काठमाडौं । ०४६ सालमा राजपरिवारको स्वीस बैंकमा पैसा थुपारेको आरोप लगाउनेहरुले राजपरिवारको केही फेला पार्न सकेनन् । ती क्रान्तिकारीहरु अहिले सत्तामा छन् । ०४६ सालपछि सत्तामा बस्नेहरुले कतिलाई अर्वपति बनाए, कति खर्ब पति बने र तिनीहरु कतिले स्वीस वैंकमा देश र जनताको दोहन गरेको कालो पैसा थुपारे, बिस्तारै सार्वजनिक हुनथालेको छ ।
स्वीस बैंकमा ५५ जनाको ५२ अर्व कालोधन थुपार्ने नेपाली को को हुन् ? यसमा श्रीमानले कालोधन कमाउने र श्रीमतीको नाममा थुपार्ने प्रवृत्ति पनि देखिएको छ । आरपी प्रधान भन्ने पाइलटले परिवारका रेणुका, पुनम, अजय प्रधानका नाममा कालोधन राखेका छन् भने बैंक माफिया भनेर चर्चित लक्ष्मीबहादुरले बिनु श्रेष्ठका नाममा पैसा राखेका रहेछन् । खोज पत्रकारिता केन्द्रका अनुसार मिनु शाह, सञ्जय राजभण्डारी,लगायतका व्यक्तिहरु स्वीस वैंकमा पैसा थुपार्नेहरु हुन् । यिनीहरुमाथि सरकारले न्यायिक आयोग बनाएर छानबिन गर्नुपर्ने र कालोधन थुपारेकै हो र कर नतिरेको कालो सम्पत्ति छ भने किन राष्ट्रियकरण नगर्ने भन्ने प्रश्न पनि छ ।
यसबारेमा संसदमा पनि कुरा उठ्यो र प्रधानमन्त्रीले कालोधनबारे सरकारले गम्भीर भएर सोच्ने त बतायो तर कालोधन फिर्ता ल्याउन सक्ने अवस्था देखिदैन । भारतमा पनि स्वीस बैंककाण्ड उठ्यो र चुनावको मसलामात्र भयो । भारतले नसकेको काम नेपालले गर्नसक्छ भनेर ठान्नु नै गलत हो ।
कालोधन फिर्ता नल्याए पनि जसजसको नाम स्वीस बैंकमा पैसा थुपार्नेमा रहेको छ, तिनको आर्थिक हैसियतको छानबिन हुनसक्छ, गर्न सकिन्छ । त्यतातिर सरकारले ध्यान दिएको छैन । स्वयम् सरकारमा बसेका र उच्चाधिकारी फस्ने भएकाले यति ठूलो मुद्दामा पनि सरकारले खासै चासो नदिएको आरोप छ ।