नैतिकहीन भ्रष्ट भनेर पहिचान भइसकेपछि कारवाही स्वरुप तान्ने कि हान्ने ?
न्यायालयमा बिचौलियामाथि समेत कारवाह िगर्छु, न्यायालय सुधार्छु भन्ने कबुल गरेर प्रधानन्यायाधीश बनेका चोलेन्द्र शमशेर जबराले सुन काण्डका आरोपितलाई छाड्ने ५ न्यायाधीशलाई जिल्लाबाट राजधानी तानेको खबर सार्वजनिक भयो । नागेन्द्र लाल कर्ण, सारंगा सुवेदी, उमेशकुमार सिंह, उमेशराज पौडेल, थीरबहादुर कार्कीलाई राजधानी झिकाइयो । थुनछेकका अधिकांश मुद्दा उल्टाएर भ्रष्टाचार गरेको आरोप लागिसकेपछि त्यस्ता न्यायाधीशहरुमाथि के कारवाही होला ? अहिले नै भन्न सकिन्न ।
किनभने रात रहे अग्राख पलाउने देशमा अदालतभित्र राजनीतिकरण छ, किनकि राजनीतिक भागबण्डामा न्यायाधीश नियुक्र भएका छन् । निश्चित रुपमा राजनीतिज्ञहरुले तिनलाई बचाउने प्रयत्न गर्नेछन् र प्रधानन्यायाधीश लचिलो बनिदिए भने अदालतको सुधार होला कि फेरि नैतिकहीनता बढ्ला ?
देशका जिल्ला र उच्च अदालतका अनेक न्यायाधीशरु अनियमितता र गलत फैसला गरेकोमा आरोपित छन् । कतिपय न्यायाधीशहरु राजनीतिक नेतासम्म पहुँच भएका मानिन्छन् । पहुँच र प्रभावले काम गरेकैले न्यायालय दुषित हुनपुगेको हो । न्यायलयलाई पवित्र मन्दिर बनाउने र न्याय पाइन्छ भन्ने विश्वास दिलाउने हो भने प्रधानन्यायाधीशले ढाडमा हाड देखाउनै पर्छ । ३८ किलो सुन काण्ड होस् कि अपराधीलाई आममाफी दिने प्रसंग होस्, भ्रष्टाचार र अनियमितताका काण्डहरु हुन्, अदालत निर्दयी रुपमा कानुनको पालना गर्न गराउन सक्नुमा नै प्रधानन्यायाधीशको क्षमता र नाम रहने छ । अदालत यति धेरै छाडा भइसकेको छ कि कसैले पनि कारवाही गर्न नसक्ने अवस्थामा छ । अदालतभित्रको भ्रष्टाचार अदालतले नै हेर्ने र सुधार्ने हो भने बाँकी अन्यत्र सुशासन कायम हुनसक्छ ।
प्रधान न्यायालयबाट सर्वोच्च अदालत बनाइयो र हरिप्रसाद प्रधानलाई प्रधानन्यायाधीश नियुक्त गरियो । यो इतिहास र वर्तमान यसकारण जोडिन्छ कि हरिप्रसादको भनाई र चोलेन्द्रले संसदीय समितिमा गरेको कबुल मेल खान्छ ।
पहिलो प्रधानन्यायाधीश हरिप्रसादले भनेका थिए– सरकार भनेको चील हो, जनता भनेका कुखुराका चल्ला हुन् । अदालत भनेको कुखुराको माउ हो । चीलले सधैं कुखुराका चल्ला टिप्दै लैजान्छ र खान्छ, अदालतले जनतालाई न्यायको कवच ओढाएर सुरक्षा दिइरहेको हुन्छ । सरकारले गलत गरे अदालतले जवाफ दिन्छ । आज अदालतको स्थिति यस्तो छ कि ४० वर्ष वकालत गरेको व्यक्ति समेत कुन मुद्दामा कस्तो फैसला हुन्छ भनेर अनुमान गर्न सक्दैन । कारण राजनीतिक र स्वार्थको पराकाष्ठा नाघेको स्थिति छ । यसकारण अदालतमा सुधार जरुरी छ र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कबुल गरेर आएका हुनाले अदालतको सुधार हुन्छ भन्ने आशा देखिन्छ, सुरुका केही गलत निर्णायक न्यायाधीशमाथि कारवाही सुरु भएकाले पनि त्यो आशा विश्वासमा बदलिन थालेको छ ।
आमनागरिकको प्रश्न यत्ति छ कि चोलेन्द्र शमशेर जबरा हरिप्रसाद प्रधान बन्न सक्लान् ? अदालत जनताको माउ बन्यो भने जनताले न्याय पाउँछन् । अदालत आस्थाको मन्दिर बन्छ ।