काठमाडौं । ओली सरकार शान्ति व्यवस्था कायम गर्न असफल भयो, भ्रष्टाचार नियन्त्रण गर्न र सुशासन दिन सकेन भन्दै राप्रपा अध्यष कमल थापाको झापा मेची महाकाली एकसरो भ्रमण पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाहको दर्शन गरेर सकिएको छ ।
धर्मप्रचारक संस्थाको कार्यक्रममा सरकार नै सहभागी हुनु हिन्दुप्रति, संविधानप्रतिको उपहास हो भनेर थापाले व्यापक प्रचार गरे । यथार्थ यही नै थियो र सरकार स्वयम् धर्मपरिवर्तनलाई परोक्षा सहयोग गरेको आरोप पनि थापाले लगाएका छन् । अव हिन्दुहरु एकजुट हुने बेला आयो भनेर थापाले आह्वान पनि गरेका छन् । हिन्दुहरु आत्मरक्षाका लागि जागृत पनि हुन थालेका छन् ।
फागुन ७ गतेबाट देशव्यापी विद्रोहको राँको बाल्ने तैयारीका साथ राप्रपा जनसंघर्षमा उत्रने दावी छ अध्यक्ष थापाको । हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्रको एजेण्डा बोकेर फागुन ७ गतेबाट हुने जनसंघर्ष कस्तो होला ? अनेक विश्लेषण भइरहेको बेलामा मुख्य प्रश्न छ– सक्लान कमल थापाले जनविश्वास जित्न ?
राप्रपा अध्यक्ष कमल थापाको आरोप छ– आमुल परिवर्तनको लागि हिंसात्मक जनयुद्ध र सडक आन्दोलन गरेर आएको दुईतिहाईको वर्तमान सरकारले जनताको जीवनस्तरमा सुधार ल्याउन सकेन । देश झन कमजोर भयो । बिदेशी हस्तक्षेप र विखण्डनको खतरा बढ्यो । समय मै सचेत बनौं । विकल्प खोजौं, विकल्प रोजौं, राप्रपा अहिलेको सबैभन्दा दह्रो र खरो विकल्प हो । अध्यक्ष थापामाथि संविधानसभादेखि नै सत्तालोलुप भएको भन्ने जनआरोप छ, जसका कारण राप्रपाले आम निर्वाचनमा दयनीय स्थिति भोग्नुपर्यो । राप्रपाले पाउने मतले नेकपा सत्तासीन हुनपुग्यो ।