काठमाडौं । केही दिनका लागि ज्ञानेन्द्र शाह पोखरा के गए, सिङ्गो पश्चिमाञ्चल राजतन्त्रमय बनेको छ । हरेक दिन राजा आउ देश बचाउ, घरघरमा चर्चा छ, राजा ल्याउने सल्लाह छ, गणतन्त्र मूर्दावादजस्ता नारा घन्केको थियो । ज्ञानेन्द्र शाहलाई भेट गर्न, फूलगुच्छा दिन, खुशी जाहेर गर्न एककिलोमटरभन्दा लामो जनताको लाम देखिने गरेको छ ।
हरेक पोखरावासी नागरिक भन्छन्– स्वागत र सत्कार गर्न पाउँदा गर्वको अनुभूति भएको छ ।
स्वत:स्फूर्तरुपमा गाडी रोकेर आमनागरिकले पूर्वराजाको स्वागत गरेको र ताली बजाएर हर्ष प्रकट गरेको दृश्य बोलिरहेछ– राजतन्त्र सकिएको छैन ।
मन्दिर घुमेर राजतन्त्र आउँदैन भनेर प्रधानमन्त्रीले खोकेको केही दिनमै पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा गएका हुन् । पूर्वराजा मठमन्दिर घुमिरहेका छन्, आमनागरिकसँग भेटवार्ता पनि गरिरहेका छन् । दु:खी महिलाहरुलाई अँगालो हालेर शान्त्वना दिइरहेका छन् ।
पूर्वराजा हरेक वर्ष देशका कुनै न कुनै भागमा गइरहेका छन् । पूजापाठ गर्दै आमनागरिकलाई पनि भेटिरहेका छन् । देशमा शान्ति व्यवस्था, कानुनव्यवस्था र सुशासन र समृद्धिको लेखाजोखा गरिरहेका छन् । उनले गणतन्त्र आएपछि कतै केही पाएका छैनन् । न आम नागरिकले शान्तिको कुरा गरेका छन्, न देशमा कुनै प्रगति भएको तथ्य नै देखिन्छ । पूर्वराजा यसकारण दु:िखत छन् कि उनले ०६३ साल वैशाख ११ गते संसद पुनस्र्थापना गरेदेखि आजसम्मका १३ वर्षमा देश रसातलतिर नै गइरहेको छ । न देशको सार्वभौमिकता बलियो हुनसक्यो, न जनताले प्रगति भेट्टाए ।
हरेक दिन आमनागरिक राजा आउ देश बचाउ भनेर चिच्याइरहेका छन् । जनताको आर्तनाद किन यसरी बढ्यो, जनता किन पूर्वराजालाई वर्तमान राजा बनाउन आतुर छन्, किन जनता हिन्दुराष्ट्रकै पक्षमा उभिएका छन्, किन चुनाव जितेको सरकार, ठूला पार्टी र अग्ला नेताहरुको जयजयकार हुन्न, यसबारेमा राजनीतिक दलका नेताहरुले आत्मसमीक्षा गर्नुपर्ने बेला भयो । पूर्वराजाको यो स्वागत र सत्कार, जनताको भीडले भनिरहेको छ, अव नेपालमा राजतन्त्रको आवश्यकता खड्कियो ।
राजनीतिक दलहरुले सोच्नुपर्ने बेला भयो– हिन्दुराष्ट्र र पूर्वराजालाई यथास्थानमा राख्न जरुरी छ । राजा र राजतन्त्र पनि नेपालको स्थायी शक्ति हो । पैसा लगानी गरेर बनेको शक्ति होइन यो, पैसा दिएर लगाएको नारा पनि होइन यो । स्वत:स्फूत रुपमा जसरी आमनागरिक राजा जिन्दावाद भनिरहेका छन् र लामो लस्कर नै माहुरी बनेर रानुलाई जसरी पूर्वराजालाई छोपिरहेका छन्, यसबाट शिक्षा लिने हो भने राजतन्त्र नेपालको स्थायी शक्ति रहेछ भन्ने बुझ्न बेर लाग्दैन । अहकारी बन्ने, दम्भ देखाउने, विभेद र निषेधको दृष्टि राख्ने हो भने पूर्वराजाप्रति जति पनि गाली गर्न सकिएला, तर नेपालको यथार्थ यही हो कि राजतन्त्र र हिन्दुराष्ट्र बिना नेपालको कुनै पनि राजनीति सफल हुनैसक्दैन । पद्धति जुनसुकै ल्याए हुन्छ, तर यी दुबै शक्तिलाई सम्मानित स्थान दिनैपर्छ, तवमात्र नेपालको एकता र अखण्डता, जनविश्वास र जनसहभागिता कायम रहनसक्छ ।
पार्टी, नेताहरुले गरीवलाई पैसा दिएर भोट किन्न सक्छन्, जयजयकार गराउन सक्छन् । तर राजतन्त्र यस्तो आकर्षण हो, जसलाई जयजयकार गराउन केही गर्नै पर्दैन । योभन्दा ठूलो लोकप्रियता के हुन्छ ?
नेपाली नसनसमा राजतन्त्र छ, यो राजतन्त्र नेपालको सार्वभौमिकता र एकताको प्रत्याभूति पनि हो । राजा विक्री हुनसक्दैनन्, राजाले देश भन्छ, देश भनेपछि जनता बन्छ । यही कारण आमनागरिक नेपालमा राजतन्त्रसहितको हिन्दुराष्ट्र चाहन्छ ।
राजनीतिक दलहरुले नै हो शासन गर्ने । शासनमा शान्ति र देशको समृद्धि चाहने हो भने हिन्दुराष्ट्र र राजतन्त्रलाई यथास्थान दिनुपर्छ भन्छन् विश्लेषकहरु ।