अति भएन र? नेपालको अस्मितामाथि धावा बोलेको ठहरिएन र?
राजधानीमा बागमती सफाई अभियान चलिरहेको समयमा सगरमाथा आधार क्षेत्रमा सगरमाथा सफाई अभियान चलिरहेको छ। बागमती सफाई अभियानमा ब्यापक सहभागिता भइरहेको छ भने सगरमाथा क्षेत्रमा भारतीय सैनिक सफाइमा जुटिरहेका छन्। उनीहरुले के के सफाई साधन लिएर गए, के कति सफाई गरे? यसबारे पर्यटन मन्त्रालय मौन छ। यसअघि नै भारतीय सञ्चारमाध्यम आजतकलगायतले समाचार दिए– '२०१४ मे भारतने ३३० लोगोको दिया परमिट।' भारतले सगरमाथा आरोहण गर्न परमिट कहिलेदेखि दिनथाल्यो? भारतलाई त्यो हक नेपालले कुन सन्धि अन्तर्गत दियो? नेपाल सरकारले केही बोलेको छैन। राजनीतिक दलहरुले पनि यसलाई चुपचाप सहिरहेका छन्। यी कति स्वाधीनतावादी हुन्? सगरमाथा नै भारतको? यो त अति भयो। दिउँसै रात पार्ने भनेको यही हो। नेपालको स्वाधीनतामाथि निरन्तर हस्तक्षेप गर्दै आएको भारतले यसपटक लज्जाहीन प्रचारबाजी गरेको छ। मोदी सरकारले 'स्वच्छ भारत अभियान' को नारा दिएका छन्। त्यही नारालाई सफल पार्न भारतीय सैनिक टोली सगरमाथा बेशक्याम्पमा सफाई अभियान चलाइरहेको छ। सगरमाथामाथि बेला बेलामा लडाकु बिमान उडाएर चीनको जासुसी गरिरहेको भारतीय सेनाको टिम यसपटक अनेक आधुनिक उपकरणसहित सगरमाथाको बेशक्याम्प पुगेको छ। स्वच्छ भारत अभियानको ब्यानरमा सगरमाथा क्षेत्रमा पर्वतारोहीले फालेर थुप्रिएका कचडा सफा गर्ने भन्दै भारतीय सेना 'रणनीतिक चढाई' गरेको बुझ्न कठिन छैन। आपत्तिपूर्ण प्रचार भारतीय टीभीले गरेका छन्। सैन्य समाचार छ– ५० वर्ष अघि क्याप्टेन एमएस कोहलीको नेतृत्वको टिमले सगरमाथाको सफल आरोहण गरेका थिए। मेजर एएस चीमा पहिलो आरोही भएका थिए। यसकारण, यो वर्ष भारतीय फतह स्वर्ण जयन्ती हो। यही जयन्तीको सम्झनामा सगरमाथा सफाई अभियान सञ्चालन गरिएको हो। आश्चर्यको कुरो के छ भने भारतीय सैन्य टोलीमा ६ जना उच्च दर्जाका र २४ जना मध्यम दर्जाका रहेका छन्। र, नेपाली सञ्चार माध्यमलाई भारत र नेपाल सरकारका तर्फबाट कुनै जानकारी गराइएन। गोप्य समाचार छाप्न माहिर नेपाली सञ्चार जगतले यो खबरलाई महत्व पनि दिएनन्। आखिर किन? भारतको स्वच्छ भारत अभियान सगरमाथा कसरी आइपुग्यो, कुन अभिष्ठ लुकेको छ यो अभियानमा? भारतले आरोहीलाई परमिट कसरी जारी गर्यो?
निर्वाचित संसद छ, सरकार छ। राजनीतिक दलहरु पहिचानको आन्दोलन गरिरहेका छन्। सगरमाथा यी आन्दोलनकारीको पहिचान हो कि होइन?